बुद्धि शर्मा
पीएचडी
छिमेकी मित्रराष्ट्र चीनको पहलमा शुरू भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ले आज विश्वव्यापी चर्चा पाएको छ। निकट भएका नाताले नेपालले यसको प्रभाव वा असर प्रत्यक्ष भोग्नेछ। तर, हामीमा यस परियोजनाबारे अल्पज्ञान मात्र देखिन्छ।
नीतिनिर्माताहरूले पनि यस कार्यक्रमले नेपाललाई के लाभ पुर्याउँछ, पश्चिमी अवधारणाका परियोजनाभन्दा यो किन र कसरी भिन्न छ आदि विषयमा विस्तृत जानकारी दिन सकिरहेका छैनन्। तर, यस विषयमा जानकारी हुनु आवश्यक ठानेर जानकारी दिने उपयुक्त पात्रको खोजी गर्दै जाँदा नेपाल समाचारपत्रले पायो डा. बुद्धि शर्मालाई जसले यसै विषयमा चीनबाटै विद्यावारिधि गरेर त्यहीं प्राध्यापन गर्दै हुनुहुन्छ। चीन, दक्षिण एसिया एवं विश्व सन्दर्भबारे जर्नल तथा मूलधारका सञ्चारमाध्यममा आलेखहरू प्रकाशन गर्दै आएका शर्माले बीआरआईसम्बन्धी अनेकौं सम्मेलनमा वक्ताका रूपमा भूमिका पनि निर्वाह गर्नुभएको छ। प्रस्तुत छ, चीनको सिचुवानप्रान्तस्थित लसान नर्मल विश्वविद्यालयमा एसोसियट प्रोफेसर तथा त्यस विश्वविद्यालयअन्तर्गतको थिंक ट्यांक–सेन्टर फर ट्रान्स हिमालय स्टडिज (सीटीएचएस) मा सिनियर रिसर्च फेलो शर्मासँग कपिल काफ्लेले लिएको अन्तर्वार्ताको सार–संक्षेप :
बेल्ट एन्ड रोड इनिसियटिभलाई नै विद्यावारिधिको विषय बनाउनुका कारण के हो ?
चीनप्रतिको मेरो पहिलेदेखिको चासो, अन्तर्राष्ट्रिय मामिलाबारेको खुलदुली, राजनीतिक चेतना एवं बदलिँदो विश्व परिवेशबारेको बुझाइलगायतका कारणले गर्दा उदाउँदो शक्ति छिमेकी मुलुक चीनमा विद्यावारिधि गर्ने निर्णय लिएँ।
चीनको राजधानी बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाबाट मैले विद्यावारिधि पूरा गरें। मेरो विद्यावारिधिको विषय ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) र अन्तर्राष्ट्रिय सञ्चारसँग सम्बन्धित छ। चीनअन्तर्गत बीआरआईबारे गहन अध्यन मेरो थेसिसमा भएको छ।
आम नेपालीले चिनेको चीन र तपाईंले चिनेको चीनमा के फरक छ ?
नेपालको छिमेकी मुलुक भए पनि अझै धेरै नेपालीलाई चीनबारे निकै कम जानकारी छ। जानकारवर्ग पनि निकै नै सतही विश्लेषण गरिरहेका हुन्छन् चीनबारे। चीनमा अहिले विश्वस्तरका दर्जनौं विश्वविद्यालय छन्, साथै पूर्वाधार, जनशक्ति, अनुसन्धानलगायतमा पनि निकै ठूलो लगानी र सहभागिता छ।
बीआरआईले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, विविध प्राविधिक हँुदै जनस्तरसँगको सम्बन्धसम्मलाई समेटेको छ। त्यस कारण यसको क्षेत्र निकै व्यापक, बहुआयामिक र गहन छ। खुलापन, अहस्तक्षेप, सबैले जित्ने स्थिति, समन्वयिकतालगायतका आधारभूत सिद्धान्तले बीआरआईलाई २१औं शताव्दी सुहाउँदो विश्व साझेदारी कार्यक्रम मान्न सकिने प्रस्ट आधारहरू दिएको छ।
विद्यावारिधिका क्रममा निकै प्रतिभावान प्राध्यापकहरूबाट धेरै कुरा सिक्ने अवसर मिल्यो। विश्व व्यवस्था, प्रणाली, अन्तर्राष्ट्रिय सञ्चार, अनुसन्धानका पद्धतिहरू, इतिहास, सभ्यतालगायतका विषयहरूमा गहन अध्ययन गर्ने अवसर मिल्यो।
उचित शैक्षिक वातावरण, पूर्वाधार, गतिलो जनशक्ति र अनुसन्धानमा लगानी हुन सक्यो भने यो समग्र मुलुककै सकारात्मक परिवर्तनका लागि कामयावधि हुन्छ भन्ने कुरा मैले चीनमा अनुभव गरें, जुन अमेरिकालगायतका समृद्ध मुलुकहरूको अनुभवले पनि प्रस्ट पारिसकेको छ।
के बीआरआईबारे चीनमा पढाइ नै हुन्छ ?
