काभ्रेमा २ सय ४ वटा विद्यालय पुनर्निर्माण



मोतीराम तिमल्सिना, काभ्रे।

भुकम्पपछि क्षति भएका २ सय ४ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। गैरसरकारी संस्था, एसियाली विकास बंैक र विद्यालय व्यवस्थापन समितिमार्फत जिल्लामा निर्माण भएका विद्यालय समुदायलाई हस्तान्तरण गरिएको छ। जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालयमध्ये ३ सय ५३ पूर्ण र १ सय ७४ विद्यालय अधिक क्षति भएका थिए।

‘विद्यालय पुनर्निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको छ, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का प्रमुख द्वारिका पोखरेलले भन्नुभयो– ‘तोकिएभन्दा अगावै सम्पूर्ण विद्यालय निर्माण सम्पन्न गर्ने गरी कार्य भइरहेको छ।’

विद्यालय पुनर्निर्माणसम्बन्धी पुस्तक विमोचन तथा निर्माण कार्य सम्पन्न विद्यालयलाई एक कार्यक्रमका बीच धुलिखेलमा आयोजना कार्यान्वयन इकाइले प्रमाणपत्र वितरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भएका २ सय २२ विद्यालयमध्ये १ सय ७६ वटाको निर्माण कार्य सम्पन्न भई १ सय ३३ वटा विद्यालयलाई एकै पटक प्रमाणपत्र वितरण गरिएको हो। इन्जिनियर सोभित श्रेष्ठले निर्माण सम्पन्न हुँदै गरेका विद्यालयहरू द्रुत गतिमा निर्माण हुने बताउनुभयो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले धुलिखेलमा निर्माण सम्पन्न भएका विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई जम्मा गरी भौतिक संरचनाको संरक्षण, समुदायको दायित्व र गुणस्तरीय शिक्षा प्रदान गर्न आईपर्ने चुनौती सामना गर्न भूकम्प प्रतिरोधात्मक भवनले पुर्याउने योगदानका बारेमा चर्चा गरेका थिए।

जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत १ सय ७६ वटा र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मार्फत २८ वटा विद्यालय निर्माण सम्पन्न भएको प्रमुख पोखरेलले बताउनुभयो। जिल्ला समन्वय समितिका प्रमुख उद्वव केसी, उपप्रमुख मञ्जु गौतम, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौड्याल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, आयोजनाका उपनिर्देशक दिलिप शेखर श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाइ(निजी आवास)का प्रमुख सागरमणि आचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालगायतले विद्यालय निर्माणपछि त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको थियो।

निर्माण सम्पन्न भए पनि भौगालिक विकटता, यातायातको असुविधालगायतका कारण विद्यालयलाई हस्तान्तरण गर्न नसकिएका १ सय ३३ विद्यालय भवनको प्रमाणपत्र हस्तान्तरण गरिएको इन्जिनियर सोभित श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ६८ विद्यालय भवन बनाउन सम्झौता भएकामा ६५ सम्पन्न भएका छन्।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ७० वटा निर्माण गर्ने सम्झौता भएकामा ५८ वटा सम्पन्न भएका छन्। आर्थिक वर्ष ०७५÷०७६ मा ८४ विद्यालय भवन निर्माणका लागि सम्झौता भएकोमा ४८ निर्माण सम्पन्न भएका छन्।

१४ माध्यमिक र १४ प्राथमिक विद्यालय भवन एसियाली विकास बैंकको ऋण सहयोगमा सम्पन्न भएका थिए। त्यस्तै एडीबीको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाइ (शिक्षा) ले विपद् व्यवस्थापन विद्यालय परियोजनामार्फत १९ विद्यालयको निर्माण शुरू भएको छ। भारत सरकारको सहयोगमा १० वटा विद्यालय निर्माण शुरू हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस्