सेक्रेटरी जेलमा अध्यक्ष पक्राउ



नेपाल समाचारपत्र, काभ्रे।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य एवं सोही समूहका राष्ट्रिय युवा जन स्वयंसेवक काभ्रे जिल्ला अध्यक्ष रमण परियारलाई सोमबार साँझ बनेपाको गोदाम चोकबाट पक्राउ गरेको छ। पक्राउ परेका परियार पटकपटक पक्राउ परेका नेता हुन्।

पाँचखाल नगरपालिका–७ घर भएका रमणलाई भुम्लुमा २०७५ फागुन १० गते एनसेल टाबरमा आगजनी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ। नेकपा माओवादी एकिकृतबाट अलग भई वैैद्य समूहमा रहँदा धुलिखेलमा हिँडिरहेको बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा परियार केही महिना जेल बसेपछि निस्किएका थिए।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले सरकारले विप्लव समूहका गतिविधिमाथि निषेध गरे पनि चन्दा अभियानमा सक्रिय रहेको सूचनाका आधारमा रमणलाई पक्राउ गरेको बताउनुभयो। पौड्यालले जिल्लामा विप्लव समूहका कानुनविपरीत गतिविधिलाई निस्तेज पार्ने गरी अभियान शुरू गरेको बताउनुभयो।

सेक्रेटरी जेलमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सरकारले गतिविधिमाथि निशेध गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरीसहित तीन जनालाई विशेष सर्च अभियानबाट पक्राउ गरेको थियो। पक्राउ परेकी सेक्रेटरी सुन्तली थोकरलाई जिल्ला अदालतले धरौटी माग गरे पनि धरौटी नबुझाएका कारण उनी कारागार चलान भएकी छिन्।

भुम्लुमा २०७५ फागुन १० मा भएको आगजनी र महाभारत गाउँपालिकामा भएको सिलिन्डर बम विस्फोट अभियोगमा सुन्तलीलाई मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतले दुवै मुद्दामा २५/२५ हजार धरौटी माग गर्ने आदेश सुनाएको थियो।

धरौटी बुझाएलगत्तै अन्य जिल्लाबाट समेत थोकरलाई पक्राउ गर्ने सम्भावनाका आधारमा ५० हजार रकम नबुझाई कारागार गएको हुन सक्ने आंशका गरिएको छ।जिल्लाको विकट गाउँपालिका खानिखोलाबाट केन्द्रिय नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’सहित ८ जना नेताहरू पक्राउ परे पछिका सबैभन्दा ठूलो नेता जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको हो।

लामो समय परिवारको सम्पर्कमा नरहेकी सुन्तली कात्तिक ६ गते बुधबार राति बुबा आमा भेट्न अस्थायी बसोबास रहेको पनौती नगरपालिका–९ बाटै प्रहरीले पक्राउ गरेको हो। थोकरको साथबाट पार्टीका दस्तावेजसहित अन्य महत्वपूर्ण कागजात बरामद गरेको थियो।

दस्तावेज बरामद

पक्राउ परेकी सेक्रेटरी थोकरको साथबाट प्रहरीले १७ थान पुस्तक बरामद गरेको छ। एकीकृत जनक्रान्ति, अग्नि ज्वाला पत्रिका, विश्व प्रसिद्ध जनक्रान्तिहरू, माओत्सेतुङका संकलित सैनिक रचनाहरू, विज्ञानका प्रमुख सिद्धान्तहरू, महान बहस, जनक्रान्तिलगायतका छन्।

पार्टीका सदस्यता फाराम, परिचयपत्र, प्रेस विज्ञप्ति, चन्दा संकलनको प्याड, पत्रलगायतका सामाग्रि बरामद गरेको छ।

आक्रामक योजना

विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ। संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ। जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ।

सदस्यता वृिद्धलाई तीव्र बनाएको छ। चन्दा संकलन, भन्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशिल भएको जिल्ला सदस्य रमेश नेपालीले जानकारी दिए। राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्