नेपाल समाचारपत्र, काठमाडौं।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ हजार मानिस मारेर आएको भन्ने आरोपमा सत्यता नभएको बताउनुभएको छ। उहाँले आफूलाई १७ हजार मारेर भन्ने विषयमा सत्यता नभएको बताउनुभएको हो। ‘हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन्। मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु।
तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन’, प्रचण्डले भन्नुभयो– ‘हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु। म त्यसबाट भाग्ने हुनै सक्दैन। तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन।’
प्रचण्डले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताउनुभयो। माघी महोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउन बताउनुभयो।
थारु जातिको मौलिक संस्कृतिले गर्दा उनीहरुलाई अलग्गै पहिचान दिन विगतमा आफूले सक्दो प्रयास गरेको स्मरण गर्दै उहाँले संविधान जारी हुन अगाडि थारुलाई मधेसीमा राख्ने गरेको बताउनुभयो।
प्रचण्डले संविधान परिवर्तनशील र सम्झौताको दस्तावेज भएका कारण जनताको अधिकार प्राप्तिका लागि पार्टीले संघर्ष जारी राख्ने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष दाहालले आदिम युगदेखि समाजवादसम्मका परिवर्तन एकैपटक नभएको बताउँदै प्राप्त भएका उपलब्धिलाई प्रयोग गरी नयाँ अधिकार प्राप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो।
लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने क्रममा थारु समुदायको त्याग र सहयोग उल्लेखनीय रहेको बताउँदै अध्यक्ष दाहालले राजनीतिक आस्थाका आधारमा बन्दी भएका सबैलाई छुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच १० वर्ष लामो सशस्त्र द्वन्द्वमा विद्रोही माओवादीको सुप्रिम कमान्डर रहेका पुष्पकमल दाहाल प्रचण्डमाथि वारंवार आरोप लाग्छ, १७ हजार मान्छे मारेर आएको।
२०६२/६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएका माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो। प्रचण्ड दुईपटक प्रधानमन्त्री भए। सशस्त्र विद्र्र्र्रोहबाट आएका अर्का नेता डा. बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाले। माओवादीले थुप्रै पटक सरकारको नेतृत्व गरिसक्यो।
अहिले प्रचण्ड नेतृत्वको माओवादीले तत्कालीन नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको छ र, संसद्मा एकल बहुमत प्राप्त नेकपाको दुई अध्यक्षमध्ये एक हुन् प्रचण्ड।
तर, उनलाई १७ हजार मान्छे मारेको आरोपले पछ्याउन छाडेको छैन। बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रचण्ड प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए। उनीभन्दा अगाडि सम्बोधन गरेको केही वक्ताले त्यही १७ हजारको कुरा निकाले।











प्रतिक्रिया