भीषण हिमपहिरोमा ६७ जनाको मृत्यु

0
Shares

इस्लामावाद, (एजेन्सी)।

पाकिस्तान अधिनस्थ काश्मिरमा विगत २४ घन्टाभित्र आएको हिमपहिरोमा कम्तिमा ५७ जना मानिसको ज्यान गएको मंगलबार एकजना वरिष्ठ सरकारी अधिकारीले बताएका छन्।

यसैगरी छिमेकी राष्ट्र भारतको उत्तरी भागमा पर्ने भारत अधिनस्थ काश्मिरमा पनि थुप्रै स्थानमा गएको हिम पहिरोमा कम्तिमा १० जना मानिसको मृत्यु भएको छ। दुईजना पाकिस्तानी अधिकारीहरुले भीषण वर्षापछि निलम भ्याली क्षेत्रमा आएको हिमपहिरोका कारण थुप्रै गाउँले अलपत्र परेको पत्रकारलाई जानकारी दिएका छन्।

अधिकांश सम्पर्क बाहिर रहेका मानिसहरुको मृत्यु भइसकेको आशंका गरिएको छ। उद्धार प्रयास अझैसम्म जारी रहेको छ। यसैगरी पश्चिमी पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तानमा भीषण हिमपात हुँदा त्यहाँको पहाडी इलाकाका थुप्रै घरहरु ध्वस्त हुनका साथै अन्य १७ जना मानिसको ज्यान गएको छ।

दैवीप्रकोप व्यवस्थापन निकायले खनिजका लागि निकै धनी सातवटा जिल्लामा आपत्कालीन स्थिति घोषणा गरेको छ। अहिले त्यहाँ सेनाले राहत र उद्धार कार्य जारी राखेको छ। पाकिस्तान र अफगानिस्तान जोड्ने प्रमुख राजमार्गहरु बाक्लो हिमपातका कारण अवरुद्ध रहेका छन्।

जसले गर्दा पाकिस्तानी अधिकारीहरु अफगानिस्तानमा पठाउने दैनिक उपभोग्य सामान र यातायात स्थगित गर्न बाध्य भएका छन्। विगत दुई साता यता अफगानिस्तानका छ वटा प्रान्तमा भीषण हिमपात र अति जाडोको कारण ३९ जना मानिसको मृत्यु भएको राजधानी काबुलस्थित अफगानिस्तानको प्राकृतिक प्रकोप व्यवस्थापन निकायका प्रवक्ता तामिम आजिमीले बताएका छन्।

एकजना वरिष्ठ भारतीय प्रहरी अधिकारीले भारत र पाकिस्तान सीमा बीचमा मारिने १० जनामध्ये ५ जना सैनिक परेको बताएका छन्। सन् १९४७ मा स्वाधीनता हासिल गरेयता भारत र पास्किस्तानबीच काश्मिरी भूभागको स्वामित्वबारे तनाव चल्दै आएको छ।