गाउँघरका ‘होमस्टे’ आन्तरिक पर्यटकले भरिँदै

विदेशी पाहुनाको लर्को पनि उस्तै



नेपाल समाचारपत्र, पर्वत।

र्वत जिल्लाका गाउँघरमा सञ्चालित होमस्टे आन्तरिक पर्यटकले भरिन थालेका छन्। शहरको व्यस्तता, कोलाहल जीवनशैली र तनाव कम गर्न गाउँघरका होमस्टेमा बास बस्न जानेहरूको संख्या बढिरहेको छ।

बजारमा बसेर व्यवसाय गर्ने, उद्योग चलाउने, पेसा गर्नेलगायत हरेक दिन व्यस्त हुनेहरू तनावलाई थोरै भए पनि कम गराउन लागि ‘होमस्टे’मा बस्न थालेका छन्।

रसायनिक पदार्थको प्रयोग गरेर फलाइएका तरकारी तथा फलफूल, नक्कली स्वाद राखेर तयार पारेर प्लास्टिकका प्याकेटमा प्याकिङ गरिएका खानाको स्वादलाई बिर्सेर गाउँका प्राङ्गारिक उत्पादनको वास्तविक स्वाद चाख्ने गन्तव्यका लागि पनि ‘होमस्टे’ लोकप्रिय बन्दै गएको छ। ‘होमस्टेहरू’ मा थकान मेट्न पुग्ने आन्तरिक पर्यटकहरू धेरै भेटिने गरेका छन्।

यसरी धेरै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सफल भएको होमस्टे मध्ये भकुन्डे मूलाबारीमा सञ्चालित अतिथि सत्कार ‘होमस्टे’ पनि हो। यो होमस्टे यतिखेर आन्तरिकका साथै विदेशी पाहुनाहरूले भरिएको छ। भकुण्डे मूलाबारीमा नौ घरको सहकार्यबाट २०७३ सालदेखि अतिथि सत्कार होमस्टे शुरु गरिएको हो।

्गाउँका अन्य घरहरू पनि ‘होमस्टे’ प्रति आकर्षित हुँदैन। अहिले होमसटेमा स्वदेशीका साथै विदेशी पाहुनाको लर्को पनि उत्तिकै लागिरहेको सञ्चालक अप्सरा थापा बताउनुहुन्छ।

एकपटक ‘होमस्टे’मा बसेर गएका विदेशीले आफ्ना साथीभाइलाई ‘होमस्टे’को परिकार, स्वाद, सेवा र दृश्यको बारेमा जानकारी गराउने गरेका कारण अतिथि सत्कार होम–स्टेमा विदेशीको आगमन बढ्दै गएको उहाँको भनाइ छ।

‘केही दिनअघि मात्रै चीनका १७ जनाको समूहले आगो बालेर रातभर चौरमा बसी रमाइलो गरे, फेरि आउने भन्दै गए,’ उहाँले भन्नुभयो– ‘अब फेरि जर्मनीबाट १८–२० जनाको समूह आउँदै छ भनेर खबर आएको छ।

उनीहरूका लागि तयारी गर्नुपर्छ। अब लोकल कुखुरा खोजेर राख्नुपर्छ, टुटाउँनै हुन्न।’
सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाका अनुसार स्विडेन, चीन, जापान, जर्मनलगायतका देशका पाहुना ‘होमस्टे’मा आएर रमाइलो गरी फर्किएका छन्।

मूलाबारीमा मगर जातिको बसोबास रहेको छ।‘होम–स्टे’ पुगेका पाहुनालाई उनीहरूले आफ्नै मौलिक कला र संस्कृति पस्किँदै स्वागत गर्छन्। कहिल्यै पञ्चेबाजाको धून नै नसुनेका विदेशी पाहुनालाई छमछमी नचाउँछन् पनि।

समुद्री सतहबाट २३ सय मिटर उचाइमा रहेको मूलाबारी अतिथि सत्कार होमस्टे क्षेत्र कोदो र मुला उत्पादनमा पनि प्रख्यात छ।

गुन्द्रुक, भटमास, मुलाबाट बनाइएको अचार, सुकुटी, चटनी, कोदोबाट बनाइने रोटी, ढिँडो, मकैका परिकार, लोकल कुखुराको मासुलगायतका परिकारसमेत पाइने भकुन्डेका होमस्टे पाहुनाले खचाखच भरिने गरेको छ।

साथै, गाउँमाथि रहेको ’भ्यु–टावर’बाट पर्वत र बागलुङ जिल्लाका डाँडाकाँडाका साथै माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, निलगिरी र मनास्लुलगायतका हिमशृंखलाको समेत दृश्यावलोकन गर्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्