बीआरआईबारे भिन्दै विषय नभए पनि अहिले चीनका विश्वविद्यालयहरूमा अध्यापन हुने धेरैजसो विषयमा यो सन्दर्भ प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जोडिएको छ।
यसको कारण पनि छ– चीनले बीआरआईलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सबैजस्तो मुद्दाहरूसँग एकीकृत गरेर साझेदारी, सहकार्य एवं अन्तरक्रियाद्वारा अघि बढाउन खोजेको छ। तपाईं अहिले चीनका कार्यक्रमहरू हेर्नुहुन्छ भने आर्थिकदेखि सांस्कृतिक, प्राविधिक विषयहरू, खेलुकद, मेडिकललगायत सँग सम्बन्धित हरेक विषयवस्तुमा बीआरआई जोडिएको पाइन्छ।
चिनियाँ भाषामा यी ताई यी लु (वान बेल्ट वान रोड) भनिने बीआरआईको सुन्दरता नै यसको परिकल्पना एक ब्रह्माण्डजस्तो छ– सबै चिज अटाउने।
त्यसैले त चिनियाँ राष्ट्रपति सी जिन पिङले यसलाई गहन अन्तर्राष्ट्रिय सहकार्यका लागि एक गतिलो आधार भनेका छन्। यी ताई यी लु कार्यक्रम चिनियाँ दार्शनिक लावत्सेको विचारबाट प्रेरित भएर निर्माण गरिएको चिनियाँ विज्ञहरू बताउँछन्।
बीआरआईको इतिहासदेखि वर्तमानलाई संक्षेपीकरण गरिदिनुस् न !
सन् १९७८ बाट शुरू भएको खुलापनको नीतिले चीनलाई चार दशकभित्रै विश्वको दोस्रो अर्थतन्त्रमा पुर्याएको छ। अहिले चीन आफ्ना प्राप्ति, उपलब्धि, अनुभव र निर्माण विश्व समुदायमाझ प्रस्तुत गर्ने हैसियतमा छ।
बीआरआई कुनै रणनीतिक योजना, जिरोसम गेममा आधारित, हस्तक्षेपकारी वा सर्त थोपर्ने संयन्त्र नभई सबैले आफ्ना आवश्यकताअनुसार लाभ प्राप्त गर्न सक्ने र आफ्ना क्षमता एवं चाहनाअनुसार विश्वमाझ योगदान दिन सक्ने मञ्च हो। अबको नेपाल बीआरआईबाट राष्ट्रिय हित अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरमा पनि योगदान एवं गतिलो उपस्थिति जनाउने गरी लागिपर्नुपर्छ भन्ने मेरो सुझाव छ।
बीआरआई कार्यक्रम पनि चीनले विभिन्न आयाममा आधारित साझेदारी निर्माण गरी विश्व समुदायमाझ सहकार्य, आपसी विश्वास र साझेदारीमार्फत विश्व शान्ति, मेलमिलाप र समृद्धिका लागि योगदान दिने किसिमले शुरूआत गरिएको हो। सन् २०१३ मा औपचारिक शुरूआत गरिएको भए पनि बीआरआईसम्बन्धी विस्तृत योजना तथा नीति सन् २०१५ मा जारी गरिएको थियो।
शुरूआतको पाँच वर्षमै विश्वभरबाट भइरहेको सहभागिता र क्रियाशीलताले अहिले बदलिँदो विश्व परिवेशमा आपसी विश्वासमा आधारित बीआरआई कार्यक्रमप्रतिको चासो, अपेक्षा र सहकार्यको सकारात्मक चाहनालाई पुष्टि गर्दछ।
