प्रिमियर लिगमा अगुएरोको कीर्तिमान

0
Shares

लन्डन, (एजेन्सी) ।

अर्जेन्टिनी स्टार सर्जियो अगुएरोले कीर्तिमान बनाएको प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले गोलको वर्षा गरेको छ।
आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई उसैको मैदानमा ६–१ को फराकिलो गोलअन्तरले पराजित गरेको थियो।

सा जितसँगै सिटीका अगुएरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक तथा गोल गर्ने इंग्ल्यान्डबाहिरका खेलाडीको कीर्तिमान बनाएका हुन्। सिटीको जितमा सर्जियो अगुएरोले ह्याट्रिक तथा रियाद महारेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल थपेका थिए।

अगुएरोले प्रिमियर लिगमा व्यक्तिगत गोलसंख्या १ सय ७७ पुर्याएर फ्रान्सका थिएरी हेनरीको कीर्तिमान तोडेका थिए। हेनरीले प्रिमियर लिगमा १ सय ७५ गोलको कीर्तिमान राखेका थिए।

यस्तै प्रिमियर लिगमा अगुएरोले करियरको १२औं ह्याट्रिक गर्दै सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको रुपमा आफूलाई अग्रपंक्तिमा पुर्याए। उनले एलन शेयररको ११ ह्याट्रिकको कीर्तिमान तोडेका थिए।

सो खेलमा १८औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई शुरुआती अग्रता दिलाए। २४औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए। २८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीलाई खेलमा ३–० ले अघि पारे। त्यसपछि ४५औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमै सिटीले ४–० को आरामदायी अग्रता लिएको थियो।

त्यस्तै खेलको ५७औं मिनेटमा अगुएरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० ले अघि बढाए। ८१औं मिनेटमा अगुएरोले ह्याट्रिक पुरा गर्दा सिटी ६–० को स्थितिमा पुगेको थियो।

त्यसपछि खेलको इन्जुरी समयमा एस्टनका घाजीले पेनाल्टीमा एक गोल फर्काए पनि सिटीले ६–१ को जित निकाल्यो। जितसँगै सिटीले २२ खेलमा ४७ अंक जोडेको छ। एस्टनको भने २१ अंक छ।