सेजमा देखिएका समस्या अध्ययन गर्न समिति गठनको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

उद्योग वाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्या समाधानका लागि मन्त्रालयले समिति बनाएर अनुगमन गर्ने तयारीमा रहेको बताउनुभएको छ।

बिहीबार राजधानीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समुन्नति फाउण्डेशनले भैरहवा सेजको अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयले सेजमा देखिएका समस्या समाधानका लागि समिति बनाउने तयारी गरेको जानकारी दिनुभएको हो।

कार्यक्रममा उहाँले आफूसहितको टोली गएर सेजको अनुगमन गर्ने र समस्या समाधानमा लाग्ने स्पष्ट पार्नुभयो। व्यापार घाटा घटाउने र आर्थिक समृद्धिका लागि मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ स्थापना गरिएको भैरहवा विशेष आर्थिक क्षेत्रमा औद्योगिक वातावरण बन्न नसकेको तथा विद्युत् आपूर्तिलगायतका समस्या रहेको भन्दै उद्योगी तथा व्यवसायीले गुनासो गरेपछि सरकारको तर्फबाट उक्त प्रतिबद्धता आएको हो।

‘हामीसँग दक्ष एवम् प्राविधिक जनशक्तिको अभाव छ। सेजमा पनि केही समस्या छन् भन्ने विषयमा म, राज्यमन्त्री, सचिवलगायतको टोली नै बनाएर सेज अनुगमन गर्नेछौँ, व्यावहारिक समस्या ‘अन द स्पट’ समाधान गरिने छ, नीतिगत सुधारको काम पनि भइरहेको छ,’ उहाँले भन्नुभयो।

मन्त्री भट्टले निर्यात वृद्धिका लागि ल्याइएको सेजमा उद्योगी आकर्षित नभएको बताउँदै यस विषयमा समस्या केलाएर समधान गरिने जानकारी दिनुभयो। उहाँले भैरहवामा मात्रै होइन, सिमरामा पनि उद्योगी आकर्षिक नभएको पाइएको बताउँदै समस्या के हो र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले विशेष पहल गर्ने स्पष्ट पार्नुभयो।

यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सेजमा देखिएका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आर्थिक क्षेत्रको विकासका लागि सेजका जस्तै गरी अन्य क्षेत्रको पनि समस्या पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

स्थिर र बलियो सरकार आउँदा पनि निजी क्षेत्र र आम जनाताले अपेक्षाकृत सुधार पाउन नसकेको अवस्थामा सरकारले यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने राज्यमन्त्री दुगडको भनाइ थियो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले आवेदन दिएकामध्ये पाँच उद्योगीले फिर्ता भएको विषयमा सरकारले कारण खोज्नुपर्ने बताउनुभयो। सेज प्राधिकरणका उपसचिव सुन्दर थापाले मागका आधारमा बिजुलीको समस्या नभएको बताउनुभयो। कूल ५८ कर्मचारीको दरबन्दी भए पनि नौ कर्मचारीको भरमा सञ्चालन गर्नुपरेको उहाँको गुनासो छ।

मन्त्री भट्टले निर्यात वृद्धिका लागि ल्याइएको सेजमा उद्योगी आकर्षित नभएको बताउँदै यस विषयमा समस्या केलाएर समधान गरिने जानकारी दिनुभयो।

उहाँले भैरहवामा मात्रै होइन, सिमरामा पनि उद्योगी आकर्षिक नभएको पाइएको बताउँदै समस्या के हो र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले विशेष पहल गर्ने स्पष्ट पार्नुभयो।