प्रहरीमा आधा दरवन्दी खाली

0
Shares

मोतीराम तिमल्सिना,महाभारत, काभ्रेपलाञ्चोक। 

नागरिकलाई सेवा दिन २४ सै घण्टा सेवामा खटिएको प्रहरी आफै संचार सम्पर्क विच्छेद हुनु परेको छ । महिलाहरुले मादक पदार्थ सेवन गरी झगडा गर्दा पक्राउ गरी ल्याउन प्रहरी चौकीमा महिला प्रहरी समेत छैनन् ।

जिल्लामा ६ सय भन्दा धेरै दरवन्दी रहेको भए पनि ३ सय ५० भन्दा कम प्रहरीहरु कार्यरत छन् । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालका अनुसारका दरबन्दी अपुग भएका कारण चौकीहरुमा पर्याप्त जनशक्ति उपलब्ध गराउन सकिएको छैन ।

विकट क्षेत्रका प्रहरी चौकीहरुमा भौगोलिक अवस्थाका कारण संचार सम्पर्क विच्छेद हुनु परेको हो । महाभारत क्षेत्रका प्रहरी चौकीमा प्रहरी महिला हुँदा हिंसाका घटनामा बृद्धी भएको स्थानीयले बताएका छन् ।

मोवाईल नेटवर्क समेत उपलब्ध नहुने डाँडापारी क्षेत्रका केहि क्षेत्रमा प्रहरीका चौकीहरु छन् । प्रहरी चौकीहरु आफै सम्पर्कका लागि मोवाईलको टाओर खोजिरहेका हुन्छन् ।

जिल्लामा हुने गतिविधि होस् वा अन्य कुनै अप्रेसनमा समेत सहज सम्पर्क हुन सक्दैन । प्रहरी चौकी गोकुलेमा प्रविधि अनुसारको इन्टरनेट उपलब्ध छैन । कम्प्युटर पनि नहुँदा आवश्यक कार्य गर्न समस्या भईरहेको प्रहरी चौकी गोकुलेका इन्चार्ज विनोद बोगटीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बनखुमा स्थापना भए पछि गोकुलेलाई ख स्तरको इलाका प्रहरी कार्यालय बनाए पनि आवश्यक जनशक्ति, पुर्वाधार र प्रविधि मैत्री सामानहरु नहुँदा नागरिकहरुलाई सेवा प्रभावमा कठिनाई भएको असाई बोगटीले बताउनु भयो ।

चालु वर्षमा नै सम्पन्न गर्ने गरी भवन निर्माणको कार्य शुरु भएको छ । तर पनि जनशक्ति पर्याप्त हुन नसक्दा घटनाहरुमा समेत प्रहरीले आफ्नो उपस्थिती जनाउन सकेको छैन ।

महाभारतका विभिन्न क्षेत्रमा महिला हिंसाका घटना भईरहेका छन् । अझ धेरै महिलाहरु आफै मादक पदार्थ सेवन पछि झगडा गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न सकेको छैन । महिलाहरुलाई पक्राउ गर्न प्रहरी चौकी गोकुलेमा महिला प्रहरी नै छैनन ।

गोकुले प्रहरी चौकीले महाभारत गाउँपालिका वडा नम्वर १, २ र ८ वडालाई कार्यक्षेत्र बनाएर नागरिकहरुलाई सुरक्षा प्रदान गरिरहेको छ । ‘महिला हिंसा सम्वन्धीका घटना धेरै छन्, महिला आफै पनि मापसे गर्छन र झगडा हुन्छ’–असई विनोद बोगटीले भन्नुभयो–‘भवन निर्माण पछि आवश्यक दरवन्दी उपलब्ध हुनेछ ।’

प्रविधिको भरपुर उपयोग गर्ने समयमा प्रहरीले इन्टरनेटको उपयोग गर्न सकेका छैन । मोवाईलमा डाटा समेत नचल्दा प्रहरीले दिने आदेश समेत कार्यान्वयनमा जटिलता छ । प्रहरी आफ्नै पनि संचार सेटमा सम्पर्क हुन सक्दैन ।

ग्रामिण भेगमा सुरक्षामा खटिन मोटरसाईकल समेत छैन । एउटा स्थानबाट अर्काे स्थानसम्म पुग्न एक दिनसम्म लाग्ने भौगोलिक अवस्था छ । सडक निर्माण भए पनि सवारी साधन नहुँदा प्रहरीलाई थप संकट निम्तिएको छ ।

जिल्ला प्रहरी कार्यालय मार्फत पटक पटक आवश्यक जनशक्ति, कम्प्युटर, मोटरसाईकल, इन्टरनेटका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने भनिए पनि हुन सकेको छैन ।

जिल्लाका ग्रामिण भेगका चौकीहरुमा यस्तो समस्यालाई प्रहरी कार्यालयले सामान्य लिदै आएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रहरी नागरिकको सुरक्षाका लागि भएकाले सहयोगका लागि समन्वय गरिरहेको बताउनु भयो ।