यो कार्यक्रम पश्चिमा मुलुकहरूका कार्यक्रमजस्तो कसैप्रति एकोहोरो थोपर्ने, अनेक सर्त लगाउने, हस्तक्षेपको आधार बनाउने वा आन्तरिक अस्थिरताको कारक बन्ने किसिमको नभई सम्बन्धित मुलुकको आवश्यकता, चाहना र हितमा आधारित रहेर अघि बढाउने प्रवृत्तिको छ।
बीआरआईको सुन्दर पक्ष नै यसमा सहभागी मुलुकहरूले आफ्नो राष्ट्रिय आवश्यकता एवं चाहनाअनुसार अन्तर्राष्ट्रिय साझेदारी एवं सहकार्य बढाउन सक्ने खुला स्थिति हो।
संक्षेपीकरणले मात्र प्रस्ट भएन, अलि बुझिने गरी बीआरआईबारे प्रस्ट पारिदिनुस् न !
सामान्य बुझिने भाषामा भन्नुपर्दा बीआरआई अन्तर्राष्ट्रिय सहकार्य एवं साझेदारी निर्माणका लागि प्रस्तुत गरिएको एक आधार कार्यक्रम हो। यसका विभिन्न आयामहरू छन्। सबै आयाम आपसी विश्वास, समन्वय, जित–जितको अवधारणामा आधारित, लचकता र खुला साझेदारीको सिद्धान्तमा टेकेर उभिएका छन्।
चीनद्वारा अघि सारिएको भए पनि राष्ट्र«पति सीले यसलाई विश्व समुदायको अपनत्व रहने अन्तर्राष्ट्रिय साझेदारी कार्यक्रम भनेका छन्। बीआरआईअन्तर्गतका पाँच धारहरूमा नीति, पूर्वाधार, व्यापार, आर्थिक साझेदारी र जनस्तरको सम्बन्ध रहेका छन्।
आर्थिक र पूर्वाधारतर्फ ६ वटा मुख्य करिडोर प्रस्ताव गरिएको छ। बीआरआईलाई कतिपयले सिल्क रोड इकोनोमिक बेल्ट र २१औं शताव्दीको मरिटाइम सिल्क रोडलाई एकपक्षीय किसिमले विश्लेषण गर्दै पूर्वाधारमा आधारित कार्यक्रम मात्र भन्ने गरेको पाइन्छ। यथार्थ त्यसो होइन।
बीआरआईले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, विविध प्राविधिक हँुदै जनस्तरसँगको सम्वन्धसम्मलाई समेटेको छ। त्यस कारण यसको क्षेत्र निकै व्यापक, बहुआयामिक र गहन छ।
खुलापन, अहस्तक्षेप, सबैले जित्ने स्थिति, समन्वयिकतालगायतका आधारभूत सिद्धान्तले बीआरआईलाई २१औं शताव्दी सुहाउँदो विश्व साझेदारी कार्यक्रम मान्न सकिने प्रस्ट आधारहरू दिएको छ।
सन् २०१७ र २०१९ मा बेइजिङमा सम्पन्न बीआरआई अन्तर्राष्ट्रिय फोरममा देखिएको विश्व समुदायको उपस्थिति, चासो र सक्रियताले पनि यसको बढ्दो महत्व एवं सान्दर्भिकतालाई स्पष्ट पार्दछ।
बीआरआईका कारण विभिन्न मुलुकमा बढेको आर्थिक गतिविधिलाई कसरी हेर्नुहुन्छ ?
