मदनदास श्रेष्ठ
अध्यक्ष, राष्ट्रिय जेष्ठ नागरिक महासंघ
नेपालको संविधानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक अपांगलगायत असहाय व्यक्तिहरूको लागि विशेष व्यवस्था गरिने उल्लेख छ। तर, ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमशः ह्रास हुँदै गइरहेको छ। अझ यसलाई खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न पनि चुनौती छ। यही चुनौतीलाई सामना गर्दै नेपालभरका ज्येष्ठ नागरिकका हक अधिकारलाई संरक्षित गर्न क्रियाशील नेतृत्व गरिरहनुभएका राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठसँग केन्द्र्रीय बैठकका लागि प्युठान आएका बेला नेपाल समाचारपत्रका लागि सलिम अन्सारीले गरेको कुराकानीको सारसंक्षेप :
प्युठानमा सम्भवतः पहिलोपटक आउनुभएको छ, कस्तो लाग्यो ?
हो एकदम पहिलो पटक आएको। स्वर्गद्वारी हिन्दूहरूको ज्यादै महत्वपूर्ण धार्मिक स्थल हो। यो ठाउँमा पाइला टेक्न पाउँदा मन ज्यादै विभोर र आनन्द महसुस गरेको छु।
यहाँको अनुभवमा नेपालका ज्येष्ठ नागरिकले भोग्नुपरेका समस्या के कस्ता छन ?
ज्येष्ठ नागरिकले धेरै समस्या भोगिरहेका छन्। सम्भवतः उनीहरूले राम्रो आहार विहार, लालनपालन समयमै नपाउनु एउटा समस्या छ। अर्को परिवारबाट छुट्टिएर बस्नुपर्ने केही ज्येष्ठ नागरिहरूको पीडा पनि अलग्गै छ।
केही साम्रान्त परिवारमा अझ ज्येष्ठ नागरिकको सम्पत्ति छ, पैसा छ, मान प्रतिष्ठा छ तर उनीहरूका सन्तान सबै विदेशमा जाँदा उनीहरू एक्लो महसुस गरेर आलिशान भवनमा बस्छन्।
तिनीहरूको अवस्था ज्यादै पीडादायिक छ। त्यस्तै दुव्र्यवहारको अवस्था छ। स्वास्थ्य समस्या छ। यी विविध कारणले ज्येष्ठ नागरिकहरू ग्रसित छन्।
तपाईंहरूले तत्काल वकालत गर्नुपर्ने कुरा के के देख्नुभएको छ ?
विभिन्न सरकारले पटकपटक कानुन बनाए। ती कानुनहरू कार्यान्वयन हुन सकेनन्। २०६३को अन्तरिम संविधान बन्यो। त्यसको लगत्तै त्यसको संशोधित ऐन आए। त्यो ऐनमा ज्येष्ठ नागरिकका समस्या र उनीहरूलाई कानुनले पनि त्यो हक अधिकार सुनिश्चित गरोस् भनेर हामी ज्येष्ठ नागरिक महासंघ, सम्बन्धित निकाय र सरकारसँग पटक पटक बसेर संशोधित कानुन अब विधेयकको रूपमा पेस भएको छ।
त्यो कानुनले अबका छोराछोरीले बाबुआमालाई घरमै पाल्नुपर्ने वातावरण सिर्जना गर्ने, घरमा पाल्न नसकेर बाबु आमालाई बाध्यात्मक हिसाबले आश्रममा, या बेवारिसेरूपमा उनीहरूलाई अब राख्न नपाइने यी विभिन्न प्रावधानहरू पनि आउँदैछन।
यी कुराहरूमा हामीले सरकारलाई सुझाएका छौं। बाबुआमालाई राम्रोसँग पालन नगरेको खण्डमा छोरा, बुहारी या उसका सन्तानहरूलाई बोलाएर मिलापत्र गराउने त्यसले पनि भएन भने कानुनी सजायको भागिदार गराउने भन्ने अहिलेको संशोधित ऐनमा छ।
यसले गर्दा परिवारहरूमा अझ बैमनस्यता बढ्छ कि।छोराछोरीको विरुद्ध उजुरी गर्दा झन् घरमा दरार रहन सक्छ है। यसलाई कसरी सुल्झाउने ? भन्ने कुरा पनि विचार विमर्शमा छ। अर्को कुरा आफ्नो सन्तानले कमाएको १० प्रतिशत कमाइ बाबुआमाको खातामा राखिदिनुपर्ने कुरा पनि उठेको छ।
कतिपयको कमाइधमाइ नभएका सन्तानले के गर्ने ? भन्ने पनि कही कही कुरा आएको छ। अर्को पाटो के छ भने हामीले कमाएको कमाइबाट बुबाआमालाई केही खाता खोलेर पैसा दिई नै सक्यौ भने अब हामीले बुबाआमालाई हेरिहनुपर्ने हामीलाई कुनै बाध्यता नपर्ला नि। हामीले किन हेर्नुपर्यो ? भन्ने कुराहरू पनि आएको छ। यसमा पनि विचार विमर्श हुँदैछ।
ज्येष्ठ नागरिकहरूले सरकारले तोकेअनुसार सहुलियत पाउन सकिरहेका छैनन्। यो समस्यालाई निराकरण गर्न प्रयासहरू के के भए ?
