गाउँमै रोजगारी पाउँदा खुसी

0
Shares

कृष्णप्रसाद अधिकारी,दैलेख ।

नारायण नगरपालिका–३ का बिरबहादुर बोगटी गाउँकै प्यूसे सडकमा काम पाएका छन् । ‘सडक खन्ने काम गरिरहेका छौ,’ उनले भने ‘सरकारी ज्यालामा काम पाउँदा खुसी लागेको छ ।’ बेरोजगार हुँदा गफ गरेर समय बित्थ्यो । गाउँमा कुनै रोजगारी नभएको बताउँदै बोगटीले भने ‘रोजगारीका लागि भारत जानु पथ्र्यो, अहिले गाउँमै रोजगारी पाएका छौ ।’

आफ्नै गाउँमा रोजगारी पाएपछि खुसी लागेको बोगटीले बताए । बागटी जस्तै सडक निर्माणको काम पाएका अन्य नागरिकहरु घर नजिकैको सडकमा काम पाएपछि दंग छन् । उक्त सडकमा यहाँका झण्डै एक सय भन्दा बढिले रोजगारी पाएका हुन् ।

भूमि व्यवस्था तथा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशको मातहतमा जिल्ला कृषि विकास कार्यालयले हेर्ने गरी संचालन भएका कृषि सडक मध्ये करिब ५० लाखको लागतमा प्युसेमा सडक निर्माणको सञ्चालनमा छ । उक्त सडकमा स्थानीयले रोजगारी पाएका हुन् । उक्त सडकको जिल्ला कृषि विकास कार्यालयका प्रमुख, प्राविधिकहरुले अनुगमन समेत गरेका छन् ।

यस बर्ष जिल्लामा निर्माण गर्ने लागिएका १६ वटा सडकमा योजना सुरुवात, मध्यम चरण र अन्तमा गरी तीन पटक अनुगमन गर्ने कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक प्रसाद पाण्डेले बताए । कम्तीमा तीन पटक सम्म योजना अनुगमन गर्दा योजना प्रभावकारी हुने उनको भनाई छ ।

सडकमा कम डोजरको प्रयोग गर्ने व्यवस्था भए अनुसार ग्रामिण कृषि सडक स्थानियको सहभागितामा निर्माण गर्ने र कडा चट्टान लागेर स्थानियले बनाउन नसके उपभोक्ता समितिको सिफारीसमा डोजर प्रयोग गरिने कृषि विकास कार्यलय दैलेखका प्राविधिक चन्द्र सापकोटाले बताए ।