पहिलो बालमैत्री गाउँपालिका बन्दै मनहरी

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाका रूपमा सोमबार घोषणा गरिने भएको छ। देशभरका ४ सय ६० गाउँपालिकामध्ये मनहरीले पहिलो बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्न लागेको हो।
गाउँपालिकाले मनहरीमा पत्रकार सम्मेलन गरी सोमबार बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको जानकारी दिएको हो।

अध्यक्ष एकराज उप्रेतीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएकोे जानकारी दिनुभयो। बालमैत्री स्थानीय शासन पद्धति अवलम्बनका लागि पूरा गर्नुपर्ने ३९ वटा सूचक गाउँपालिकाले पूरा गरी जिल्ला समन्वय समितिबाट अनुगमन गराएर प्रमाणित गरिएको गाउँपालिकाले दाबी गरेको छ।

उपाध्यक्ष मनिला विष्टले ३९ वटै सूचकमध्ये बालविवाह न्यूनीकरण र बालश्रम न्यूनीकरणका लागि गाउँपालिकाले निकै मिहेनत गर्नुपरेको बताउनुभयो। बालमैत्री घोषणापछि बालविवाह र बालश्रम न्यूनीकरण अभियानलाई सशक्त बनाइने उहाँको दाबी छ। उपाध्यक्ष विष्टका अनुसार अभियानका क्रममा ११ जोडीको बालविवाह बदर गरिएको छ।

दर्जनौंको संख्यामा रहेका निकृष्ट श्रममा आश्रित बालबालिकालाई विद्यालय पठाइएको छ।गाउँपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा ९ सय ५ गर्भवती रहेकोमा ४ पटक गर्भजाँच गराउनेको संख्या ८ सय ५८ जना र २ सय २५ वटा आइरन चक्की खानेको संख्या ८ सय १५ रहेको जानकारी गराइएको छ।

तीमध्ये दक्ष जनशक्तिबाट सुत्केरी गराउनेको संख्या ८ सय १५ थियो। उहाँले पालिकाले प्रत्येक वडामा अनुगमन गर्ने बताउँदै अभिभावकविहीन बालबालिकाका लागि पुनस्र्थापना केन्द्र निर्माण गरी उनीहरूका लागि सीप र शिक्षाको समेत व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो।
गाउँपालिकामा ८ हजार ६ सय ५५ घरधुरीको कुल ४६ हजार ८ सय ५३ जनसंख्या छ।

तीमध्ये ८ हजार १ सय १६ बालक र ७ हजार ६ सय २३ बालिका छन्। कुल घरधुुरीमध्ये स्वच्छ पिउने पानी व्यवस्था सबैमा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्र ८ हजार ६२ घरमा शौचालय रहेको पाइएको बताइएको छ। बालमैत्री गाउँपालिका घोषणाका लागि वैशाख २४ र २५ गते राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबेबाट बालमैत्री स्थानीय शासन अवलम्बन पद्धतिबारे अभिमुखीकरण गरी जेठमा कार्यपालिका बैठकद्वारा निर्णय पारित गरी गाउँसभामा पठाउने निर्णय गरिएको थियो।

असारमा निर्णय कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम पारित गरिएको र ९ वटै वडामा बालमैत्री सहजकर्ता राखेर वडा तहमा बालमैत्री स्थानीय शासनसम्बन्धी सफ्टवेयर र हार्डवेयरको काम शुरू गरिएको थियो। गाउँपालिकास्तरीय अन्तर धार्मिक सञ्जाल गठन गरी बालविवाह, बालश्रम, घरेलु हिंसा, लैंगिक हिंसा, मानव बेचबिखन, टोल विकास संस्था, महिला सहकारी, विद्यालयमा नियमितरूपमा सचेतनामूलक कार्यक्रम गरिएको थियो। गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।

देशमा पहिलो पटक गाउँपालिकास्तरमा मनहरीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेकोले सार्वजनिक बिदा दिने निर्णय गरिएको गापा अध्यक्ष उप्रेतीले बताउनुभयो। कार्यक्रम मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको चौरमा हुने छ।