हालै गरिएको एउटा पछिल्लो अध्ययनले विद्यालयीय शिक्षामा कक्षा छाड्ने दर छात्राको बढी भएको देखाएको छ। यसै पनि कक्षा १ मा भर्ना भएकाहरूमध्ये कक्षा १० को परीक्षामा ६६ प्रतिशत विद्यार्थी सम्मिलित नभएको पाइएको छ।
यसरी परीक्षामा सम्मिलित नहुनु भनेको कक्षा छाडनु नै हो। यसरी कक्षा छाड्नेको संख्या पनि छात्राकै बढी देखिएको छ। आखिर किन छाड्छन् त छात्राले कक्षा ? यसका विभिन्न कारण हुन सक्लान् र ती कारणमध्ये महिनावारी पनि एउटा मुख्य कारण हो।
महिनावारी महिलामा हुने एउटा नियमित प्रक्रिया हो। महिला प्रजनन प्रक्रियाका लागि शारीरिकरूपमा योग्य रहेको यो एउटा संकेत पनि हो। यो समयमा महिलाको योनिबाट रगत बग्ने भएकोले यसलाई महिनावारी, रजश्वला, पर सर्नु, नछुने हुनु पनि भनिन्छ।
समाजले महिलामा हुने सामान्य शारीरिक प्रक्रियाका साथै शरीरको विकाससँगै हुने गतिको रूपमा महिनावारीलाई अझै लिन सकेको छैन। तसर्थ महिनावारीलाई सामान्य शारीरिक विकासक्रमका रूपमा लिन जरुरी छ। यो केटामान्छेमा हुने स्वप्नदोषभन्दा पृथक पहिचान हुँदै होइन। तर समाजले अतिरञ्जित पाराले हेर्ने गर्दा कैयौं महिलाले दुःख खेप्नुपरेको छ।
पाठेघरसँगै जोडिएर रहेका २ अण्डाशयले हरेक महिनामा पालो–पालो अण्ड उत्पादन गर्छन्। अण्ड उत्पादनपछि पाठेघरमा बच्चालाई चाहिने वातावरण बन्न थाल्छ। कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ।
सोही समयमा यो अण्ड पुरुषको शुक्रकीटसँग मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै बाहिरिन्छ, जसलाई महिनावारी वा रजश्वला भनिन्छ। शरीर विज्ञानले महिनावारीलाई एउटा नियमित चक्र मान्दछ।
एउटा चक्र शुरू भएपछि अर्को चक्र २१ देखि ३५ दिनसम्ममा दोहोरिन्छ। २८ दिनमा दोहोरिनुलाई स्वस्थताको प्रतिक मानिन्छ। साधारणतया महिनावारी १२ वर्षदेखि १५ वर्षसम्ममा शुरू हुन्छ र ४५ देखि ५५ वर्षमा बन्द हुन्छ।
नेपाली समाजमा महिनावारीलाई नछुने भएको भनिन्छ। यस बेला आफूभन्दा ठूला सबैलाई र साना भए पनि उपनयन गरिसकेको केटा मान्छेलाई छुन, खान दिन नहुने भनिन्छ।
अझ कुनै–कुनै ठाउँमा बेग्लै झुपडीमा राखिन्छ। चेतनाको कमी हुँदा नेपालका कैयौँ किशोरीले महिनावारीको समयमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ। महिनावारी हुँदा शारीरिक सरसफाइमा विषेश ध्यान पुर्याउनुपर्ने हुन्छ।
महिनावारी शारीरिक परिवर्तनमध्येको एक प्रक्रिया हो। समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारले वास्तविकताभन्दा काल्पनिक कुराहरूमा विश्वास गरेको देखिन्छ।
यो गलत प्रवृत्ति हो। महिनावारी नियमित प्रक्रिया भएकोले टाढा लगेर एक्लै राख्ने, छाउपडी थुन्नेजस्ता गतिविधिहरू गर्नुभन्दा सरसफाइमा ध्यान दिन लगाउने, माया र सहयोग गर्ने र पौष्टिक खानाको प्रबन्ध गर्न जरुरी छ।
यो समय शारीरिक विकासक्रमका हिसाबले किशोरावस्थाको समय हो। किशोरावस्था भनेको ं विद्यालयीय उमेर पनि हो। तसर्थ महिनावारी हुँदा लेखपढ गर्न हुँदैन, केटामान्छेसँग छोइन मात्र होइन उनीहरूको मुखसम्म देख्न हुँदैन भनेर विद्यालय नपठाएको पनि पाइन्छ।
यसो गर्नु उनीहरूको मानवअधिकारमाथिको हनन हो। यसै कारण शैक्षिक क्षति त हुन्छ नै, उनीहरूले पढाइलाई बीचैमा छाड्ने सम्भावना पनि प्रबल देखिन्छ।
रकारी अवधारणा
नेपालमा करिब ८१ प्रतिशत सामुदायिक विद्यालयमा मात्र शौचालयको सुविधा रहेको छ। छात्रामैत्री शोचालयको व्यवस्था ज्यादै न्यून रहेका छन्।
सरकारले एसईई परीक्षामा सम्मिलित हुने छात्राहरूलाई मानसिकरूपमा त्रास नलिई सहजरूपमा परीक्षामा सहभागी होऊन् भन्ने उद्देश्यले सामाजिक विकास मन्त्रालयअन्तर्गतको महिला तथा बालबालिका शाखाले एकमुष्टरूपमा केही रकम शिक्षा विकास तथा समन्वय इकाइमार्फत सेनेटरी प्याड खरिद गरी परीक्षा केन्द्रहरूमा वितरण गर्ने व्यवस्था गरेको थियो।
केही गैरसरकारी संस्थाहरूले पनि विद्यालयमा निःशुल्क प्याड वितरण गरेको देखिन्छ। महिनावारी भएकाहरूको मनोवैज्ञानिक समस्या बुझ्न तथा समाधानको लागि सरकारले स्कुल नर्सको अवधारणा ल्याएको छ तर यो कार्यान्वयनमा आइसकेको छैन।
विद्यालयमा प्रवर्तनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य, निःशुल्क सेनेटरी प्याडको व्यवस्थापनका साथै विद्यालयमा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि २०७६ जारी भैसकेको छ।
अन्तर्राष्ट्रिय रूपमा अंग्रेजी पाँचौं महिनाको २८ तारिखलाई महिनावारी दिवसको रूपमा नेपालमा पनि मनाउँदै आइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सामुदायिक साथै निजी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सारिएको, (हाल प्रदेश नं. ३ सरकारले २० वटा स्कुलमा) पाइलट प्रोजेक्टको रूपमा कार्यक्रम शुरू भैसकेको अवस्था छ भने कतिपय स्थानीय तहले विद्यालयमा सेनेटरी प्याडको निःशुल्क वितरणका साथै भेन्डिङ मेसिनको व्यवस्थापन गरेका छन्।
आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रममा महिनावारी हुँदा विद्यालय छाड्ने छात्राको संख्या न्यून गर्न सो समयमा पनि विद्यालयमा जान प्रेरित गर्न सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १४ लाखभन्दा बढी छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क वितरण गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। यसको शुरूवात गत पुस १४ गते शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले गरिसकेका छन्।