सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छः पूर्व अध्यक्ष ढकाल


शिक्षा पन्त, लमजुङ ।

नेपाल उद्योग बाणिज्य महासँघका पूर्व अध्यक्ष चण्डिराज ढकालले सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग बाणिज्य सँघको ३३ औँ साधरण सभा एवं ४४ औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले लमजुङ जिल्ला जलविद्युत र पर्यटनका हिसावले अगाडी रहेको भन्दै सरकारले यसलाई प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने समेत बताउनुभएको छ । पूर्व अध्यक्ष ढकालले मुलुकमा औद्योगिकरण गरी स्वदेशी उत्पादन निर्यातका लागि सरकारले नितिगत व्यवस्था र वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासँघका उपाध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक समृद्धिको लागि सरकार र निजी क्षेत्रको साझेदारी अपरिहार्य छ । उहाँले भन्नुभयो यसका लागी निजी क्षेत्रको सहकार्य र समन्वयमा मात्र राज्यले अघि सारेका योजना सफल हुनेछन् ।

कार्यक्रमकै अवसरमा संघका पूर्व कार्यसमिति सदस्य दिवंगत नन्दमान श्रेष्ठको स्मृतिमा स्थापना गरेको क्रियाशिल पुरस्कारबाट पुष्प व्यवसायी हुमा गुरुङलाई सम्मान गरेको छ । सो पुरस्कार हाल संघको कार्यसमिति सदस्य एवं दिवंगत नन्दमान श्रेष्ठको धर्मपत्नी पार्वती श्रेष्ठले स्थापना गर्नुभएको हो । पुरस्कारको राशी नगद पाँचहजार पाँच रुपैया रहेको छ ।