कृष्णहरि बास्कोटा
नेपाल विश्वकै पर्यटकीय गन्तव्यका रूपमा चिरपरिचित मुलुक हो। यस मुलुकको प्राकृतिक छटा, धार्मिक पवित्रता, जलवायुको विविधता, अनेकताबीचको एकता र नेपालीको अतिथि देवो भवःप्रति विश्व नै नतमस्तक छ।
यसर्थ नेपाल सरकारले पयर्टन प्रवद्र्धनको लक्ष्य लिई आमनेपालीलाई यसमा हातेमालो गर्न सार्वजनिक आह्वान गरेको छ। यस अवस्थामा हामी सबै नेपालीले विदेशी पर्यटकलाई आमन्त्रण गर्न सक्दैनौं। हामी सबैले नेपाल भित्रिएका विदेशी पर्यटकलाई चाहेर पनि प्रत्यक्षरूपमा सेवा सत्कार गर्न सक्तैनौं।
हामी भारतको नैनिताल पुगेर जल विहारमा रमाउँछौं। तर नेपालको नारायणघाट र चतराधामको साहसिक एवं रोमाञ्चक मोटरबोटको स्वाद लिनुपर्ने ज्ञान राख्न सक्दैनौं। नैनितालको भन्दा उत्कृष्ट जलविहारको सुविधा पोखराको फेवाताल, वेगनास ताल, सल्यानको कुभिण्डे दह, मुगुको रारा र डोल्पाको सेफोक्सुन्डो तालमा उपलब्ध छ। यसर्थ नजिकको तीर्थ हेला नगरौं भनी सार्वजनिक आह्वान गर्दछु।
यस्तो स्थितिमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईको नेतृत्वमा सञ्चालित नेपालको पर्यटन प्रवद्र्धनमा आमनेपाली कसरी सहभागी हुन सक्छन् भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। यसका लागि आमनेपालीले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी भई यस अभियानमा साथ दिन सकिने अभिमतसहित यो आलेख तयार गरेको छु।
नेपालीमा एउटा चल्तीको उखान ‘चिन्नेलाई श्रीखण्ड र नचिन्नेलाई खुर्पाको बिँड’ भनेझैँ मध्यम आयसम्म भएका नेपालीहरू भारतको धार्मिक पर्यटन, थाइल्यान्ड र इन्डोनेसियाको प्याकेज तथा युरोप, अमेरिकाको तेल भिसामा जान निकै इच्छुक देखिन्छन्।
वैदेशिक पर्यटन भ्रमणमा निस्किनुपूर्व दुई कुराको ख्याल गर्नै पर्छ। पहिलो कुरा, आफ्नो मुलुक पूरै घुमियो/घुमिएन ? दोस्रो कुरा, अर्को मुलुकमा हेर्न जान लागेको चिज आफ्नै मुलुकमा उपलव्ध छ/छैन ? उदाहरणका लागि हामी ठूलै पुण्य प्राप्तिको आशामा भारतको केदारनाथ पुग्छौं। राम्रै रकम खर्चिन्छौं। हन्डर खान्छौं। ठगिन्छौं।
तर हामीले के कुराको होस् गर्दैनौं भने केदारनाथको शिर भाग भनेकै भक्तपुरको डोलेश्वर महादेव हो। यसरी हामी शिर छोडेर पुच्छरतिर हात लैजान माहिर हुँदै गएका छौं। हामी भारतको नैनिताल पुगेर जल विहारमा रमाउँछौं।
तर नेपालको नारायणघाट र चतराधामको साहसिक एवं रोमाञ्चक मोटरबोटको स्वाद लिनुपर्ने ज्ञान राख्न सक्दैनौं। नैनितालको भन्दा उत्कृष्ट जलविहारको सुविधा पोखराको फेवाताल, वेगनास ताल, सल्यानको कुभिण्डे दह, मुगुको रारा र डोल्पाको सेफोक्सुन्डो तालमा उपलब्ध छ। यसर्थ नजिकको तीर्थ हेला नगरौं भनी सार्वजनिक आह्वान गर्दछु।
नेपालमा सगरमाथा छ। यो विश्वकै सर्वोच्च चुचुरो हो। हामी विशेष गरी विकसित मुलुकको भ्रमणमा जाँदा त्यहाँका मानिसले हामी सगरमाथाकै चुचुरोमा लुटपुटी गरी, त्यहाँ खाइखेली हुर्किएका होलाऔं भनी सगरमाथाबारे विभिन्न प्रश्न सोध्छन् तर हामी अधिकांश नेपाली भने हिमालका टाकुराको लाइनमा कुनचाहिँ सगरमाथा हो भनी छुट्याउनसमेत सक्तैनौं।
