काठमाडौं, (नेस)।
नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको कारण नयाँ सभामुख चयन प्रक्रिया लम्बिदै गएको छ। पार्टीभित्र सभामुख चयनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल «‘प्रचण्ड’ले प्रतिष्ठाको विषय बनाएपछि एक महिनादेखि सभामुको निर्णय हुन सकेको छैन्।
नेकपाभित्र पटक–पटक सहमति जुटाउने प्रयास असफल भएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। तर दुवै नेताले आ–आफ्नो अडान राखेको कारण सहमति जुट्न नसकेको बताइएको छ।
नयाँ सभामुख चयन गर्न सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न दिएको निर्देशन अस्वीकार गरेपछि पार्टीभित्र थप विवाद देखिएको छ।
उपसभामुख तुम्बाहाम्फेले सभामुख बनाउने सुनिश्चितता नगर्दासम्म पदबाट राजीनामा नदिने अडान राख्दै आउनुभएको छ। आगामी माघ ६ गते बस्ने संसदको बैठकअघि नै नेकपाले सभामुखको टुंगो लगाउने तयारी गरेको छ। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिने चुनौती दिएपछि चार दिनदेखि अध्यक्षद्वयको बीचमा बन्द भएको संवाद पुनः शुरू भएको छ।
दिनको मौनतापछि प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच बिहीबार बालुवाटारमा झन्डै २ घण्टा छलफल भएको थियो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दुई अध्यक्षबीच सकारात्मक छलफल भएको र सभामुखबारे छिट्टै निर्णय लिने सहमति भएको बताउनुभयो।
दुई अध्यक्षका बीचमा माघ ६ गतेको बैठक बस्नुअघि उपसभामुख तुम्बाहाङफेले राजीनामा गर्ने र नेकपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गर्नेमा सहमति भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले सभामुखमा दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई सभामुखको उम्मेदवारको रूपमा अघि सार्दै आउनुभएको छ। सभामुख चयन गर्न नसक्दा यसअघि तीनपटक प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।











प्रतिक्रिया