‘कोरोना भाइरसबाट नेपालीलाई जोगाऊ’

0
Shares

काठमाडौं, (नेस)। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने खतरालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गरेको छ।

साथै, कांग्रेसले कोरोना भाइरस फैलिएको देशमा रहेका नेपालीहरु उच्च जोखिममा रहेकाले उनीहरुको सुरक्षित तरिकाले उद्धार गर्न पनि सरकारसँग अपिल गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचार व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गर्नुभएको छ।

चीनमा कोरोना भइरसले महामारीको रूप लिइसकेको छ। चीनबाहेक १२ मुलुकमा यो भाइरस फैलिएको छ। यो भाइरसबाट संक्रमित र उपचारमा संलग्न चिकित्सकसमेत गरी ५ दर्जनभन्दा बढीको ज्यान गइसकेको छ।

चीनबाट नेपाल फर्किएका एक नेपालीलाई समेत यो भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ। ‘चीनको उहान शहरको विभिन्न विश्वविद्यालय, शिक्षण संस्थानमा अध्ययनरत नेपाली विद्यार्थी तथा विभिन्न व्यवसायमा रहेका नेपाली नागरिक समेत उच्च जोखिममा रहेकाले उनीहरुको व्यवस्थित तरिकाले उद्धार गर्न नेपाल सरकार तथा सम्बन्धित निकायलाई कांग्रेस संसदीय दल आग्रह गर्दछ’ –विज्ञप्तिमा भनिएको छ।