तन्त्र पत्रकारिता कहिले अन्त्य गर्ने ?



समाचार लेख्न वा छाप्न स्वतन्त्र भएर कहिले पाउने ? समाचार सम्प्रेषण गर्दा पनि राज्यको अधीनमा रहेर गर्न पर्छ भने स्वतन्त्र पत्रकारिता केलाइ भन्ने ? होला, पत्रकारको पनि नीति नियम हुन्छ। उनीहरू पनि त्यसको दायरामा बसेर लेख्न पर्छ।

कसैको व्यक्तिगत मानहानि गर्न पाइँदैन। तर त्यसो भन्दैमा सत्यतथ्य समाचार पनि लेख्न नपाउने हो ? देशमा भइरहेको कुरीती विसंगतिका विरुद्ध पत्रकारले स्वतन्त्र भएर लेख्न–बोल्न पाउँदैन भने लोकतान्त्रिक गणतन्त्र भन्नुको अर्थ के ?

कतिपय मिडिया हाउसहरू पार्टीका मुखपत्र बनेका छन्। पार्टीको पगरी ओढेका मिडिया हाउसले कसरी निष्पक्ष समाचार दिन सक्लान् ? यिनमा त शुरूदेखि नै राजनीतिक वैचारिक पूर्वाग्रह रहिरहेको हुन्छ। लगानीको स्वार्थ पनि राजनीतिक प्रचारमा हुन्छ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका तीन अंगहरू मानिदै आएका बेला अनौपचारिक रूपमा चौथो अंगका रूपमा सञ्चार जगत्लाई लिने गरिएको छ। हुन त दलीय व्यवस्थामा राज्यका तीन अंगहरूलाई जसले निर्वाचनमा बहुमत ल्यायो, त्यसैको राजनीतिक कार्यक्रम कार्यान्वयन गर्ने अंगकै रूपमा प्रयोग गरिन्छ।

तर पनि पत्रकारिता जगत्लाई भने योभन्दा भिन्न मानिन्छ। यसलाई राज्यमाथि खबरदारी गर्दै जनताको सेवा गर्ने अंगका रूपमा परिभाषित गरिन्छ। व्यवहारमा परिभाषा, आदर्श र अपेक्षाअनुसार कुराको मेल खाँदैन। चिन्ताको विषय यही हो।

यसप्रतिको जिम्मेवारी कसको हो त ? गलामा प्रेस कार्ड झुन्ड्याउँदैमा पत्रकार हुँ भनेर सार्वजनिक स्थलमा दादागिरि देखाउँदैमा असली पत्रकार भइँदैन। पत्रकारको धर्म निर्वाह गर्न सक्नुपर्छ।

बहुमतको बलियो सरकार हुँदासमेत देशले राजनीतिक निकास पाउन सकेको छैन। संस्थागतरूपमा भ्रष्टाचार मौलाएको छ। यस विषयमा खोज–अनुसन्धान गरेर जनतालाई सुसूचित गराउने काम पत्रकार महोदयको होइन र ?

राजसंस्थाको विरुद्धमा एकजुट भएर सडकमा उत्रने पत्रकार महोदय अहिले देशमा भएको भ्रष्टाचार कुरीतीविरुद्धमा किन बोल्न सकिरहेका छैनन् ? सधैँ राजनीतिक दलहरूको मुखपत्र बनेर समाचार सम्प्रेषण गर्न कि नेपाली जनताको आवाज बुलन्द पार्न ?

कतिपय नाम चलेका मिडियासमेत राजनीतिक मियो बनेका छन्। जनताको आवाज भनेको प्रजातन्त्रमा सबैभन्दा बलियो आधार हो तर जनताको आवाज नै पत्रिकाले समेट्न सकेका छैनन्। १६ पृष्ठ लामो पत्रिकामा जनताको आवाजलाई सानो एउटा स्तम्भ दिइएको छ। त्यसमा पनि सबैको आवाज पुग्छ भन्ने छैन।

अहिलेको सबभन्दा समस्या भनेको दलीय हिसाबमा चलेका मिडिया हाउसहरू। राजनीतिक दलहरूले आफ्नो दलीय पकड बलियो बनाउन मिडियालाई आफ्नो अस्त्र बनाए। राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफैं लगानी गरेर कतिपय अनलाइन टेलिभिजन तथा छापा पत्रिकाहरू चलाएका छन्।

व्यवसायका रूपमा खोलिएका कतिपय अखबारहरूलाई पनि आर्थिक सहयोग गरेर आफ्नो पक्षमा आफू अनुकूल समाचार लेख्ने बनाएका छन्। यसरी पत्रकारितालाई बदनाम गरिँदै छ। केही बिकाउ पत्रकारले गर्दा स्वतन्त्र पत्रकारको नाम पनि बदनाम भएको छ।

अहिले सर्वसाधारणमा पत्रकार भनेको पैसा अनि पावरको भरमा लेख्छन् भन्ने परेको छ। यसलाई चिर्न आवश्यक छ। कम्तीमा पनि राज्यको एउटा अंग त स्वतन्त्र होस्। यो स्वतन्त्र अंग निडर पत्रकारिता क्षेत्र नै बन्न जाओस्।

– पुरुषोत्तम घिमिरे,
जोरपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्