चिनियाँ सहयोगमा अत्याधुनिक विद्यालय भवन निर्माण

0
Shares

चौतारा । विसं २०७२ सालको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि अस्थायी टहराबाट पठनपाठन हुँदै आएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बराम्ची ढाँडेस्थित रत्नराज्य माविको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रु एक अर्बको लगानीमा छात्रावाससहितको अत्याधुनिक तीनवटा भवनको निर्माणसम्पन्न भएको हो ।

कूल ६१ रोपनी क्षेत्रफलमा निर्माण भएको भवनमध्ये दुई भवनमा पठनपाठन र एउटा भवनमा ६०० जना बस्न मिल्ने छात्रावास भवन रहेको छ । जम्मा १२४ कोठा रहेको भवनमा सभाहल, कम्युटर ल्याब, फर्निचरसहित तातोचिसो पानीको समेत व्यवस्था मिलाउनुका साथै कम्पाउन्ड पर्खालसहितको खेलमैदानसमेत निर्माण गरिएको गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको अति दुर्गम पर्ने सो पालिकाअन्तर्गत साबिक गुम्बा र गोल्चे गाविसका चौँरीपालक किसानका पठनपाठनबाट वञ्चित, अपाङ्ग तथा अभिभावकविहीन विद्यार्थीलाई समेत निःशुल्क रुपमा छात्रवासमा राखिनेछ । उनीहरूको सबै खर्च गाउँपालिकाले नै व्यहोर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । भवन निर्माणका लागि स्थानीयस्तरमा उपलब्ध हुने पानी र बालुवाबाहेक सम्पूर्ण निर्माणसम्बन्धी सामग्री चीनबाटै ल्याइएको थियो । उक्त विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत रहेको पालिकाले जानकारी दिएको छ ।