कालजयी सिर्जना दिव्योपदेशको प्रासङ्गिकता 



डिल्लीराम मिश्र 
आधुनिक नेपालका राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको कृति दिव्योपदेश नेपाली जनमानसको सिङ्गो भूगोल संरचना हो। नेपाली साहित्यिक फाँटको पहिलो सुन्दर निबन्धकला पनि हो। नेपाल एकीकरण अभियान यात्राको कठिन दायित्व निर्वाहका क्रममा पृथ्वीनारायण शाहको निधन हुनु केही समयअघि नुवाकोट दरबारमा आफ्ना भाइभारदारसमक्ष सन्देशमूलकरूपमा व्यक्त गरिएका दिव्योपदेशभित्रका महान् विचार नेपाल र नेपालीको हितमा आज पनि उत्तिकै सान्दर्भिक छन्।
पृथ्वीनारायण शाह नेपाली राष्ट्र र समाजका आभूषण हुन्। नेपालको अस्तित्व र अस्मितालाई युग–युगान्तरसम्म जीवन्त राख्न उनले स–साना राज्यहरूमा टुक्रिएर रहेको तत्कालीन नेपाललाई सिङ्गो राष्ट्र बनाउने अभियानमा नेपालको एकीकरण आरम्भ गरेका थिए, जसमा जय–पराजयको सवाल थिएन, सवाल केवल एकीकरणको मात्र थियो।
मेरो साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया, यो फूलबारीको छोटाबडा चारै जात छत्तीसै वर्णले यो असल हिन्दुस्थान हो, आफ्ना कुलधर्म नछोड्नू पृथ्वीनारायण शाहका दिव्योपदेश हुन्।
त्यसै गरी प्रजा मोटा भया दरबार बलियो हुन्या छ, राजाका भण्डार भन्याका रैतानहरू हुन्, नियानिसाफ बिगान्र्या भन्याको घूस दिन्या र घूस खान्या यी दुईको ता धन जीव गरिलियाको पनि पाप छैन यी राजाका महासतुर हुन्, जनता जोदेखि राजी हुन्छन् उसैलाई पद सुम्पनू आदिजस्ता सारपूर्ण तथ्य राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका महत्वपूर्ण दिव्योपदेश हुन्।
पृथ्वीनारायण शाहका दर्जनौं दिव्योपदेशलाई चिन्तन–मनन गरेको भए मात्र पनि आज मुलुक यो विचलनको अवस्थामा पुग्ने थिएन। घूस लिने र दिने दुवै राष्ट्रका अपराधी र भ्रष्टाचारी हुन्। आज देशमा भ्रष्टाचार संस्कृति संस्थागतरूपमा यति मौलाएको छ कि यसले देश र समाजलाई नै आक्रान्त बनाएको छ।

आजीवन राष्ट्रनिर्माणको युद्धमै समय खर्चेका पृथ्वीनारायण शाह सदाझैँ जाडो छल्न वि.सं. १८३१ पुसमा आफ्नो पुरानो अन्तरिम राजधानी नुवाकोट गएको बेला सिकिस्त बिरामी परेका थिए। त्यतिखेर उनले नुवाकोट दरबारमा आफ्ना सबै भाइभारदारलाई बोलाएर तीन दिनसम्म नेपालको भू–राजनीतिक अवस्था, सामाजिक जीवन प्रतिरक्षा र विकास प्रसङ्गमा सारपूर्ण कुरा भनेका थिए।
तिनलाई दिव्योपदेश शीर्षकमा सङ्कलन गरिएको छ। यस दिव्योपदेशको सङ्कलन इतिहास शिरोमणि बाबुराम आचार्य र इतिहासकार योगी नरहरिनाथजस्ता प्रकाण्ड विद्वान्द्वारा गरिएको हो। पृथ्वीनारायण शाहद्वारा दिव्योपदेशमा आफ्ना दूरदृष्टिहरू जे–जस्ता भाव तथा विचारहरूमा रहेको कालजयी सिर्जना प्रखर राष्ट्रवादको रूपमा अभिव्यक्त हुन पुगेको छ।
आजको हाम्रो सुन्दर, स्वाभिमान तथा मातृभूमि नेपाल निर्माण गर्ने सुयोग्य परिकल्पनाकार पृथ्वीनारायण शाहको निधन वि.सं. १८३१ माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटमा भएको हो। उनको जन्म भने वि.सं. १७७९ पुस २७ गते गोरखा दरबारमा भएको थियो।
आजभन्दा झन्डै २४८ वर्षपहिले दरबारमा मात्र सीमित रहेको दिव्योपदेश विगत ६८ वर्षदेखि लिखतरूपमा सार्वजनिक भएको हो।

