जनबहालको चर्चित क्लब मछिन्द्र क्लब २०३२ सालमा आधिकारिक रुपमा डि डिभिजनबाट दर्ता भएर नेपाली फुटबलमा प्रवेश गरेको टोली हो । करिब ३० वर्षपछि क्लब ए डिभिजनमा उक्लिएको हो । ए डिभिजनमा पुगेपछि टोलीले पछाडि फर्केर हेरेको छैन । अहिलेसम्म पुग्दा ड्रिम टिम बनेको मछिन्द्र । राष्ट्रिय खेलाडीले भरिएको यो टोली जारी लिगमा उपाधि दावेदारीमध्ये एक टोली हो । टोलीलाई उपाधि दिलाउन लाग्नु भएको छ यस क्लबका अध्यक्ष प्रबोधवीर सिंह कंसाकार । नेपाल भाषा चलचित्रका कलाकार र समाजसेवी समेत रहेका कंसाकारले आफ्नो समय फुटबललाई दिनुभएको छ । उहाँले आफ्नो कार्यकालमै मछिन्द्रले लिगमा उपाधि जित्ने विश्वास गर्नु भएको छ । उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेपः
जारी लिगमा टिमको प्रदर्शन कस्तो भइरहेको छ ?
हामीले करोडौं लगानी गरेर टिम बनायौं । यो टिम कस्तो छ भनेर सबैले थाहा पनि पाइसकेको छ । हामीले भनिरहनु पनि पर्दैन कि टिम कसरी अगाडि बढिरहेको छ भनेर । ६ खेलसम्म अपराजित हुँदै अगाडि बढेको सबैले देखेको कुरा हो । हाइ प्रोफाइल खेलाडीको कारण पनि टिम शसक्त बनेको छ । हामी उपाधिको लक्ष्यतिर नै गइरहेका छौं ।
६ खेलको नतिजापश्चात तपाईँले मूल्यांकन गर्दा टिम लक्ष्यतिर नै गइरहेको लाग्छ ?
अहिलेसम्मको नतिजा हेर्दा निरास हुनु पर्ने स्थिति छैन । हामी उत्साहित नै छौं । प्रतिस्पर्धा निकै तगडा भइरहेको छ । यस्तो प्रतिस्पर्धाले गर्दा नै टिमले मेहनत पनि ज्यादै गरिरहेको छ र नतिजा पनि सकारात्मक निकालिरहेको छ । तर पनि उपाधि जित्ने सक्ने नसक्ने भन्ने सकिने अवस्था भने छैन अहिले । किनभने लिग निकै प्रतिस्पर्धामा पुगिसकेको छ । अहिलेसम्म नतिजा हेर्दा ४ टोली उपाधिको लागि अघि बढिरहेका छन् । यस्तो अवस्थामा हामीले सबै खेल जित्ने पर्ने स्थिति आएको छ । हामीले नजिक नजिक आएको टिमसँग सतर्क हुनु पर्ने अवस्था भएको छ । अंकको अन्तर फरक पनि धेरै छैन, केवल भाग्यको कुरा आउँछ यहाँ ।
टिमले कतिको अभ्यास गरिरहेको छ ?
हामीले टिमलाई कीर्तिपुरस्थित ल्याबेरोटेरी स्कूलको मैदानमा अभ्यास गराइराखेका छौं । बेहान २/३ घण्टा हाम्रा खेलाडीले अभ्यास गर्ने गरेका छन् । खेल हुँदा चाहिँ उनीहरुको अभ्यास गर्ने समय कम हुन्छ । आफ्नो मैदान भएको भए शायद धेरै अभ्यास हुने होला ।
मनाङविरुद्धको खेलमा जुन घटना घट्यो त्यसबाट केही खेलाडी कार्वाहीमा परेका छन् । यसले कतिको टिमलाई फरक पारेको छ ?