बीआरआई कार्यक्रम जारी भएयताको पाँच वर्षमा चीन र बीआरआईमा सहभागी मुलुकहरूबीचको व्यापार ५ खर्ब डलर नाघेको छ। दर्जनजति खुला व्यापार सम्झौता भएका छन्।
बीआरआईमा सम्मिलित मुलुकहरूमा चीनबाट मात्रै प्रत्यक्ष लगानी ८० अर्ब डलर नाघेको छ। विभिन्न मुलुकका प्रोजेक्टहरूमा ६ सय अर्ब डलरभन्दा बढीमा सम्झौता भएको छ। यो निकै ठूलो उपलब्धि पनि हो। विभिन्न मुलुकबीच रेलवे, हाइवे, बन्दरगाह, एभिएसन, प्रविधिलगायतका अनेकौं क्षेत्रमा निर्माण सम्झौता भएका छन्।
जस्तोः चीन–पाकिस्तान इकोनोमिक करिडोर, मम्वासा–नैरोवी रेलवे, श्रीलंकाको हम्वानटोटा पोर्ट, अदिसअवावा–जिवोटी रेलवेलगायतका दर्जनौं ठूला प्रोजेक्टलाई उदाहरणका रूपमा लिन सकिन्छ। यसबीचमा विभिन्न मुलुकमा ८२ वटा आर्थिक क्षेत्र निर्माण भई ३ हजार ९ सय ९५ वटा इन्टरप्राइजेज स्थापना भइसकेका छन् जसका कारण सम्बन्धित मुलुकहरूमा आर्थिक गतिविधि बढ्न गई हजारौंको संख्यामा रोजगारी सिर्जना भएका छन्।
राष्ट्रसंघ, जी–२०, एपेकलगायतका विश्व संस्था एवं संरचनाहरूले बीआरआईलाई मान्यता एवं आधिकारिक दस्तावेजमा राखेका छन्। गत मार्चसम्म १ सय २५ मुलुकसंग साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ। त्यसै गरी २९ जति प्रभावशाली अन्तर्राष्ट्रिय संस्थाले सहकार्य गर्ने सम्झौता गरेका छन्।
बीआरआईलाई सहयोग पुग्नेगरी चीनले ट्यारिफमा १५ दशमलव २ प्रतिशितबाट घटाएर ७ दशमलव ५ प्रतिशितमा पुर्याएको छ। बेलायत, रुस, चीन, अर्जेन्टिनालगायतका तीन दर्जन मुलुकले बीआरआईसम्बन्धी साझा आर्थिक विकास सिद्धान्त प्रतिपादन गर्न सिफारिस गरेका छन्।
वित्तीय, बजार र इन्सुरेन्सका क्षेत्रलाई बीआरआईले निकै फराकिलो बनाउँदै लगेको छ। यसबाहेक पनि स्वास्थ्य, शैक्षिक, पर्यटनलगायतका विविध धारमा आधारित जनस्तरको आदान–प्रदानको क्षेत्र निकै व्यापक एवं घनिष्ठ हुँदै गएको छ।
पूर्वाधार विकासमा केन्द्रित बीआरआई परियोजनाप्रति पूर्वाधार निर्माणको चरण पार गरिसकेका समृद्ध मुलुक किन सहभागी हुने ?
बीआरआई केबल पूर्वाधारमा मात्र केन्द्रित छ भन्ने होइन। बीआरआई अन्तर्राष्ट्रिय मञ्चमा आइसकेयताको ६ वर्षलाई मात्र हेर्ने हो भने यसले नसमेटेको वा कार्यक्रम प्रस्तुत नगरेको सायदै कुनै क्षेत्र होला।
अर्को कुरा, सन् १९४५ बाट सन् १९९० को बीचमा व्यापक पूर्वाधार निर्माण गरी समृद्धिको एक उचाइ हासिल गरिसकेका मुलुकहरूलाई पनि २१औं शताव्दीमा आएर व्यापक पूर्वाधारमा लगानी गर्नुपर्ने देखिएको छ।
यो कुरा केही वर्षपहिले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि बताइसकेको हो। २१औं शताव्दीमा विश्व समुदायमाझ अनेकौं चुनौती छन्। लगानीको अभाव, असन्तुलित व्यापार, संरचनागत सामाजिक समस्या, बढ्दो आतंकवाद, सभ्यताहरूबीच रहेका शंका र बेमेल, जलवायु परिवर्तनको मुद्दा, आप्रवासीका विषयलगायतका अनेकांै साझा चुनौतीहरूको सामना केवल विश्व समुदायको एकता, सहकार्य र आपसी विश्वासले मात्र सम्बोधन गर्न सकिन्छ।
बीआरआईको खास अन्तर्वस्तु र सिद्धान्त नै ती यावत चुनौतीको सामना गर्न एक अन्तर्राष्ट्रिय साझेदारी प्लेटर्फम तयार गर्नेमा रहेको छ। त्यस कारण चाहे विकसित, विकासशील वा अल्पविकसित मुलुक नै किन नहोउन् सबैले बीआरआईको फ्रेकवर्कभित्र बसेर राष्ट्रि«य आवश्यकता सम्बोधन गर्नेदेखि विश्व समुदायकै हितका लागि योगदान गर्न सक्दछन्।
बीआरआईबाट नेपाल र योजस्ता अन्य मुलुकले कसरी लाभ लिन सक्छन् ?
