जनशक्ति अभावमा ट्राफिक प्रहरी

0
Shares

सरोज यादव, विराटनगर । 

प्रदेश १ को रजधानी रहेको विराटनगर महानगरमा आधा जनशक्तिको भरमा ट्राफिक व्यवस्थापन गर्नु परेकाले जताततै समस्या देखिएको छ । १ नम्बर प्रदेश सरकारले सडक सुशासनको नारा दिएपनि ट्राफिक प्रहरीमा दरबन्दी थोरै रहेकाले महानगरको ट्राफिक व्यवस्थापन हुन सकेको छैन । मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राकेश पोद्दारका अनुसार महानगरभित्रै ४० जना भन्दा बढी ट्राफिक प्रहरीको आवश्यकता छ । तर १५ जना जतिको भरमा पूरै महानगरको ट्राफिक व्यवस्थापन मिलाउनु पर्ने बाध्यता छ ।

शनिहाट चौक, उच्च अदालत चौक, एयरपोर्टमा, मुख्यमन्त्री निवास अगाडि, नोबेल अस्पताल, सातघुम्ती आदि ठाउँ जहाँ ट्राफिक प्रहरी राख्न आवश्यक छ जनशक्ति नहुँदा ती ठाउँहरूमा ट्राफिक प्रहरी खटाइएको छैन । अनियन्त्रित रूपमा बढिरहेको सिटी सफारिको संख्याले ट्राफिक प्रहरीलाई थप समस्या दिएको छ । विराटनगरभित्र मात्रै ८ हजारको हाराहारीमा तीन चक्के गाडी चल्ने गर्दछन् । भारत तथा अन्य मुलुकबाट आयात भएको माल बस्तु ढुवानी गर्ने गाडीका लागि विराटनगरमा बाई पास रोडको व्यवस्था छैन । कछुवाको गतिमा निर्माण कार्य भैरहेको चक्रपथको रानी–नेमुवाको भागलाई चाँडो निर्माण सम्पन्न गरेर त्यसैलाई बाई पास रोड बनाउने हो भने पनि विराटनगर बजार भित्रको ट्राफिक जाम कम गर्न मद्दत मिल्नेमा त्यसतर्फ कसैको ध्यान गएको छैन ।

त्यस्तै विराटनगर बजारभित्र गाडी पार्किङको समस्या छ । निजी खाली जग्गामा महानगरपालिकाले भाडामा लिएर भएपनि सशुल्क पार्किङको व्यवस्था गरिदिने हो भने त्यसबाट पनि बजार भित्रको ट्राफिक व्यवस्थापन गर्न केही सहज हुने देखिन्छ । तर महानगरपालिकाले ट्राफिक व्यवस्थापनतर्फ ध्यान दिएको छैन । महानगरले ध्यान नदिएकै कारणले बजारको फुटपाथ खाली हुन नसकेको हो । विराटनगर १ नम्बर प्रदेशको राजधानी भएर पनि सडक निर्माणमा भैरहेको ढिलाई र अव्यवस्थित ट्राफिकका कारण अस्तव्यस्त जस्तो देखिएको छ । सडक र फुटपाथ अतिक्रमण, निर्माण सामग्री सडकमै खसाउने बानी, अनियन्त्रित ठेला, रिक्सा, सडक रेलिङको अभाव, सडक मिचेरै विभिन्न क्रियाकलाप गर्ने बानी, साँघुरा सडक, नागरिकबाट हुने असहयोग, छाडा चौपाया आदि कारणले विराटनगर बजार भित्रको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

सडक निर्माण तथा विस्तारसँगै विद्युतीय पोलको व्यवस्थापन समयमा नहुनु, ढल, नाला र खानेपानीको पाइपले पनि ट्राफिक समस्या बढाएको छ भने विराटनगरमा सडकमै बसेर भिख माग्ने मगन्तेहरूले समेत ट्राफिक समस्या सिर्जना गरेका छन् । ट्राफिक प्रहरीले महेन्द्र चोकदेखि बरगाछीसम्म सडकमा गाडी पार्किङ गर्न नदिने अभियान सुरू गरेकोमा विविध कारणले गर्दा एक साता भित्रैमा सो निर्णयलाई फिर्ता लिएर एकातिर पार्किङ गर्न दिन थालेको छ । ६ लेन सडकसँगै विराटनगर बजार भित्र पनि सडक निर्माणको काम चलिरहेकाले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न थप समस्या भएको हो ।

सडक जाम कम गर्न र सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले यस बीचमा सचेतनामूलक विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको छ । मोरङ ट्राफिकले गत मंसिर महिनामा मात्रै १० लाख २० हजार राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्नेहरूलाई कार्वाही गरी त्यति राजस्व संकलन गरेको हो ।