यसर्थ सगरमाथाको काखमा पुग्न कम्तीमा हामीले लुक्लासम्मको हवाई यात्रा गर्नै पर्छ। त्यसपछि सगरमाथाको छानामुनि रहेको रमणीय नाम्चेबजार पुगेर सगरमाथाको भेट गर्नुपर्छ। हामी शारीरिकरूपमा स्वस्थ्य छौं र हामीसँग समय पनि छ भने फिरिचे हुँदै कालापत्थर पुगेपछि बल्ल हामी सगरमाथा भएको देशको नागरिक हौं भनी दाबी गर्न सक्षम हुन्छौं।
विश्वकै शान्तिका अग्रदूत भगवान् गौंतम बुद्ध नेपालमा जन्मिनुभएको हो। हामी कुनै मुलुकले बुद्ध मेरो देशमा जन्मिएका थिए भनेर कतै लेख्यो वा बोल्यो भने प्लेकार्ड लिएर काठमाडौंको मण्डेला पुग्छौं। यसो भनेर विरोध गर्नुपर्दैन भन्न खोजिएको होइन।
तर भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी भने पुग्दैनौं।बुद्धको क्रीडास्थल कपिलवस्तुको भ्रमणले हामीलाई बुद्धबारे धेरै ज्ञान दिन्छ। यसै गरी देवदह, रामग्राम, तिलौराकोटलगायतको बुद्ध सर्किटको भ्रमणले हामीलाई बुद्धबारे सही ज्ञान दिन्छ र हामीले गर्ने विरोध सशक्त र सार्थक बन्न पुग्छ।
काठमाडौंको बौद्ध र सुर्खेतको काँक्रे विहारको भ्रमणले पनि हामीलाई यस क्षेत्रको ज्ञानको भण्डार नै प्राप्त हुन्छ। नेपालमा हिमाल, पहाड र तराईमा गरी हजारौंको संख्यामा ऐतिहासिक विहार रहेको कुरा हेक्कामा राखी आन्तरिक पर्यटनमा निस्किनुपर्छ।
धेरै नेपालीले काठमाडौंको नगरकोटलाई नै सूर्योदय हेर्ने उत्तम स्थान ठानेका छन्। यो एउटा सूर्योदय हेर्ने उत्तम स्थान त हो तर यस्ता उत्तम स्थान नेपालमा प्रशस्त छन्। पूर्वको श्रीअन्तु यसको अनुपम उदाहरण हो।
श्रीअन्तु डाँडाको भ्रमणमा जाँदा इलामको कन्यामको चियाबारीको स्वादले हरेकलाई मन्त्रमुग्ध बनाउँछ। ताप्लेजुङको पाथिभरा पुग्दा मनले जे चितायो त्यही पुग्ने कहावत सत्य साबित हुन्छ। हिउँले ढाकिएका बाटो हुँदै पाथिभराको चुचुरोमा पुग्न बादलसँग पौंठाजोरी खेल्नुको मज्जा शायदै अमेरिका पुगेर लिन सकिएला।
सोही भ्रमणको प्याकेजमा बराहक्षेत्र र चतराधामको भ्रमण गर्न सकिन्छ। बूढासुब्बा पुगेर दंगदास पर्न सकिन्छ। धरान बजार पुगेर बेलायत गएको आभास लिन सकिन्छ। समयले साथ दिएमा खेटाङको हलेसी पुग्न सकिन्छ। यी एकसे एक नेपालका दामी स्थान हुन्।
आजै यी स्थानको भ्रमणको योजना बनाऔं र हल्का रुकस्याक अनि केही हजार खल्तीमा हालेर आन्तरिक पर्यटनमा निस्कौं भन्ने आग्रह हो। पूर्वमा रहेको जनकपुर धामको जति नै वर्णन गरे पनि कम हुन्छ। राम र सीताको आदर्श दाम्पत्य जीवनबाट प्रेरित हुन र प्राचीन ऐतिहासिक विषयको जानकारी लिन जनकपुर पुग्नुपर्छ।
यसै भ्रमणमा जलेश्वर पुगेर जुगें महादेवसँग भेट गर्नुपर्छ। यसै सिलसिलामा छिन्नमस्ता मन्दिर पुगेर नेपालमा के छैन ? भन्ने गर्वको अनुभूति गर्नुपर्छ। बाराको गढीमाई पुग्दा दंग पर्नु स्वाभाविक नै हो।
नेपालकै पहिलो औद्योगिक नगरी विराटनगरको भ्रमणले पनि हामीलाई आर्थिक विकासको धेरै जानकारी दिन्छ। पूर्व–पश्चिम राजमार्गको यात्राले हुलाकी मार्ग, प्रस्तावित रेलमार्ग, मध्यपहाडी लोकमार्ग र प्रस्तावित उच्च हिमाली पूर्व–पश्चिम राजमार्गको महत्वबारे जानकारी हासिल हुन्छ।
