समाचार प्रभावः नदिमा दिशा गर्नेलाई कारवाही गरीने


मानबहादुर बोहरा, बझाङ ।

नदि तथा खोला क्षेत्र खुला ठाउँमा दिशा गर्नेलाई कारवाही गरीने भएको छ । देश नै खुला दिशा मुक्त घोषणा भईसक्दा समेत बझाङमा खोला नाला र नदिलाई शौचालयको रुपमा प्रयोग गरीन थालिएको समाचारलाई न्युज अफ नेपालले प्रकाशित गरेपछि देउरा बजार व्यवस्थापन समितिले सेती नदी र कालंगा खोलाको अनुगमन गर्दै खुला दिशा गर्नेलाई कारवाहि गर्ने जनाएको हो ।

देउरा बजार बझाङको मात्रै नभएर छिमेकी जिल्ला डोटी र बैतडीको समेत मुख्य व्यापारीक केन्द्र हो । देउराको छेउमै सेती नदी र कालंगा खोला बगी रहेका छन् । नाक नथुनेर सहजै सेती नदिमा जान सकिने अवस्था नरहेको भन्दै देउरा बजार व्यवस्थापन समितिका अध्यक्ष जीवन बहादुर भण्डारीले भने, ‘नदिमा फोहोर बढ्दै गएको छ । खुला ठाउँमा दिशा गर्नेलाई कारवाहि हुन्छ ।’

पछिल्लो समय केदारस्युँ गाउँपालिकाको केन्द्र पनि देउरामै भएकोले चहल पहल बढ्दै गएको छ । मानिसको चहल पहल बढ्दै गए पनि बजारमा एउटा सम्म पनि सार्वजनिक शौचालय छैन् । निजी शौचालय नबनाएका घर–परिवार र व्यापारीलाई अबको एक हप्ता भित्र शौचालय बनाउँन आग्रह गरीएको अध्यक्ष भण्डारीले बताए । उनले भने, ‘अनुगमनको क्रममा देउरामा मात्रै ३२ भन्दा बढी व्यापारी र घरपरिवारले शौचालय नै नबनाएको भेटियो । शौचालय नभएका व्यापारी र घरपरिवारलाई एक हप्ता भित्र शौचालय बनाउन आग्रह गरेका छौँ ।’ समाचार प्रकाशित भएपछि देउरा बजार व्यवस्थापन समिति, शुरक्षा निकाय र स्थानीय युवाहरुले नदि र खोलामा अनुगमन गर्दै खुला ठाउँमा दिशा पिशाव नगर्न आग्रह गर्दै पानी तथा खुला ठाउँमा दिशा गर्दा हुने जोखिम र समस्याका बारेमा चेतना समेत फौलाएको देउराका स्थानीय युवा अरुण भण्डारीले बताए । उनले अझै पनि समुदायमा सचेतनाको अभाव रहेको बताएका छन् ।

जिल्लाको देउरामा मात्रै नभएर अन्य कतिपय गाउँमा पनी पानीको अभाव, अशिक्षा, अज्ञानता लगातएका कारण अझै पनि खुला ठाउँमा दिशा पिशाव हुँदै आएको छ । आवश्यकता भएको ठाउँमा पनि सार्वजनिक शौचालय नहुँदा प्रायः खोला नाला तथा सेती नदी क्षेत्रमा दिशा पिशाव बढ्दै गएको हो । नदी क्षेत्रमा खुला दिशा गरिदा पछिल्लो समय वातावरण दुर्गन्धीत बन्दै गएको छ भने नदीको पानी समेत प्रदुषिद हुँदै गएको छ ।