दिव्योपदेशका बारेमा प्रशस्त व्याख्या, विवेचना, विश्लेषण र अध्ययन भएपछि यस समयावधिमा अनेकौं संस्करणहरू सार्वजनिक भएका छन्। राष्ट्रिय हितमूलक विचार, धारणा र अभिव्यक्ति पक्षका साथसाथै भाषिक शैलीका सामीप्यता र अमरत्वले गर्दा पृथ्वीनारायणको दिव्योपदेश नेपाली वाङ्मयको शृङ्खलामा सर्वोपरि स्थान छ।

सीमित परिधिमा कैयौं वर्षसम्म पाण्डुलिपिका रूपमा अँध्यारो दराजमा रहेको कालजयी सिर्जना दिव्योपदेशलाई २००९ सालमा सम्पादन गरी मुद्रित गरेपछि नेपाली अध्येता र पाठकमाझ सार्वजनिक भएको हो। छ दशकअगाडि मात्र नेपाली जनसमुदायबीच सार्वजनिक भएको दिव्योपदेशमा व्यक्त विचार नेपाल र नेपालीका लागि राष्ट्रिय घोषणापत्रसमान स्थापित हुन पुगेको छ।
राज्य व्यवस्था सञ्चालनका सन्दर्भमा रहेका प्रमुख तीन आधारभूत पक्ष आर्थिक विकास, परराष्ट्र नीति र राजनीतिक प्रणालीको बारेमा दिव्योपदेशले मूर्त व्याख्या गरेको छ।आज यो देशमा २०६२/०६३ को राजनीतिक परिवर्तनपश्चात् विकसित भएको बाँदरे चरित्रबाट हाम्रा तमाम वीर पुर्खाहरूले आर्जन गरेको योगदानप्रति घोर अपमान गर्ने काम भइरहेको छ।
इतिहासका जहिले पनि सकारात्मक र नकारात्मक दुई पाटा हुन्छन्। त्यसलाई समयनिरपेक्ष होइन समयसापेक्ष भएर जहाँ र जहिले पनि मूल्याङकन गरिन्छ, तर यहाँ त राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलगायत हाम्रा कैयौं अग्रजहरूलाई गालीगलोज गरेर आक्रोश पोख्ने क्रममा इतिहासलाई सत्तोसराप्नेहरूले आफूलाई महान् सम्झन्छन्।

पृथ्वीनारायण शाहको योगदान यो राष्ट्रको पक्षमा कति समर्पित छ त्यसबारे अध्ययन, मूल्याङ्कन गर्ने अलिकति पनि क्षमता उनीहरूमा देखिँदैन। इतिहासको सकारात्मक पाटोलाई सहज चिन्तन गर्दै अगाडिको सुगमयात्रा बनाउँदै जाने हो, तर केही पठित पाखण्डीहरूद्वारा केवल नकारात्मक चिन्तन मात्र समाजलाई पस्कने काम भइरहेको छ। समयको गति कहाँबाट कहाँ पुगिसक्यो ?

