साढे २३ करोड राजस्व छली गरेको आरोपमा दुई कम्पनीमाथि मुद्दा

0
Shares

काठमाडौं, (नेस)।

झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड रुपियाँ राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुईवटा फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

विभागले गोरखा घर भई काठमाडौंमा व्यवसाय गर्ने रेजिङ इन्टरनेसनलका प्रोपाइटर सञ्जीव मास्केले १४ करोड ८७ लाख रुपियाँ राजस्व छली गरेको आरोपमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर सालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपियाँ राजस्व छली गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

रेजिङ इन्टरनेसनलले वस्तु खरिद नै नगरी झुटो र नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ। उसले मूल्य अभिवृद्धि करतर्फ ४ करोड ३२ लाख ६९ हजार २ सय ८३ रुपियाँ र आयकरतर्फ १० करोड ५४ लाख ३९ हजार ५ सय ९५ रुपियाँ छली गरेको विभागको दाबी छ।

विभागले मास्केलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम १४ करोड ८७ लाख ८ हजार ८ सय ७८ रुपियाँ ३६ पैसा बिगो असुलउपर गराई बिगोको दोब्बरसम्म जरीवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरेको छ।

हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर न्यौपाने र कर्मचारी सुवेदीले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख १४ हजार १ सय ९८ र आयकरतर्फ ६ करोड १२ लाख ४ हजार ६ सय ३२ रुपियाँ राजस्व छली गरेको विभागको दाबी छ।

उनीहरूविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम ८ करोड ६२ लाख १८ हजार ८ सय रुपियाँ विगो र विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ।