प्रक्रिया पुर्याएरै यतीसँग सम्झौता गरिएको प्रधामन्त्री ओलीको दावी


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङसँगको सम्झौता कानुनसम्मत भएको बताएका छन् ।बुधबारबाट सुरु भएको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले दरबारमार्ग स्थित नेपाल ट्रष्टको जग्गा यतीलाई प्रक्रिया पुर्याएरै दिएको दावी गरे ।

सरकारले जग्गा भाडामा दिने नीति लिएपछि त्यसको कार्यान्वयन उसको दायीत्व भएको बताउँदै उनले लेखाईमा गल्ति हुँदा विवाद आएको बताए । उनले २ अर्ब लेख्नु पर्नेमा गल्तीले ६ अर्ब रुपैँया लेखिएको जानकारी दिए ।

गोकर्ण रिसोर्ट पहिले दरबारले विदेशीलाई चलाउन दिएको र जग्गा भाडाको समयावधि नसकिँदै पनि दिनुपर्ने उनको भनाइ छ। व्यापारी घरानाको प्रलोभनमा आफूहरु नपर्ने दाबी गर्दै उनले सरकारले कुनै पनि गल्ती नगरेको दावी गरे।सरकारले नेपालको इतिहासमा पहिलेभन्दा भ्रष्टाचार नियन्त्रण गरेको र त्यसलाई उन्मुलन गरेरै छोड्ने स्पष्ट भिजनसहित अघि बढेको प्रधानमन्त्री ओलीको दावी छ।