नेकपाले अझै छान्न सकेन सभामुख

दुई अध्यक्षको अडानले संसद् नै बन्धक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रतिनिधिसभाको बैठक शुरू भएको एक महिना पूरा भइसक्दा समेत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले सभामुखको टुंगो लगाउन नसक्दा संसद् नै बन्धक हुन पुगेको छ।

सत्तारूढ दलभित्रको आन्तरिक विवादको कारण रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न नसकेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखका आ–आफ्नै अडानको कारण संसद् बैठक यसअघि तीनपटक स्थगित भइसकेको छ।

आगामी संसद्को बैठक माघ ६ गतेका लागि बोलाइएको छ। तर सत्तारूढ दलले भने सभामुख चयनमा अझै सहमति जुटाउन सकेको छैन।
सभामुख चयन प्रक्रिया अगाडि बढाउन यसअघि नेकपाबाट उपसभामुख बन्नुभएका डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन थियो।

तर उपसभामुख तुम्बाहाम्फेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म पदबाट राजीनामा नगर्ने अडान राख्दै आउनुभएको छ। जसको कारण नेकपालाई सभामुखको उम्मेदवार टुंगो लगाउन कठिनाइ भएको छ।

प्रधानमन्त्रीले नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ र प्रचण्डले अग्नी सापकोटा, हरिबोल गजुरेल पम्फा भुसालको नाम अगाडि सार्दै आउनुभएको छ। तर उपसभामुखले राजीनामा नगर्दासम्म सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सक्दैन।

शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफलमा शनिबारसम्म नयार् सभामुखको नाम टुंगो लगाउने सहमति भएको थियो। तर शनिबार प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख चयनका बारेमा छलफल हुन सकेन।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सभामुख चयनको बारेमा शनिबार दुई अध्यक्षको बीचमा छलफल नभएको बताउनुभयो। उहार्ले भन्नुभयो– ‘छलफल सकारात्मक ढंगले अगाडि बढेको छ, आइतबार निर्णय हुन सक्छ।’

नेकपाले आइतबार पनि सभामुखको टुंगो लगाउन नसकेको अवस्थामा संसद् बैठक पुनः स्थगित हुने सम्भावना रहेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पुर्पुक्षका लागि जेल चलान भएपछि विगत तीन महिनादेखि सभामुख पद रिक्त हुर्दै आएको छ।