सो कार्वाहीले गर्दा प्लेइंग सेटमा फरक चाहि पारेकै छ । प्रमुख खेलाडी देवेन्द्र तामाङ, विजय धिमाल र दीपक राईले २/२ खेल्न पाउने भएनन । तर पनि हामीले उनीहरुको अनुपस्थितमा शनिबार जावलाखेलसँग जित हात पा¥यौं । त्यसमा खेलाडी र टिम कोच, व्यवस्थापनलाई धन्यवाद दिनै पर्छ । किनभने उनीहरुले जटिल अवस्थामा पनि राम्रो नतिजा निकाल्यो । वास्तवमा भन्ने हो भने त्यो घटना र कार्वाहीले खेलाडीलाई निरास बनाएको अवस्था छ । अब उनीहरुविना अर्को एउटा खेल खेल्न बाँकी छ । त्यसका लागि पनि हामी तयार छौं । यी प्रमुख खेलाडी नहुँदा पनि हाम्रो बेन्च राम्रा खेलाडी भएकाले कमै हामीलाई नोक्सान होला भन्ने लागेको हो । मेनेजर र कोचले पनि भर्पाई हुनेमा विश्वस्त तुल्याउनुभएको छ ।
त्यस्तो घटनाबारे केही भन्नुहुन्छ कि ?
घटना घटेको सबैले देखेका थिए । कसले शुरु गरेको भन्ने पनि प्रस्ट छ । त्यो नियतवश नै भएको हामीलाई लागेको छ । एउटा कुरा याद गर्नुस खेलभित्र नै झेल हुन्छ । त्यसैले यसमा केही आश्चर्य लाग्दैन । घटना नघटोस भनेर आयोजक पनि चनाखो हुनुपर्छ । क्लबहरु पनि संयमित हुनुपर्छ । खेलाडी आफैले पनि अनुुसासन बिर्सन हुँदैन । मैदानमा एक्कासी झगडा शुरु भएपछि त्यसलाई शान्त गर्न सबै लाग्नुपर्छ । विपक्षीहरुले उक्साउँछ र झगडा गराउन तम्सिन्छन् भने त्यहाँ उनीहरुको केही न केही स्वार्थ छ भन्ने छर्लङै देखिन्छ । उदाहरणका लागि एउटा विश्वकपमा जिनेदान जिदानलाई उक्साएर रातो कार्ड नै खानु पर्ने बनाइदियो । यो सबै योजनासहित हुन्छ । अस्तिको घटना पनि उस्तै नै थियो ।
क्लबले एन्फामा अपिल गर्नु भएको छ त ?
हामीले घटना घटेको अनुसार नै अपिल गर्ने हो । कार्वाही भइसकेपछि अपिलको कुनै मान्यता हुँदैन । एन्फाको अनुसासन कमिटीले निर्णय लिइसकेको छ । फिफादेखि एन्फासम्म यस्तै नै प्रक्रिया चलिआएको छ । हामीले त कार्वाही कम गर्नका लागि अपिल मात्र गर्ने हो । अन्यथा निर्णय आइसकेपछि फिर्ता भएको कही छैन । कार्वाही भएपछि सजाय फिर्ता फिफा र अन्तर्राष्ट्रिय घरेलु लिगमा भएको देखिदैन ।
तपाईँहरुले यसपटक निकै रकम खर्च गरेर ड्रिम टिम बनाउनु भयो । यति खर्च गर्नुको अर्थ के होला ?
सोच्नुस हामीले जुवा खेलिरहेका छौं, त्यसमा नाफा नोक्सान दुबै हुन सक्छन् । भन्ने हो भने फुटबल एउटा जुवा हो । हामीले जोखिम मोल लिएका छौं । अहिले हामीले खेलाडीको तलबका लागि मात्रै पनि १ करोड भन्दा बढी खर्च गरेका छौं । अरु यता उता हिसाब गर्दा डेढ करोड देखि पौने २ करोडसम्म रकम लगानी हुने देखिन आएको छ । फुटबलमा अनुमानित बजेट भने जस्तो पनि हुँदैन । भनेको डेढ करोड तर यो भन्दा बढी नै हुन जाने अवस्था छ । अब यति खर्च गरेकोमा क्लबलाई केही पनि अर्थ छैन । टिमले जित्दै गएपनि यतिका रकम रिकभर हुने अवस्था छैन । हामीले त नेपालमा बनिरहेको फुटबलको चार्मलाई मेनटेन मात्रै गर्ने हो । फुटबलबाट धेरै रकम आम्दानी गर्छु भनेर सोच्नु पनि पर्दैन । जित्दै गएमा केही रकम आम्दानी हुन्छ, तर क्लब घाटा नै हुन्छ ।
मछिन्द्रको आम्दानी के हो त ?
