पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरू आन्दोलनमा


विजय नेपाली, पोखरा।

पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरूले आज सोमबारदेखि अनिश्चितकालिन अध्यापन बन्द गरेका छन्। लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरूले आंशिक शिक्षकहरूको समस्या समाधान नभएसम्म आफूहरूले आफ्नो कक्षा सञ्चानल नगर्ने भएका छन्।

पृथ्वीनारायण क्याम्पसले आंशिक शिक्षकलाई समेत करारमा राख्नुपर्ने मागसहित शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्।

क्याम्पस प्रशासनलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको भन्दै अन्तिम आन्दोलनका रुपमा आफूहरूले सोमबारदेखि समस्या समाधान नभएसम्म अध्यापन नगराउने आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले जानकारी दिनुभयो।

२ सय ८१ जना आंशिक शिक्षक रहेको पीएन क्याम्पसमा सबैले समस्याको समाधान नभए आफूहरूले सामूहिक राजीनामा दिने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो।

आर्थिक पक्ष मजबुद हुँदाहँुदै पनि आंशिक प्राध्यापकका लागि अति न्यून लगानी गर्दै बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको कारणले आफूहरूले आन्दोलनको कदम चाल्न बाध्य भएको अध्यक्ष सुनिल गौतमले बताउनुभयो।

बौद्धिक श्रमशोषणको चेपुवामा पर्यौंः प्राध्यापक संघपृथ्वीनारायण क्याम्पसमा अध्यापन गराउँदै आएका आशिंक प्राध्यापकहरूले क्याम्पस प्रशासनले आफूहरूको बौद्धिक श्रमशोषण गरेको बताएका छन्।

प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्राशासनले आफूहरूको विगतका वर्षदेखि नै बौद्धिक श्रमशोषण गरेको बताउनुभयो।

क्याम्पस प्रशासनले दैनिक ज्यालादारी प्रथाबाट आफूहरूको बौद्धिक शोषण गरेको बताउनुभएको छ।

१४ वर्षदेखि लगातार विभिन्न संघर्षका कार्यक्रम गर्दै श्रमको उचित मूल्यांकन नगरेको र प्रशासनले पटक–पटक छलकपटको मात्र काम गरेको बताउँदै अब समस्याको समाधान नभए २ सय १८ जना आंशिक प्राध्यापकले सामूहिक रुपमै राजीनामा दिने बताउनुभयो।