सहमतिमै संशोधन ल्याउने समझदारी

0
Shares

काठमाडौं, (नेस)।

शान्ति प्रक्रियाको बार्की काम पूरा गर्नका लागि सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच समझदारी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा शीर्ष नेताहरूबीच चालू संसद्को अधिवेशनमा नै विधेयक दर्ता गराएर सहमतिका आधारमा विधेयक पारित गराउने सहमति जुटेको छ।

शान्ति प्रक्रियाको बार्की काम सम्पन्न गर्न नेकपाका अध्यक्ष प्रचण्डले दुईपटक कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर छलफल गर्नुभएको थियो।

द्वन्द्वकालीन घटनाको बोरमा छिटोभन्दा छिटो टुंगो लगाउने विषयमा नेकपा र कांग्रेस सहमत भएका छन्। नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङले चालू संसद्मा नै विधेयक दर्ता गर्ने गरेर पारित गर्ने सहमति भएको जानकारी दिनुभयो।

छलफलमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले आयोगसम्बन्धी कानुन सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझावका आधारमा संसद्मा पेस गर्ने सहमति भएको बताउनुभयो।

यसअघि विधेयकमाथिको संशोधन गर्न सातै प्रदेशबाट सुझाव लिइएको थियो। शान्ति प्रक्रियाअन्तर्गत सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको बारेमा अझै आयोगमार्फत निरुपण हुन सकेको छैन।