बीआरआईबाट नेपालजस्ता अल्पविकसित मुलुकहरूले धेरै लाभ प्राप्त गर्न सक्दछन्– यदि सही योजना निर्माण र कार्यान्वयन क्षमता प्रदर्शन गर्न सकेमा।
लामो राजनीतिक सक्रमणको अवस्थापछि करिब दुई वर्षयता नेपालले राजनीतिक स्थिरताको अनुभव गर्न पाएको छ। अबको समय भनेको आर्थिक मुद्दामा केन्द्रित रहेर बढीभन्दा बढी बाह्य लगानी, प्रविधि, ज्ञान र सीप भित्राई मुलुकको समृद्धिको लक्ष्यलाई हासिल गर्नु हो।
यसका लागि बीआरआई एक अत्यन्त उपयोगी मञ्च हुन सक्छ, जसमार्फत नेपालले आफ्ना राष्ट्रिय आवश्यकता र लक्ष्यअनुसार अन्तर्राष्ट्रिय साझेदारीमार्फत बढीभन्दा बढी लाभ हासिल गर्न सक्छ।
नेपाल सन् २०१७ मेमा बीआरआईमा औपचारिकरूपमा सहभागी भएयता कसरी यो मञ्चलाई राष्ट्रि«य समृद्धिको लक्ष्य हासिल गर्ने भन्ने सन्दर्भमा उपयोग गर्न जति गम्भीरतापूर्वक लाग्नुपर्ने थियो त्यो हुन सकिरहेको छैन।
नेपालले अझै पनि ढिला नगरी पूर्वाधार संरचना निर्माणलगायतका मुलुुकलाई तत्काल र दीर्घकालीन लाभ हुने योजना तयार गरी बढीभन्दा बढी लगानी, प्रविधि एवं ज्ञान, सीप तथा अनुभव भित्याउन सफल हुनुपर्दछ।
त्यस्तै, आफ्ना तर्फबाट पनि बाह्य प्रवाह गर्न सक्ने विषयहरूमा मञ्चलाई उपयोग गरी प्रस्तुत हुनु पनि उत्तिकै जरुरी देखिन्छ। त्यस्तै, बीआरआईले क्षेत्रीय एवं अन्तर्राष्ट्रियरूपमा नेपाललाई उपस्थित हुन सघाउ पुराउनुका साथै भू–पेरिष्ठतको पीडा जुन महसुस गर्दै आएको छ यसबाट पनि मुक्त हुन सहयोग पुर्याउनेमा कुनै शंका छैन।
बीआरआईलाई सदुपयोग गर्न नेपाली नेतृत्वलाई गम्भीर होऊ भनेर मात्र पुगेन, अझ ठोस सुझाव चाहियो !