इतिहासको पेरिफेरिमा २४० वर्षको इतिहासलाई सत्तोसराप गरेर नथाक्नेहरूले नेपाली समाजलाई एउटा जवाफ दिन सक्नुपर्यो, त्यो के भने वि.सं. १८२५ भन्दा अगाडि रहेका भुरे–टाकुरे राज्य–रजौटासहितको नेपाल ठीक थियो ? के आज उनीहरूले त्यही खोजेका हुन् ?

इतिहास विरोधीहरूले यसको जवाफ दिन सक्नुपर्यो। हैन भने पृथ्वीनारायणको योगदानलाई चरम अपमान गर्दै विष वमन गर्नेहरूसँग के यो आँट छ ? यसलाई समर्थन गर्ने तागत र क्षमता के उनीहरूमा छ ? प्रश्न यहाँनेर छ।
एकातिर नेपालको एकीकरण ठीक छ, भन्ने तर पृथ्वीनारायण शाह ठीक छैनन् भन्नेहरूसँग के प्राज्ञिक चिन्तन छ ? राष्ट्रनिर्माणको अचुक औषधि र अस्त्रको रूपमा रहेको उत्कृष्ट सिर्जना दिव्योपदेश पृथ्वीनारायण शाहको कृति नै होइन भन्ने उग्र पाखण्डी लेखकजस्ता सुण्डमुण्डहरूले जवाफ दिन सक्नुपर्यो। आग्रह–पूर्वाग्रहको पनि एउटा सीमा हुन्छ।
सिङ्गो राष्ट्रको निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदानप्रति प्रश्न उठाउने उनीहरूको प्राज्ञिक हैसियत के ? दिव्योपदेशका बारेमा उनीहरूले एउटा स्वतन्त्र नेपाली भएर कहिल्यै गम्भीर अध्ययन गरेका छन् ? शायद नेपालको एकीकरण, पृथ्वीनारायण शाह, हाम्रा अग्रज र दिव्यापदेशप्रति आक्रोश पोखिरहँदा उनीहरूको पछाडि मलजल दिने युरो, डलर, पाउन्ड र भारु बोलेको हुनुपर्छ।
नेपाली वाङ्मय क्षेत्रका विराट प्रतिभा इतिहास शिरोमणि बाबुराम आचार्य, प्रकाण्ड विद्वान् नयराज पन्त र इतिहासकार सूर्यविक्रम ज्ञवालीले दिव्योपदेशकै सन्दर्भलाई लिएर लेखिएका नेपाली कृतिअन्तर्गत क्रमशः बाबुराम आचार्यको श्री ५ पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी, नयराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेश र सूर्यविक्रम ज्ञवालीको श्री ५ पृथ्वीनारायण शाह रहेका छन्।
यी कृतिमा गरिएको व्याख्यागत आधारलाई हेर्दा बाबुराम आचार्यले पृथ्वीनारायणको सङ्क्षिप्त जीवनीमा आत्मकेन्द्रीत भएर दिव्योपदेशमा अन्तर्निहित अर्थनीति, परराष्ट्रनीति, राज्यप्रणाली, न्यायव्यवस्था र सैन्यव्यवस्था आदि विषयका बारेमा व्यापक चर्चा गरिएको छ। यस्तै नयराज पन्तले पृथ्वीनारायण शाहको उपदेशमा दिव्योपदेशको इतिहास पक्षबारे प्रकाश पारेका छन्।
नयराज पन्तको यस कृतिले शब्दार्थगत अध्ययनसमेत गरेको छ। यसै गरी इतिहासकार सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहका दिव्योपदेशलाई लिएर अर्थप्रणालीसम्बन्धी व्यापक अध्ययन गरेका छन्। नेपाली साहित्यको अमर र कालजयी कृति दिव्योपदेशबारे प्रशस्तै अध्ययन, अनुसन्धान, व्याख्या, विवेचना, विश्लेषण र समालोचनाका सयौं पृष्ठहरू सार्वजनिक भएका छन्।
यति हुँदाहुँदै पनि राज्य सञ्चालन गर्नेहरूले समयसापेक्षतामा मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक, परराष्ट्रनीति, आर्थिक, प्रशासनिक, शैक्षिकलगायत यावत् पक्षहरूमा आजसम्म पनि ध्यान पुर्याउन नसक्नु कहाँसम्मको निरीहता र विवेकहीनता हो। अत्यन्तै कठिन र जटिल परिस्थितिभित्र इतिहासको एक कालखण्डमा नेपाली राष्ट्रियता र राष्ट्रहितको पक्षमा अचुक सूत्र बनेर रहेको कालजयी कृति दिव्योपदेश नेपाल एकीकरण अभियानकै महायज्ञमा घटित–घटना एवं जय–पराजय आदिबारे प्रस्तुत गरिएको रोचक, मार्मिक र वास्तविकतामा आधारित आजको ऐतिहासिक दस्ताबेज हो।
राष्ट्रिय एकता दिवस पुस २७ को अवसरमा पृथ्वीनारायण शाहको दिव्योपदेशको महत्वलाई मात्र आत्मसात् गर्दा मात्र पनि प्रत्येक नेपालीको मन हल्का, आनन्दित र पवित्र भएको अनुभूति हुन्छ। इतिहासको कालखण्डमा पृथ्वीनारायणजस्ता युगपुरुष विरलै जन्मन्छन्। त्यसैले राष्ट्रनिर्माणका पक्षमा उनले गरेको सकारात्मक, रचनात्मक र निर्माणात्मक योगदानलाई सदा सम्झिरहनु राष्ट्रवासी नागरिकको आज पनि उत्तिकै दायित्व र कर्तव्यबोधभित्र पर्छ। पृथ्वीनारायण शाह नेपाली राष्ट्र र समाजका आभूषण हुन्।
नेपालको अस्तित्व र अस्मितालाई युग–युगान्तरसम्म जीवन्त राख्न उनले स–साना राज्यहरूमा टुक्रिएर रहेको तत्कालीन नेपाललाई सिङ्गो राष्ट्र बनाउने अभियानमा नेपालको एकीकरण आरम्भ गरेका थिए, जसमा जय–पराजयको सवाल थिएन, सवाल केवल एकीकरणको मात्र थियो।

