सफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महानगरको वडा ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ। शनिवार बागमती नदी सरसफाइ महाअभियानको ३५०औं हप्ताको बिशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गर्नुभएको हो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं संघीय संसद् सदस्य प्रकाशमान सिंहले वडाले अघि सारेका कार्यक्रम कार्यान्वयन भए स्वच्छ र हरियाली सहर निर्माणमा समय नलाग्ने धारणा राख्नुभयो।

यो स्वच्छता वा पाटी विशेषको एकल मुद्दा होइन। यसबाट लाभ वा नोक्सान जे भए पनि सबैलाई हुन्छ। त्यसैले सबै मिलेर वडाबाट अघि सारिएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नुपर्ने नेता सिंहको भनाइ थियो। यसका लागि आफूले दिनुपर्ने सहयोगमा कमी नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य गणेश दुलाल र दीपेन्द्र श्रेष्ठले सफाइबाट सभ्यता देखिने जनाउनेमा साझा विचार राख्दै यसलाई दिगो बनाउन प्रदेश सरकारकातर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

बागमती नदी सफाइ महाअभियानको नेतृत्व स्थानीय सरकारको रोहबरमा स्थानीय टोल सुधार समिति, उपभोक्ता समिति र संघसंस्थालाई जिम्मा दिने क्रममा वडाले अग्रसरता लिएको हो।

कार्यक्रममा बोल्दै वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो– ‘एक घर एक कुचो’, ‘आफ्नो टोल आफैं सफा गरौं’, ‘मेरो घर अगाडिको पेटी र सडक म आफैं सफा राख्छु’, भन्ने नारा लिएर हामी टोल—टोल र घरघरमा जाँदै छौं। हाम्रो अभियानमा सबै वडाबासी सहभागी हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

वडाले अघि सारेको अवधारणामा अबको २ वर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने, यसै वर्ष चेस पार्कको निर्माण सम्पन्न गर्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग मिलेर प्रसूति गृहपछाडिको करिब ५८ रोपनी जग्गामा हरियाली कायम गर्ने लगायतका योजना समेटिएका छन्।

घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा दिसापिसाब गराउने व्यवहार नियन्त्रण गर्ने, सार्वजनिक जग्गा संरक्षण गरी सार्वजनिक उपयोगमा ल्याउने, तरल फोहोर प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित वस्तीलाई व्यवस्थित गर्ने तथा अतिक्रमित जग्गालाई संरक्षण गर्ने विषय समेटिएका छन्।

वडाबासीलाई सरसफाई कार्यमा उत्प्रेरणा दिएर सक्रिय गराउने उद्देश्यले यो अवधारणा अघि सारिएको वडा सचिव उपनिर्देशक रामप्रसाद पौडेलले जानकारी दिनुभयो।

बागमती नदी सरफाइ महाअभियानअन्तर्गत बितेका ७ वर्षको अवधिमा करिब १२ हजार टनभन्दा बढी फोहर उठाइएको छ। यस कार्यमा करिब १० लाखभन्दा बढी स्वयंसेवीहरुले समय दान गरिसकेका छन्।

हरेक शनिबार सञ्चालन हुने सफाइ अभियान २०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट शुरू गरिएको यो राष्ट्रिय अभियान बागमतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ।

त्यस्तै उपत्यकाबाहिर करिब ९० स्थानभन्दा बढी शहर बजारमा स्थानीयवासीको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन भइरहेको छ।