सरकारी ऐन कानुन तथा नीतिहरू छ ५० प्रतिशत औषधी उपचारमा छुट दिने। निजी र सरकारी केही अस्पतालले दिई पनि राखेको छ। यातायातको कुरा गर्दा सरकारी यातायातले त दिई नै राखेको छ।
निजी यातायात व्यवसायीले सरकारले हामीलाई हाम्रा गाडी आयात गर्ने बेलामा केही छुट दिएको भए, त्यसको शोधभर्ना दिएको भए, माग गरेबमोजिमको सुविधा ज्येष्ठ नागरिकहरूलाई दिन सक्थ्यौं।
तर अहिले हामीले निजी तवरबाट सञ्चालन गरिरहेकोले मर्का पर्छ भन्ने कुराहरू उनिहरूले गरिरहेका छन्। निजी यातायात व्यवसायीसँग हामीले पटक पटक सरकारका प्रतिनिधि र निजी व्यापारी संस्थाका प्रतिनिधि राखेर हामीले धेरै कुराहरू गरिराखेका छौं।
विस्तारै विस्तारै यो पनि सुल्झिँदै छ। यद्यपि टुंगो लागेको छैन।
जस्तो हवाई यातायात भनौ न, यो सुविधा पाउन झन्झटिलो भयो भन्ने ज्येष्ठ नागरिकहरूको गुनासो छ, उनीहरू सन्तुष्ट छनन्। अब यसलाई सर्वसुलभ र सजिलो प्रक्रियाबाट हवाई टिकट दिने व्यवस्था गर्नुपर्यो भनेर हामीले पनि भनिराखेका छौं।
७२ वर्षको उमेरमा पनि राष्ट्रिय नेटवर्क भएको ज्येष्ठ नागरिक महासंघको सक्रियरूपमा नेतृत्व गर्न यहाँलाई के कुराले प्रेरित गर्यो ?
म सामाजिक क्रियाकलापमा पहिलेदेखि नै लागिरहेको थिए। मैले कस्तो खालको सामाजिक क्रियाकलाप गर्दा ठिक होला भन्ने सोचें। अन्ततः म राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ बन्नुभन्दा अगाडि ज्येष्ठ नागरिक सञ्जाल थियो।
यो सञ्जाल हाम्रा ज्येष्ठ नागरिकका बारेमा बोल्ने र ज्येष्ठ नगरिकको हक अधिकारको बोल्ने संस्थाहरू रहेनछ प्राडा. लीलादेवी केसी जो त्रिभुवन विश्वविद्यालयमा पढाउनुहुन्थ्यो उहाँको नेतृत्वमा २०४४ सालमा पहिलो प्रौढ शिक्षा भनेर संस्था खोल्नुभएछ।
अनि त्यसैबाट ज्येष्ठ नागरिकको लागि पनि हामीले केही न केही बोल्दिनुपर्ने आयो। जस्तै युवक संगठन छ, महिला संगठन छ, बाल संगठन छ, विभिन्न संगठन छ तर ज्येष्ठ नागरिकको बारेमा बोल्ने कोही पनि छैन भनेर उहाँले त्यतिखेर हुतरामा वैद्य, डा. गौरिशंकरलाल दास, डा. राधाकृष्ण जोशी जस्ता व्यक्तिहरू बसेर ज्येष्ठ नागरिकहरको हक अधिकारका लागि बोल्ने भनेर ज्येष्ठ नागरिक सञ्जालको स्थापना गर्नुभयो।
त्यो सञ्जालमा म पनि पछि २०६६ सालमा आबद्ध भए। आबद्ध भएको कारणले अनि विस्तारै विस्तारै ज्येष्ठ नागरिकको हक अधिकार, ज्येष्ठ नागरिकको सेवा सुविधाको लागि बोल्दिने संस्थाको नेतृत्व लिने अवसर पनि पाएँ।
अहिले ज्येष्ठ नागरिकको हक अधिकारभन्दा पनि मैले ज्येष्ठ नागरिकहरूलाई सहजरूपमा जीवन यापन गर्ने वातावरण बनाउने तिर लागेको छु। ज्येष्ठ नागरिकसँग चाहिने आवश्यक कुराहरू सरकारले राज्यले दिनुपर्ने कुराहरूतिर हामी लागेका छौं।
ज्येष्ठ नागरिकको पक्षमा भइरहेका पहलका बारे बताइदिनुहोस न ?
