रसुवागढी नाका १५ दिनसम्म बन्द

0
Shares

नेपाल समाचारपत्र, रसुवा।

उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ। गाडी र मानिस जान रोक लगाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाले बताउनुभयो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच मंगलबार बिहान रसुवागढीमा बसेको बैठकले उक्त निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो।

दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण बढेकाले, केरुङतर्फ जाने सडकमा हिउँ परेकाले, ढुंगा खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्व भएकाले नाका बन्द गरिएको गुल्मपति थापाले बताउनुभयो।

रसुवाका चाइना पास लिएका नागरिक मात्र नाकापारि जान पाउनेछन्। यस्तै त्यहाँ रहेको अध्यागमन कार्यालय भन्सारलगायतका कार्यालय खुला रहनेछ।