३० थान मोबाइल बरामद



काभ्रे, (नेस)।

इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली भित्रिएका मोबाइल बरामद गरेको छ। बनेपाका विभिन्न पसलहरूमा छापा मारी प्रहरीले ३० थान माबाइल बरामद गरेको हो।

मंगलबार साँझ गरेको विशेष अप्रेसनमा बनेपाका दुई माबाइल पसलबाट १० लाख १७ हजार रुपियाँ बराबरका ३० थान मोबाइल बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो।

बनेपाका विभिन्न पसलहरूमा राजस्व छली गरी ल्याएका मोबाइलहरू बिक्री भइरहेको सूचना प्रहरीले प्राप्त गरे पनि प्रमाण नहुँदा बरामद गर्न सकेको थिएन।

विशेष गरी काडमाडांैको न्युरोडमा दैनिक आउने यस्ता मोबाइलहरू बनेपासम्म आइपुग्ने गरेको प्रहरीले बताएको छ। कम मूल्यमा प्राप्त हुने मोबाइलहरू धेरै मूल्य लिएर ग्राहकलाई बिक्री भइरहेको सूचना प्रहरीले प्राप्त गरेको तिमल्सिनाले बताउनुभयो।

जिल्लाका अन्य मोबाइल पसल र ग्राहकसँग भएका त्यस्ता मोबाइहरू समेत बरामद हुन सक्ने गरी प्रहरीले अप्रेसन शुरू गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बजेट तथा कार्यक्रममा अवैद्य तरिकाले भित्रने मोबाइल फोन दर्ता गरेर मात्रै सञ्चालन हुने बताउनुभएको थियो।

तिमल्सिना बनेपा प्रहरी इन्चार्ज भएलगत्तै अप्रेसनलाई तीव्रता दिइएको छ। तिमल्सिनाले लागूऔषध तथा मदिरा नियन्त्रण अभियानलाई तीव्र पार्नु भएको छ।

प्रतिक्रिया दिनुहोस्