अर्गानिक कृषि उत्पादनमा नमुना गाउँ बनाइने

0
Shares

नेपाल समाचारपत्र, सल्यान।

कुमाख गाउँपालिकालाई अर्गानिक कृषि उत्पादन नमुना गाउँ बनाइने भएको छ। कृषि जन्य उत्पादनमा विषादी र रासायनिक मलको प्रयोग बन्द गरेर अर्गानिक कृषि उत्पादन नमुना गाउँ बनाइने भएको हो।

कृषि विकास कार्यालयको अगुवाइमा अर्गानिक कृषि उत्पादन नमुना गाउँमा अगुवा कृषक र जनप्रतिनिधिले विषादी र रासायनिक मलको पहुँचको कमी र सडक पूर्वाधारको विकास मात्र भएकाले अर्गानिक कृषि उत्पादन गाउँ बनाउन सकिने बताएका छन्।

उहाँहरूले जैविक मल र विषादी निर्माणसम्बन्धीको ज्ञान सीप मागसमेत गर्नुभएको छ। सामूहिक प्रतिबद्धता भएमा विषादीरहित कृषि उत्पादन गर्ने बताइएको छ।

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले अर्गानिक कृषि उत्पादनलाई बजारीकरणको व्यवस्था गरिने बताउनुभयो। ‘रासायनिक मल, र विषादी प्रयोग नगरी उत्पादन गरिने छ, बजारको भन्दा उत्पादनको अभाव भएको छ।’

अर्गानिक कृषि उत्पादन नमुना गाउँ बनाउन चालू आर्थिक वर्षमा १ करोड ५२ लाख रकम खर्च गरिने भएको छ गाउँपालिकाले जानकारी दिएको छ। पहिलो चरणमा अर्गानिक कृषि उत्पादनका लागि आधार तयार गर्ने गरी काम गर्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो।

उहाँका अनुसार पहिलो चरणमा जनचेतना, प्रचारप्रसार, तालिम, प्रशिक्षक प्रशिक्षण, बजारीकरणका लागि लेभलिड ब्रान्डिङ काम गरिने छ। यस्तै जैविक विषादी, जैविक मल उत्पादन, गोठेमल सुधार भकारो सुधारलगायतका काम पनि गरिने छ।

कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक कार्यविधिसमेत तयार भएको छ। न्यूनतम १० रोपनी जग्गा, १ हजार कुखुरा र १ सय बाख्रापालन गर्ने कृषि सहकारी, समूहले कार्यक्रमका लागि अनुदान पाउने छन्।