बहुमूल्य श्रीखण्ड संरक्षण गर्दै स्थानीय



सलिम अन्सारी, प्यूठान।

जिल्लामा पहिलोपटक बहुमूल्य प्रजाति मानिने सेतो चन्दन (श्रीखण्ड) को व्यावसायिक खेती थालिएको छ। यो व्यवसायका साथै श्रीखण्डको निजी नर्सरीसमेत यहाँ खुल्न थालेका छन्।

नर्सरीबाट २ सय ५० देखि ३ सय रुपियाँसम्म बिरुवा बिक्री हुन थालेको छ। दाखाक्वाडीसहित विजयनगर,मरन्ठाना, खैरा, रम्दी बिजुवार, भिंगृ र बांगेसालमा श्रीखण्ड राम्रैसित फस्टाएको छ । बीउ, काठ र बेर्ना बेचेर स्थानीयले लाभसमेत लिँदै आएका छन्।

श्रीखण्ड कृषि तथा वन वातावरण कृषक समूह गठन गरी प्युठान नगरपालिका–३ क्वाडीका स्थानीयले २०७४ सालदेखि श्रीखण्ड खेती थालेका हुन्।

शुरुमा ४ सय बिरुवा रोपेर जिल्लामै पहिलोपटक श्रीखण्ड खेती शुरु गरिएको समूहका अध्यक्ष बेदप्रसाद पौडेलले बताउनुभयो। ३ सयका दरले खरिद गरेर बिरुवा रोपेको पौडेल बताउनुहुन्छ।

उहाँले प्रतिरुखबाट ३ लाखसम्म आम्दानी गर्न सकिने बताउनुभयो। ‘छिमेकीहरू मिलेर १ सय रोपनी जग्गामा श्रीखण्ड रोपेका छौँ,’ उहाँले भन्नुभयो– ‘बिरुवा राम्ररी हुर्किएका छन्। अहिले नर्सरीमा ८ सय बिरुवा रोपेको उहाले बताउनुभयो।

नर्सरीबाट २ सय ५० देखि ३ सय रुपियाँसम्म बिरुवा बिक्री हुन थालेको छ।दाखाक्वाडीसहित विजयनगर,मरन्ठाना, खैरा, रम्दी बिजुवार, भिंगृ र बांगेसालमा श्रीखण्ड राम्रैसित फस्टाएको छ ।

बीउ, काठ र बेर्ना बेचेर स्थानीयले लाभसमेत लिँदै आएका छन्।२०२९ सालमा क्वाडीका स्थानीय माथवसिंह खत्रीले दक्षिण भारतबाट श्रीखण्डको बीउ ल्याएको स्थानीय चक्रपाणी पौडेलले बताउनुभयो। ‘श्रीखण्ड हो भन्दा शुरुमा बूढापाकाले पत्ताएनन् उहाँले भन्नुभयो– वनले यस सम्बन्धी जानकारी गराएपछि संरक्षणमा लागेका छौं ।

चराका माध्यमबाट जंगल र खरबारीमा स्वतः उम्रिएर फैलिएको श्रीखण्डको महत्वबारे थाहा नहुँदा स्थानीयले गोठको घोचो,भैसीको किलो,खुर्पाको बिड र घाँस दाउराको रुपमा प्रयोग गर्ने गरेको पौडेलले बताउनुभयो।

फलको बोक्रा चराले मन पराउने भएकाले जंगलैभरि फैलिएको उहाँले बताउनुभयो ।श्रीखण्डको जंगल अहिले हराभरा छ भने निजी वन बनाउने पनि बढेका छन्। दाखाक्वाडीदेखि भित्री सडकका दुवै क्षेत्रमा श्रीखण्डका बोट लगाएर श्रीखण्ड मार्ग नै नामकरण गरिएको छ ।

श्रीखण्ड फैलिँएको क्षेत्रमा चरिचरनमा रोक लगाएर संरक्षण गरेको पौडेलको भनाइ छ । स्थानीयले यो वनलाई तारबार गरेर सुरक्षित गरेका छन्।वन कार्यालयले श्रीखण्ड बिस्तारका लागि तालिमसँगै निःशुल्क बिरुवा दिने गरेको सहायक वन अधिकृत दीपक केसीले बताउनुभयो।

’प्रयाप्त बिरुवा दिन सकेका छैनौं’ उहाँले भन्नुभयो –‘श्रीखण्ड २० देखि २५ वर्षमा पूर्ण रूपमा बिक्री योग्य हुन्छ,’ ‘यहा श्रीखण्डका रूख हुर्कंदै छन्।’ उहाँले भन्नुभयो– यसको संरक्षण गर्न सके करोडौं आम्दानी गर्न सकिन्छ,’ स्थानीयले एउटा श्रीखण्डको बोटको ४० हजारसम्म र एक किलो बीउको २ हजारमा बिक्री गरेर लाभ लिइरहेका छन्।

राजस्व तिरेर खुलेरै बेच्न सकिने भएकाले यसको बजारीकरणमा समस्या नभएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। श्रीखण्डको काठ पशुपतिनाथसहित नेपालगन्ज चीनको तिब्बतका साथै जापानसम्म निर्यात हुन थालेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्