काठमाडौंको पशुपतिनाथ र गोर्खाको मनकामना हामीमध्ये धेरै पुगेका हुन सक्छौं। तर गोर्खाको लिगलिगकोट नपुगेका हुन सक्छौं। त्यहाँ पुगेपछि देखिने प्राकृतिक मनोरम दृश्य र हाल पालिकाले राखेको निकै अग्लो नेपालको झन्डासहितको फोटो खिच्नुको मज्जा कल्पना गरेभन्दा बढी छ।
पोखरामा पनि धेरै नेपाली पुगेका छौं, बोटिङ पनि गरेका छौं। तर प्याराग्लाइडिङको अनुभव नलिएको हुन सक्छ। यो मौका नगुमाऔं। पोखरा जाँदा घान्द्रुक पुगौं। लमजुङको बेसीशहर हुँदै मनाङ पुगौं। लमजुङमा रहेको मध्यमस्र्याङ्दी पावर हाउस हेरौं। काठमाडौंबाट जिरी जाऔं, चीज खाऔं। दोलखा भीमसेनको किन पसिना आयो, जानकारी राखौं।
कालिन्चोक पुगेर हिउँ खेलौं। उसो त मकवानपुरको पालुङ गएर वा काठमाडौंको पूmलचोकी पुगेर पनि हिउँसँग दोस्ती गर्न सकिन्छ। नेपालको समुद्रसम्म पुग्ने मूलद्वार वीरगन्ज हो। त्यहाँको भ्रमणमा निस्कनुपर्छ। चितवनको सौराहालगायतको भ्रमणबाट एकसिंगे गैंडालगायतका नेपाली जंगली जनावरसँग जम्काभेट गर्नुको स्वाद निकै फरक हुन्छ।
प्यूठानको स्वर्गद्वारी साँच्चिकै स्वर्ग पुर्याउने पवित्र तीर्थस्थल हो। यस क्रममा भैरहवा र बुटवल खण्डको फराकिलो सडक हेरेर युरोपको याद गर्न सकिन्छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी र लोमाङ्थाङको चर्चा गर्ने कुनै शब्द नै छैन।
यस्तै भावना गोसाइँकुण्ड पुग्दा पनि अनुभूत हुन्छ। रसुवागढी नाका पनि कम आकर्षक छैन। गुल्मीको रिडी र रेसुंगा तथा तनहुँको देउघाटले मन नै आनन्दित हुन पुग्छ। यसै क्रममा नुवाकोटको साततले दरबार र देवीघाटको भ्रमणले मन नै पुलकित हुन्छ। यस्ता स्थानमा नपुग्ने नेपालीको भ्रमण अधुरो, अपूरो हुने हुन्छ।
पाल्पा नेपालको अर्को मनोरम ठाउँ हो। यहाँका भैरवस्थान, ऋषिकेश र रानीमहल नपुगी पाल्पा पुगेको पनि अधुरो हुन्छ। अछामको वैद्यनाथ साक्षात भगवान् मनिन्छन्। खप्तडको प्राकृतिक मनोरमलाई शब्दमा व्याख्या गर्न सकिन्न। जसरी रारातालमा समय–समयमा पानीको रंग बदलिन्छ, यसै गरी खप्तडको घाँसको रंग पनि बदलिन्छ।
बढिमालिका र वाल्मीकि आश्रम नपुगेका नेपालीले नेपाल घुमिसके भन्न मिल्दैन। नेपालमा रहेका आरक्ष र निकुञ्ज पनि हेर्न र घुम्न एकसे एक छन्। तराईका विराट क्षेत्र, विदेह क्षेत्र, सहलेश क्षेत्र, सिम्रौन क्षेत्र, लुम्बिनी क्षेत्र र कर्णाली चिसापानी क्षेत्र आँखाको नानीसरह छन्।
खप्तड मनास्लु, रुरु, रेसुंगा, लामटाङ, गौरीशंकर, पर्साको जीराभवानी र खोटाङको बराहपोखरी पुग्दा कसको पो मन खुशीले गदगद नहोला। यथार्थमा, नेपाल ऋषिमुनिको तपोभूमि हो। यो हिमालको काखमा रहेको पवित्र देश हो। यो धार्मिक सहिष्णुताको नमुना देश पनि हो।
यहाँका प्रत्येक बस्तीमा कम्तीमा एउटा शक्तिपीठ छ। यहाँ बौद्धिक र आध्यात्मिक चिन्तन गर्ने ठाउँ जताततै उपलब्ध छ। यस्तो अमूल्य र अभेद्य मुलुकको पूर्व–पश्चिम, उत्तर–दक्षिण, हिमाल, पहाड, तराई जुनसुकै भागको भ्रमण गर्दा पनि मन आनन्दित हुन्छ। यसर्थ व्यापकरूपमा आन्तरिक भ्रमण गरौं, भ्रमण वर्ष सफल पारौं भनी सार्वजनिक आह्वान गर्दछु।











प्रतिक्रिया