अहिले सरकारले ज्येष्ठ नागरिकका लागि भनेर स्वास्थ्य बीमा बोर्ड भनेर सरकारी स्तरमा गठन गरेको छ। स्वास्थ्य बीमाको प्युठानसहित विभिन्न जिल्लामा लागू पनि भएको छ।
अहिले हामी अर्को अभियानमा पनि लागेका छौं ज्येष्ठ नागरिकहरूको सम्पत्ति छ, जायजेथा छ। घर छ, जग्गा जमिन छ, तर ज्येष्ठ नागरिकको सन्तान कोही पनि छैन।
उनीहरू बाँचुन्जेल केही काम गरेर खानको लागि ज्येष्ठ नागरिकहरूले आफ्नो जग्गा जमिन बैंकमा राखेर ऋण माग्न गयो भने ज्येष्ठ नागरिकलाई त्यो सुविधा दिने गरेको छैन।
यसको बारेमा पनि अलि सहजरूपमा उनीहरूले आफ्नो सम्पति राखेर व्यवसाय गर्छु भनेपछि ज्येष्ठ नागरिकहरूलाई ऋण किन नदिने त ? दिनुपर्छ। यो विषयमा पनि हामी अहिले पहल गरिराखेका छौं।
६० वर्ष पुगेपछि तपार्इंलाई बीमाले जीवन बीमा पनि गरिदिँदैन। समाजले अब यो केही पनि होइन, काम लाग्दैन भनेर समाजले अलिकति हेपाहा प्रवृत्तिले हेरेको हुनाले यो प्रवृत्ति रोक्नुपर्छ भन्ने हिसाबमा पनि हामी लागिरहेका छांै।
प्रसंग बदलौं, यहाँको अर्को पाटो नेपाली नाट्य कला क्षेत्र पनि छ। , यसमा होमिने प्रेरणा कसरी मिल्यो ?
मेरो घर दोलखा, त्यतिखेरको पूर्व दुई नम्बर दोलखा भन्ने चलन थियो। त्यतिखेर यातायातको सुविधा नहुँदा दोलखाबाट काठमाडौं आउन हिँडेर सात दिन लाग्थ्यो। म त हिँडेरै धेरै चोटी दोलखा काठमाडौं पुगको छु।
त्यतिखेर काठमाडौंलाई नेपाल भनिथ्यो। दोलखा जिल्लाको एउटा पुरानो ठूलो नेवारहरू रहेको बस्ती अभयपुर। त्यहाँ नेवारहरूको विभिन्न चाड पर्व जात्राहरू पनि भइरहने। मनोरञ्जन लिन नाटकहरू गर्ने गर्दथे। त्यहाँदेखि नाटकमा प्रभावित भए।
त्यसपछि काठमाडौं आइपुगेपछि २०२२ सालतिर रंगमञ्चमा एउटा नाटक गर्ने अवसर पाएँ। त्यो नाटक गर्दा दुई जना व्यक्तिहरूले हेर्नु भएको रहेछ। पर्दा बन्द भएपछि उहाँहरू स्टेजमै आउनुभयो। ओहो तपाईंको अभिनय त ज्यादै राम्रो लाग्यो। तपाईंको स्वर पनि एकदमै माइक अनुकूलको छ, भनेर भन्नुभयो।
अनि मैले हवस धन्यवाद छ भने। यहाँ चाहिँ भनेर मैले सोधें। उहाँ श्यामदास वैष्णव र जितेन्द्र महत अभिलाषी। वैष्णव त्यो बेलाको रेडियो नेपालको नाटक निर्देशक। त्यो बेला सांस्कृतिक विभागबाट निस्कने हाम्रो संस्कृति पत्रिकाको सम्पादक पनि हुनुहुँदोरहेछ। अनि उहाँले तपाईंको स्वर एकदमै राम्रो रहेछ। रेडियो नेपालमा नाटक गर्ने चाहना छ भने रेडियो नेपाल आउनुहोस् भन्नुभयो।
अनि मैले ‘के खोज्छस् कानो आँखो’ भने जस्तै रेडियो नेपाल कसरी प्रवेश गर्ने भन्ने सोच राखिराथें उहाँले नै बोलाउनुभयो। त्यसरी मैले रेडियो नेपालमा निरन्तर रेडियो नाटकहरू गर्दै गए। गर्दै जाँदा अनि पछिल्लो पटक गएर रेडियो नेपालमा जागिरै खाएँ।
अनि त्यसरी विस्तारै रेडियो नेपालमा स्थायी जागिरे भएर नाटक विभाग शाखाको नाटक निर्देशक भएर काम गर्ने मौका पाएँ। त्यसपछि विभिन्न नाटक, धार्मिक नाटकहरू गर्न थाले।
अनि अर्को एउटा कृषि सूचना महाशाखाबाट प्रशारण हुने ‘जेटिए र बूढी आमाको गन्थन’ त्यो चाहि कृषिमा आधारित, नयाँ प्रविधि र आधुनिक खेतीको बारेमा आम प्रत्यक्ष पनि यहाँले अभिनय गर्नुभएको छ ?