मछिन्द्रको आम्दानी भनेको क्लबका शुभचिन्तकले दिने सहयोग हो । प्रायोजक आउने हो । अर्काे चाहि क्लबले बजार व्यवस्थापन गरिरहेका छौ। जनबहाल क्षेत्र वरिपरिसीसी टीभी क्यामरा राखेर, सुरक्षा गार्ड दिएकोमा केही आर्जन हुन्छ । त्यहाँ वरिपरि रहेका पसलबाट केही रकम उठाउने पनि हो । अरु चाहिँ फुटबल मनपर्ने शुभचिन्तकले दिने रकम पनि हो । त्यस्तै फुटबल खेलेर जितेपछि पाइने पुरस्कार रकमले पनि क्लबलाई केही राहत दिन्छ । लगानी धेरै छ तर क्लबले घाटा सहेर खेलिरहने हो । मैले पहिले पनि भनिहाले कि फुटबल जुवा हो ।
लिगमा दर्शक कम देखिएको छ, लिगमा दर्शकको आकर्षण घटेको हो कि ?
लिगमा आकर्षण नभएको त होइन, आ–आफ्ना क्लबप्रति समर्थकको उस्तै तरिकाले आकर्षण हुन्छ । मेरो विचारमा है यसमा अन्यथा नलिनुहोला । मैले यसपालि हेर्दा मिडियाहरुको भुमिका पनि नपुगेको हो कि ? जस्तो लाग्छ । मिडियाले ग्लेमर शैलीमा समाचार लेख्नुपर्ने हो कि ? दर्शकहरु अपडेट छन् तर रंगशालामा होइनन् हातको मोबाईल र अनलाइनमा छन् । रंगशालामा आइदिएनन् मात्रै हो ।
रंगशालासम्म दर्शक तान्नका लागि के गर्नुपर्छ ?
यो आयोजकले विचार गर्नु पर्ने विषय हो । यसमा क्लबले भन्न सकिँदैन । हामीले त फुटबल हेरि दिनु भनेर आग्रह मात्रै गर्ने हो । रंगशालामा दर्शक बढाएर लिगको चार्म बढाउन एन्फाले गम्भीर छलफल गर्नुपर्छ । प्रविधिको तीव्र विकास भएको बेला दर्शकलाई रंगशालासम्म तान्न गाह्रै छ । हामीकहाँ कि त युरोपतिर जस्तो वातावरण ल्याउनुप¥यो । त्यहाँ घरमै लाइभ हेर्ने भन्दा पनि रंगशालामा गएर फुटबल हेर्नेको मजा ज्यादै छ भन्दै समर्थकहरु टिकट काट्न जान्छन् । हामीकहाँ यस्तै गर्न त केही न केही योजना ल्याउनु नै पर्छ । एन्फाले वर्षमा लिग मात्रै चलाउने काम भइरहेको छ । यसैले पनि दर्शक कम भएको हुनुपर्छ । पहिले जस्तै शुभजन्मोत्सव कप, त्रिभुवन च्यालेन्ज कप जस्ता ५/६ वटा नकआउट प्रतियोगिता गराइदिएमा शायद दर्शक बढ्छ होला ।
पहिला र अहिले लिगमा के फरक देख्नु भएको छ ?
पहिला भन्नाले ३०/४० वर्ष अगाडिको कुरा थियो । त्यतिबेला लिगको चार्म अर्कै थियो । प्रतियोगिताभरिका हरेक खेलमा नै रंगशाला भरिएका हुन्थ्यो । मलाई अहिले स्मरणीय छ त्यो रमाईलो क्षण । जब म सानो छँदा ठूला मान्छेको हात समाएर रंगशालाभित्र छिर्ने अनि प्याराफिट तल रहेको घाँसे मैदानमा बसेर फुटबल हेर्ने । त्यो घाँसे मैदान ट्रयाक र खेल मैदानकै लेभलमा हुने भएकोले फुटबल हेर्दा निकै रमाईलो हुन्थ्यो । अहिले लिगमा त्यो चार्म देखिँदैन ।
प्रतिक्रिया