चीनको वुहान शहरमा आवतजावत रोकियो 

कोरोना भाइरसबाट मर्नेको संख्या नौ 

0
Shares

बेइजिङ, (एजेन्सी)।
नयाँ भाइरस कोरोनाको कारण मर्नेको संख्या ९ पुगेपछि चीन सरकारले बुधबार जनतालाई मध्य चीनमा अवस्थित वुहान शहरमा नजना र त्यहाँबाट कोही पनि अन्यत्र पनि नजान आह्वान गरेको छ। सो शहरबाट यो भाइरस फैलिएको हो।

साथै करिब ८९ लाख जनसंख्या भएको वुहानका वासिन्दालाई पनि भिडभाडमा नजान तथा सार्वजनिक भेलामा यथासम्भव कमै उपस्थित हुन सल्लाह दिइएको छ।

वुहानको अवैध रूपमा वन्यजन्तु तथा पन्छीहरुको व्यापार हुने बजारबाट यो भाइरस फैलिएको आशंका गरिएको छ। यो भाइरस चीनका थुप्रै प्रान्तलगायत अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा समेत फैलिसकेको छ।

मंगलबार मात्र चिनियाँ सरकारी निकायले यो भाइरस मानवबाट पनि सर्ने घोषणा गरेको थियो। वन्यजन्तुको अवैध कारोवार गर्ने तथा समुद्री खाना बिक्री वितरण हुने बजारबाट शुरु भएको भनिएको यस नयाँ भाइरसबाट ४ सय ४० जना व्यक्ति संक्रमित भइसकेको पुष्टि भइसकेको छ।

यस महामारी फैलिए यता पहिलो पटक जारी गरिएको सरकारी सूचना दिने क्रममा राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री ल विनले वुहानमा आवतजावत नगर्न आह्वान गरेका हुन्। चीन सरकारले यस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकार गम्भीर भएर लागिपरेको बताएको छ।
थुप्रै किसिमका कोरोना भाइरस हुने भए तापनि जम्मा छ वा सात प्रकारका मात्र मानिसहरुका लागि खतरनाक सावित हुने वैज्ञानिकहरुको दावी रहेको छ। २०१९–एन सीओभी नामक यस नयाँ भाइरस पहिलोपटक मानमा संक्रमित भएको बताइएको छ।
दुई हजार दशकको प्रारम्भतिर विश्वमा झण्डै ८ सय मानिसको ज्यान जाने गरी फैलिएको सार्स भइरस पनि वास्तवमा एक प्रकारको कोरोना भाइररस नै हो।

यसबाट संक्रमित मानवमा ज्वरो आउने, खोकी लाग्ने र श्वास छोटो भएजस्तो भएर फेर्न कठीन हुने गर्दछ। कोरोना भाइरस सतर्कताका लागि मानिसहरुलाई असुरक्षित जीवित जनावरहरु तथा रुघा खोकीको लक्षण देखिएका मानिसहरुबाट टाढै रहन र मासु तथा अण्डा राम्ररी पकाएर मात्र खान सुझाव दिइएको छ।

कोरोनाभाइरस चीनबाट थाइल्यान्ड, ताइवान, जापान, दक्षिण कोरिया र अमेरिकामा पुष्टि भइसकेको छ। बुधबार चीनको स्वशासित क्षेत्र मकाउमा पनि एक संक्रमित भेटिएका छन्।

विश्व स्वास्थ संगठनले बुधबार नै कोरोना भाइरससम्बन्धमा आकस्मिक बैठक बोलाएको छ। वैठकमा कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी जनस्वस्थ संकटकाल घोषणा गर्ने नगर्ने विषयमा चर्चा हुने बताइएको छ।

चीनले यस पटक सार्स महामारीको समयमा भन्दा निक्कै पारदर्शिता अपनाएको छ। सार्स प्रकोपको समयमा सूचना लुकाउँदा संक्रमण ३७ देशमा फैलिन पुगेको थियो।

एक टुर अपरेटरका अनुसार उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरेको छ।

३१ डिसेम्बर : चीनले डब्ल्यूएचओलाई वुहानमा निमोनिया जस्तो घटना फैलिएको सूचना दियो।
१ जनवरी : समुद्री खाना तथा जनावरहरु बिक्री हुने बजारबाट महामारी फेलिएको आशंकामा बजारै बन्द गरियो।
९ जनवरी : डब्ल्यूएचओले एउटा नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमण भएको पुष्टि।

११ जनवरी : संक्रमणबाट पहिलो मानव मृत्यु भएको पुष्टि।

१३ जनवरी : विदेशमा पनि भाइरस फैलिने क्रममा थाइल्यान्डमा संक्रमणको पहिलो घटना भेटियो।
१६ जनवरी : जापानमा पनि एउटा घटना भेटियो।

१७ जनवरी : वुहानमा ६९ वर्षीय दोस्रो व्यक्तिको मृत्यु।

२० जनवरी : घटनामा तेब्बर वृद्धि भएर संक्रमितको संख्या २ सय नाघ्यो। बेइजिङ, सेनजेन र सांघाईमा
पनि भाइरस फैलियो। तेस्रो व्यक्तिको मृत्यु र मानवबाटै सरेको पुष्टि।
२१ जनवरी :अमेरिकाले वुहान भ्रमण गरेर फर्केका एकजना ३० वर्षीय व्यक्तिमा पहिलोपटक उत्तर
अमेरिकामा संक्रमण देखिएको घोषणा गर्यो।

२२ जनवरी : मृतकको संख्या ९ पुग्यो , ४ सयभन्दा बढी संक्रमित भएको पुष्टि।