सहकारीको नाफा सामाजिक कार्यमा



नेपाल समाचारपत्र, स्याङ्जा।

बोलबम बहुउद्देश्यीय सहकारी संस्थाले नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ। संस्थाको पहिलो वार्षिक साधारणसभाले अनुमोदन गर्दै नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने भएको हो।

सहकारी नाफामुखी भइरहेका बेला यो सहकारीले भने हरेक आर्थिक वर्षमा नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने गरी कोष खडा गरेको छ। यही जेठ महिनाबाट कारोवार शुरु गरेको सहकारीले छोटो समयमा सहकारीको ७ सिद्धान्तमध्ये एक सिद्धान्तलाई मेल खानेगरी राम्रो कामको शुरुवात गरेको छ।

मिर्गौला पिडित, आगालागी पिडित, बाढी–पहिरो पिडित, गरिब जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको बोलबम समितिले अब संस्थागत रूपले नै सामाजिक कार्यमा पनि सहकारीको सहभागिता होस् भन्ने उद्देश्यले यो अभियानको थालनी गरेको सहकारीका अध्यक्ष दिपेन्द्र तिवारीले बताउनुभयो।

‘संस्थाको चलायमान अवस्था हेरेर आवश्यकता परेमा ५ प्रतिशत भन्दा माथी बढाउने पनि छांै,’ अध्यक्ष तिवारीले भन्नुभयो– ‘सहकारीको पनि सामाजिक कार्यमा सेवा गर्ने उत्तरदायित्व हुन्छ।’ शेयर सदस्यलाई नाफामात्रै बाड्ने भन्दा पनि सामाजिक कार्यमा पनि लाग्नु आवश्यक रहेको तिवारीले बताउनुभयो।

विधानमै राखेर नाफाको ५ प्रतिशत कोष खडा गर्ने स्याङ्जामा यो पहिलो सहकारी रहेको बताइएको छ। १ करोड १३ लाख १४ हजार शेयर पुँजी, २ करोड ३७ लाख, ६६ हजार निक्षेप र २ करोड ९७ लाख कर्जा लगानी गरेको सहकारीले छोटो समयमा करिब ९ लाख नाफा गर्न सफल भएको छ।

सहकारीको नीति र सिद्धान्तअन्तर्गत यो सहकारीले राम्रो कामको थालनी गरेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो। सबै सहकारीले यो सहकारीबाट सिक्नु आवश्यक रहेको उदाहरण दिँदै उपप्रमुख तिवारीले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुन् आवश्यक छ भन्नुभयो। बहुउदेश्य सहकारी भएकाले सस्तो पसल पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्