ललितपुरका मेयर जापान प्रस्थान

0
Shares

ललितपुर, (नेस)। 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन गरीब लक्षित सहरी पुनर्उत्थान परियोजना (पीयूआरपीपी) अन्तर्गत दोस्रो चरणको छलफल कार्यक्रममा सहभागी हुन शनिबार जापान जानुभएको छ।

विश्व बैंक र जापान सरकारको संयुक्त आयोजनामा आउँदो सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो।

‘पीयूआरपीपी–फलोे अन स्केल अप’ को यस चरणमा ललितपुर महानगरपालिकाको अगुवाइमा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कीर्तिपुर र दक्षिणकाली नगरपालिकालाई लाभान्वित गराउन आवश्यक कार्यक्रम र योजनाका बारेमा छलफल हुनेछ।

उक्त कार्यक्रममा ललितपुर महानगरका प्रमुखसहित शहरी विकास मन्त्रालयका सहसचिव सरिता मास्के त्यसतर्फ जाँदै हुनुहुन्छ।

‘वल्र्ड ब्याङक्स टेक्निकल डिप डाइभ अन क्रियटिभ सिटिज ः कल्चर एन्ड क्रियटिभिटी फर जब्स एन्ड इन्क्युसिभ ग्रोथ’ विषयक छलफलका लागि उहाँलाई निमन्त्रणा आएको थियो। उहाँको भ्रमणको सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्ने छ।

कार्यक्रममा उहाँले समुदायको विकासका लागि ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्दाको अनुभवलगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुहुनेछ।

पीयूआरपीपी परियोजनाको पहिलो चरणअन्तर्गत भएका कामले ललितपुर महानगर र महानगरवासीमा भएको विकास र प्रगतिको बारेमा समेत उहाँले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसैगरी जापानमा भएका उत्कृष्ट र नमूना परियोजनाको समेत उहाँहरुले अवलोकन गर्ने कार्यक्रम छ।

उक्त परियोजनाको पहिलो चरणमा पिम्बहाल पोखरी (पिम्बहा पुखु ः)को पुनर्निर्माण र मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्न काम भएको थियो।

पहिलो चरणको उक्त परियोजना विश्व बैंकले ‘जापानिज सोसियल डेभलपमेन्ट फन्ड’अन्तर्गत विश्वको ३५ वटा देशमा सञ्चालन गरेको थियो।

३५ देशका परियोजनामध्ये ललितपुर महानगरपालिकामा सम्पन्न भएको परियोजना सबैभन्दा उत्कृष्ट भएको विश्व बैंकले जनाएको छ।