छ, मेरो आधारै रंगमञ्च हो। मैले अभिनय गरेको रंगमञ्च विजयबहादुर मल्लको ‘कंकाल’, पत्थरको कथा, भीमनिधि तिवारीको गंगालालको चिता मैले धेरैबटा रंगमञ्चमा अभिनय गरेको छुँ। अनि मैले निर्देशन पनि गर्या छुँ, धेरै नाटकमा।
अनि त्यपछि नेपालमा टेलिभिजनको स्थापना भएपछि टेलिभिजनमा पनि लागेको छु। टेलिभिजनमा पनि मैले धेर वित्त चित्र बनाएँ। टेलिफिल्म बनाएँ। छोटो टेलिफिल्म, लामो धाराबाहिक टेलिफिल्म धेरै टेलिफिल्ममा मैले काम गरे।
रेडियोमा मलाई मैसासुर भनेर मान्छेहरूले चिन्छन्। जब दशै धार्मिक कार्यक्रमहरू भएपछि मेरो रेडियोमा आउने हाँसोले मलाई धेरैले चिन्न थाले। रेडियोले मलाई रेडियो कलाकार भनेर राष्ट्रव्यापीरूपमा स्थापित गर्यो।
पछि टेलिभिजन आएपछि ए, मदनदास भनेको यो पो रहेछ, रेडियोमा बोल्ने यो भनेर अनुहारसहित टेलिभिजनमा आयो। त्यले झन् मान्छेहरू तपार्इंले राम्रो अभिनय गर्नुहुँदो रहेछ भन्न थाले यसले मेरो हौसला बढ्दै गयो।
कला क्षेत्रबाट मैले मान, इज्जत प्रतिष्ठा पाए। त्यही मान इज्जत प्रतिष्ठाको कारणले नै म सामाजिक काम गर्न प्रेरित भएँ। मलाई सामाजिक काम गर्न ज्यादै सजिलो भयो।
अन्तमा केही भन्नुहुन्छ कि ?
हामीले जहिले पनि सकारात्मक सोच राखेर काम गर्यौं भने समाजमा हामीले केही न केही आफ्नो नाम स्थापित गर्न सक्छौं। मैले पनि विभिन्न चलचित्र, नाटक, रंगमञ्च र विभिन्न पेसाअन्तर्गत मैले काम गरें।
आम दर्शकहरूको मनलाई जित्न सके र मदनदास श्रेष्ठ भनेर स्थापित हुन सकें। त्यो कसको हो भने आम जनता र आम दर्शकहरूको मायाले नै हो। त्यसैले यसको श्रेय उहाँलाई दिन्छु। जनताले मलाई दिएको यो मायाको बदला मैले के दिने त ?
मैले यो विभिन्न क्षेत्रबाट आर्जन गरेको नामबाट मैले सामाजिक कार्यकर्ताको रूपमा समाजमा केही काम गर्ने प्रयासहरू गरे। त्यसमा केही हदसम्म सफलता पाएको छु।
मानिसहरूले आफ्नो ख्यातीलाई पैसामा परिणत गर्छन्। मैले आफ्नो ख्यातीलाई समाजमा लगानी गर्छु भनेर कुनै सामाजिक काम लिएर आउँछु। पुनः प्युठानवासी र तपाईंहरूसँग भेट गर्ने छु।
प्रतिक्रिया