सुरक्षित रहन ‘शान्ति सैनिक’ लाई नेपाली सेनाको निर्देशन

0
Shares

दीपक रिजाल, काठमाडौं।

नेपाली सेनाको सैनिक मुख्यालयले इराक, लिबिया, सिरिया, कुवेत र लेबनानमा कार्यरत नेपाली सेनालाई सुरक्षित रहन निर्देशन दिएको छ। अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण शान्ति सेनाका रूपमा त्यस क्षेत्रवरपर कार्यरत नेपाली सेनालाई असर परेपछि यस्तो निर्देशन दिइएको हो।

  •  इराकमा ७७, लिबियामा २ सय ३०, सिरियामा ३ सय ४२ र लेबनानमा ८ सय ७१ जना नेपाली सैनिक कार्यरत 
  •  नेपाली मजदुरसमेत प्रभावित  

अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी आएपछि नेपाली सेनाले इराकमा कार्यरत ७७, लिबियामा कार्यरत २ सय ३०, सिरियामा कार्यरत ३ सय ४२ र लेबनानमा कार्यरत ८ सय ७१ जना शान्ति सैनिक (नेपाली सेना) लाई सुरक्षित रहन निर्देशन दिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार सो क्षेत्रमा कार्यरत नेपाली सेनालाई सतर्कताका साथ बसी सैनिक मुख्यालयसँग निरन्तर सम्पर्क रहन निर्देशन दिइएको छ। सबैभन्दा बढी संवेदनशील मानिएको इराकको किरकुक र इरवलमा कार्यरत ७७ नेपाली सेनालाई सैनिक मुख्यालयले सतर्कता अपनाउन निर्देशन दिएको छ।

यस्तै त्यहाँ कार्यरत नेपाली सैनिक अहिलेसम्म सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।अमेरिका–इरान तनाव बढेर युद्धतर्फ उन्मुख भएपछि इराक, सिरिया, लिबिया, लेबनान र कुवेतमा कार्यरत हजारौं नेपाली मजदुरसमेत प्रभावित हुने भएका छन्।

वैध र अवैध बाटोबाट ती देशमा पुगेका नेपालीको संख्या सरकारी तथ्यांकमा न्यून देखिए पनि १ लाखभन्दा बढी रहेको अनुमान गरिएको छ। अमेरिकी सेनाले ड्रोनको आक्रमणबाट इराकी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको जवाफस्वरूप इरानले इराकमा तैनाथ अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेपछि सो क्षेत्रको तनाव उत्कर्षमा पुगेको छ।

नेपाल सरकारले ती मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि निरन्तर अनुगमन गर्न पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्साल र कुवेतस्थित नेपाली राजदूत दुर्गा भण्डारीलाई इराकमा रहेका नेपालीबारे जानकारी दिनुका साथै उद्धार गर्नुपरे तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यस्तै सिरिया, लिबिया र लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि ती देशनजिक रहेका नेपाली दूतावासहरूलाई सम्पर्कमा रहन निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।तर, सरकारले ती मुलुकमा रहेका नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आएमा कसरी उद्धार गर्ने भन्ने योजना अहिलेसम्म बनाएको छैन।

तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले ती मुलुक नियाल्ने दूतावासलाई नेपालीसँग नियमित सम्पर्कमा रहन र नेपालीलाई पनि दूतावासको सम्पर्कमा आउन आग्रह गरेको बताउनुभयो।