युगद्रष्टा र दिव्योपदेशका स्रष्टा पृथ्वीनारायणको राष्ट्रहित र राष्ट्रचिन्तन पक्षलाई मात्र आत्मसात् गरेको भए पनि आज देशले जुन कारुणिक पीडा, दुर्दिन र अधोगति भोगिरहेको छ, त्यो कल्पनासम्म गर्नुपर्ने अवस्था आउने थिएन। लोक–जनमतमा विश्वास राख्ने आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका यावत् योगदानलाई ओझेलमा पार्नका लागि मात्र पनि आज कथित षड्यन्त्रहरू भइरहेका छन्, तर राष्ट्रको निर्माण गर्ने विराट व्यक्तित्व पृथ्वीनारायण शाहको योगदानलाई नकारात्मकरूपमा प्रस्तुत गर्न खोज्नु एउटा देशभक्त नेपालीको किमार्थ धर्म होइन।
आफ्ना अग्रजहरूको योगदानको सम्मान नगर्नेहरूले सधैँ इतिहासलाई मात्र सरापेर देशको विकास के सम्भव छ ? त्यसैले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका वीर पुरुष र विद्वान्हरूले समेत अत्यधिकरूपमा प्रशंसा र श्रद्धा गरेका पृथ्वीनारायण शाह नेपाल र नेपालीका कालजयी युगद्रष्टा हुन्, तर आजका सत्ताधारीहरूले समय र इतिहासको महत्वलाई नबुझ्दा देश अधोगतिमा झरेको तथ्यप्रति विमति रहँदैन।

प्रतिक्रिया दिनुहोस्