चाकरी हो कि जागिर ?



प्रहरी संगठनमा हाकिमहरूको मनपरिका कारण प्रहरी जवानहरूले भटाभट जागिर छाड्न थालेका छन्। पहिले सरकारको नूनपानी भनिने जागिर अहिले हाकिमको नूनपानी बन्न गएको छ। यही थियो होला सिस्टम पनि, तर पञ्चायतकाल त्यस्तै व्यवस्था भएकाले पचेको हुनुपर्छ।

अहिले त प्रजातन्त्र आएको छ, गणतन्त्र आएको छ। राष्ट्रको सेवा गर्ने हो, तर कसैको चाकरी गर्ने होइन। तर प्रहरी संगठन चाकरीको संगठन बन्न गएको छ। त्यहाँ राणा शासन कायम नै छ।

किन भनेर प्रश्न उठाउन पाइँदैन। खुरुखुरु र लुरुलुरु काम गर्ने हो। हाकिमलाई स्वादको जिन्दगी, जवानलाई अजीर्ण जिन्दगी। सञ्चारमाध्यमहरूमा यसो दुई–चारवटा गुनासाहरू आए पनि विरोधीले प्रचार गराएको भन्ने चलन छ। सिस्टममा, शैलीमा र व्यवहारमा के र कहाँ परिवर्तन ल्याउनुपर्छ भन्ने छैन। हाकिम राज छ।

त्यसैले त्यति विधि तालिम लिएका जवानहरू भटाभट जागिर छाड्दै र जाँदै गरिरहेका छन्। आस्थाभन्दा अनास्था जागिरहेको छ। चिफसापहरू जति कुर्ले पनि संगठनको अवस्था दयनीय बन्दै गएको छ। धेरै कुरा त सार्वजनिक बन्दै पनि गैरहेका छन्।

२००७ सालमा गठन भएको संगठनको प्रगति विवरण केही पनि अत्तोपत्तो छैन। सोधपुछ पनि छैन र छानबिन पनि छैन। आवश्यक कुरा बोल्नै पाइँदैन। पहिले जागिर पाउन कठिन भएको यो संस्था अहिले सजिलै जागिर छाड्ने संस्था बनेको छ।

अब कोही पनि दासतामा बाँच्न बाध्य छैनन्। अहिले जागिर छाड्नेको संख्या हिजो माओवादी द्वन्द्वकालमा भन्दा बढी छ। यो दिनदिनै बढिरहेको छ।

अघिल्लो पटकको विज्ञापनमा प्रहरी निरीक्षक पद तथा प्रहरी सहायक निरीक्षक पदका लागि मागअनुसारको आवेदन पनि परेन भन्ने सुन्दा प्रहरीप्रतिको क्रेज र साख कति गुम्दो अवस्थामा रहेको छ। सहजै थाहा हुन्छ। यो भनेको संगठन उँधो लाग्नु हो। जनमानसको रुचि प्रहरीमा किन कम भयो ?

भन्ने विषयमा सम्बन्धित निकायको ध्यान गम्भीररूपमा गएको छैन। प्रहरीमा जागिर छाडनुको उद्देश्य अरू केही नभएर पक्षपात, हातपात, लातपात, अनावश्यक बात, छुट्टाछुट्टै भात र हाकिम साबको मात नै हो।

प्रहरीमा जागिर खाएदेखि लिएर बढुवा, सरुवा तथा मिसनमा जानसमेत निगाह चाहिन्छ। नत्र भने जीवनभर जागिर खाँदा पनि हातमा लाग्यो शून्य नै हो। मरी–मरी दिनरात काम गर्यो, जश पाउने बेलामा र पुरस्कार हात थाप्ने बेलामा उनै हाकिम हुन्।

हाकिम साब र नेताहरूलाई रिझाउनुपर्ने, नत्र प्रमोसन पनि छैन, प्राथमिकता पनि छैन। एउटा प्रहरीलाई सक्षम बनाउन राज्यको न्यूनतम् ४÷५ लाख लगानी हुन्छ होला। उसले बीचमै जिम्मेवारी छाडेर जाँदा त्यो घाटा कसले बिहोर्न ? कतिपय प्रहरीको मनोबल यसरी किन गिराउने काम भइरहेको छ, सोच्नु जरुरी छ।

हाकिम साबलाई त जागिर ठीकै होला तर मातहतका जवानहरूलाई यो जागिर नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ। काम गर्न गाह्रो छ। जागिर खतरा हो, ड्युटी २४ घण्टा। त्यसमाथि हाकिम साबहरूको उत्तिकै अडर। जागिर खाने संगठनको तर चाकरी गर्नुपर्ने हाकिमहरूको।

केही मापदण्ड त बनाएको देखिन्छ तर देखाउनका लागि मात्र। व्यवहारमा प्रयोगमा ल्याउनका लागि होइनझैँ देखिन्छ। जागिर पनि कति वर्ष खाने, निश्चित छैन। जागिर आफैंमा बाध्यात्मक छ।

मर्यादित बन्नुपर्ने प्रहरीको पेसा आन्तरिक जीवनले अमर्यादित बनेको छ। प्रहरीकाहाकिम साबहरू पनि नेता र मन्त्रीको तजबिजमा यताउति हुने गरेका छन्। तर तल्ला तहका जवानहरूको तुलनामा यो कम पीडादायी देखिन्छ। तल्ला तहमा त श्रम–पसिनाकै शोषण भएको छ नि !

– विष्णु अर्याल, रूपन्देही।

प्रतिक्रिया दिनुहोस्