नसालु औषधि विक्रि गर्ने मेडिकल संचालक पक्राउ

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।

गुलरिया नगरपालिका वडा नं. ५ जि.वि.स रोडमा संचालित न्यु चाँदसी मेडिकल हलमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक नर बहादुर खड्काको कमाण्डमा खटिगएको टोलीले विशेष सुचनाको आधारमा अनुगमन गरी खान तलास गर्दा नसालु औषधिसहित मेडिकल संचालक वेदराज के.सी.लाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको औषधिमा प्याकिङ्ग ट्रामा लेखेको प्याकेट थान ५, अल्फाजुन लेखेको प्याकेट थान ७ र ट्रामा लेखेको खाली पत्ता थान ७ रहेका छन् ।

प्रहरी निरीक्षक खड्काका अनुसार मान्यता प्राप्त चिकित्सकको सिफारिस विना नै सो औषधि विक्रि वितरण गरेको पाईएकोले निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पेश गरी ५ दिनको म्याद थप भई हिरासतमा राखिएको र कारबाहीका लागि औषधि व्यवस्था विभागलाई जिम्मा लगाईएको छ ।

त्यसै गरि जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा एरियाबाट बिभिन्न मिति र स्थानमा बेवारिसे अवस्थामा फेला पारी बरामद भएका बिभिन्न कम्पनीका ७ वटा अन्दाजी मुल्य रु ५ लाख ८० हजार बराबरका मोटर साईकलहरु आबश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।