नेपाली नेतृत्वले बीआरआईको मर्म, पहुँच र सामथ्र्यलाई आँकलन गर्नै सकेको छैन। चीन, बाँकी विश्व र बदलिँदो विश्व परिवेशबारेको हाम्रो नेतृत्वको दृष्टिकोण अझै निकै पुरातन र अनुत्पादक रहेको छ। बीआरआईमा आबद्ध भएयता दर्जनौं सम्झौता भएका छन्।
पटक–पटक उच्चस्तरका भ्रमणहरू एवं नयाँ प्रतिबद्धताहरू आएका छन्, तर जब कार्यान्वयन गर्ने सन्दर्भ आउँछ नेपाली नेतृत्वले खुट्टा कमाउने, अनावश्यक ढिलासुस्ती गर्ने र न्यूनतमरूपमा पनि गम्भीरता नदेखाउने काम हुने गरेको छ।
नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले चिनियाँ उदाहरण दिँदै योजना निर्माण गरेपछि कार्यान्वयनमा निकै ध्यान दिनुपर्छ र जनतामा राजनीतिक नेतृत्वप्रतिको विश्वास बढाउने आधार भनेकै बनाइएका नीति तथा योजनाहरूको प्रभावकारी कार्यान्यन हो भनेर प्रस्ट शब्दमा धारणा राखिसकेका छन्।
यस सन्दर्भलाई जोडेर हेर्दा पनि बीआरआईबाट लाभ प्राप्त गर्न नेपाली नेतृत्वले निकै गम्भीरता, परिपक्वता एवं प्रभावकारी कार्यान्यन क्षमता प्रदर्शन गर्नुपर्ने देखिन्छ।
सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई सफल बनाउन बीआरआईले योगदान दिन सक्छ, होइन त ?
वर्तमान सरकारको समृद्ध नेपालको मार्गचित्र गफले होइन, योजना तथा सम्झौताहरूको ठोस कार्यान्यनको अग्रसरताका साथै बढीभन्दा बढी बाह्य लगानी, प्रविधि, ज्ञान, सीप र अनुभव भित्याउन सकेमा मात्र हासिल हुन्छ।
त्यस कारण, नेपालको राष्ट्रि«य आवश्यता र जनताको समृद्धिको चाहनालाई केन्द्रमा राखेर बीआरआईमार्फत अधिकतम लाभ प्राप्त गर्ने किसिमले नेपाली नेतृत्व लाग्नु जरुरी छ।
बीआरआई कुनै रणनीतिक योजना, जिरोसम गेममा आधारित, हस्तक्षेपकारी वा सर्त थोपर्ने संयन्त्र नभई सबैले आफ्ना आवश्यकताअनुसार लाभ प्राप्त गर्न सक्ने र आफ्ना क्षमता एवं चाहनाअनुसार विश्वमाझ योगदान दिन सक्ने मञ्च हो।
अबको नेपाल बीआरआईबाट राष्ट्रिय हित अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरमा पनि योगदान एवं गतिलो उपस्थिति जनाउने गरी लागिपर्नुपर्छ भन्ने मेरो सुझाव छ।
अन्त्यमा, केही भन्नु छ कि ?
जस्टिन यिफु लिन, जोसेफ स्टिग्लिज, टमस पीकेटीलगायतका अर्थशास्त्रीहरूले नवउदारवादमा आधारित अर्थतन्त्रको मोडल र पूर्वाधार एवं संरचनात्मक आधारलाई सम्बोधन नगर्ने बाह्य लगानी, सहयोग तथा अनुदानसम्बन्धी नीति असफल भइसकेको र यो अल्पविकसित तथा विकासशील मुलुकहरूको हितमा नरहेको पुष्टि गरिसकेका छन् तथ्यांकमा आधारित विश्लेषणसहित।
वास्तवमा नेपाली जनतालाई समृद्धि चाहिएको छ। राजनीतिक विचारधारा, कुनै पद्धति र मोडलभन्दा पनि जुन तरिकाबाट मुलुकले समृद्धि हासिल गर्छ र नेपाली जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ त्यो धारको स्वागत नेपाली जनताले गर्छ।
अर्को कुरा, बीआरआईको सिद्धान्त, मर्म र स्पिरिट नेपाली संस्कृति र पद्धतिअनुरूपका सहयोग, समन्वय र सहकार्यमा आधारित नै रहेको छ। बीआरआईको मोडलले नभई नेपालको असफल नेतृत्व, गतिहीन राजनीति, भ्रष्ट प्रशासन र चरम अनियमितताले नै योजना वा नीति कार्यान्यनमा बाधा–अड्चन पुर्याइरहेको छ। केही अध्ययनले पनि बीआरआईप्रति नेपाली जनता सकारात्मक एवं आशावादी रहेको देखाएको छ।
प्रतिक्रिया