राष्ट्रिय मेलमिलाप बारे गहन छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसका नेता नरहरि आर्चायको निवासमा राष्ट्रिय मेलमिलाप नीति र आजको आवश्यकता विषयमा गहन छलफल भएको छ। कार्यक्रममा नेता आचार्यले मेलमिलाप दिवसलाई पछिल्लो समय कर्मकाण्डीरूपमा सिमित गरिएको भन्दै मेलमिलाप नीतिको बारेमा पञ्चायतकालमा व्यापक छलफल हुने गरेको बताउनुभयो।

उहाँले बीपी मेलमिलापको नीति लिएर काठमाडौं फर्कदा त्यस बेलाका शासकले बीपी गणेशमानहरूलाई विमानबाटै गिरफ्तार गरेर जेल मात्र पठाएर उहाँहरूलाई ७ वटा मुद्दा लगाएर मृत्युदण्ड दिनुपर्ने माग गरिएको स्मरण गर्नुभएको थियो।

एक दलीय राजतन्त्रको त्यस बेला बीपीलाई पक्राउ गरी जेल हाले पनि नेपालमा प्रतिपक्षी राजनीतिको शुरूआत भएको बताउँदै नेता आचार्यले त्यसैको परिणाम स्वरूप २०३६ सालमा जनमतसंग्रह भएको २०३९ सालमा बीपीको देहावसान भएपनि त्यही जनमतसंग्रहमा संगठित भएको स्थितिलाई बोध गरेर २०४२ सालमा सत्याग्रह र २०४६ सालको जनआन्दोलन भएको उहाँले बताउनुभयो।

अहिले केही साथीहरू मेलमिलाप दिवसको सान्दर्भिकता नभएको बताउने गर पनि अहिलेसम्म बीपीकै मेलमिलाप नीतिका कारण राजनीतिमा विभिन्न तरंग आएको बताउनुभयो।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइरालालगायतका नेताहरू स्वदेश फर्केपछि नेपाली राजनीतिले कोल्टे फेरेको बताउँदै अफगानिस्तान, इरान, भारतलगायतका मुलुकमा भएका घटनाक्रमलाई बीपीलगायतका नेताहरूले अध्ययन गरेपछि मेलमिलापको नीति ल्याएको बताउनुभयो।

‘शीत युद्ध चरम उत्कर्षमा पुगेको र नेटो तथा वार्सा सैन्य संगठनका कारणले विभिन्न मुलुक विभाजन भएको त्यस बेला नेताहरूले पार्टी प्रतिबन्धित रहेको अवस्थामा मुलुकको नेतृत्व गर्ने हिसाबले बीपीको नेपाल आगमन भएको थियो।’ –नेता गुरुङले भन्नुभयो।

त्यसबखत बीपी कोइराला प्रतिपक्षी नेता मात्र हुनुहुन्थेन राष्ट्रलाई नै नेतृत्व गर्दै मुलुकमा लोकतन्त्र कसरी पुनस्र्थापित गर्ने, राष्ट्रलाई कसरी जोगाउने भन्ने विषयको दृष्टिकोण बोकेको महान नेता भएको दाबी गर्दै नेता गुरुङले पार्टीको हितभन्दा पनि राष्ट्रको हित, जनताको हितको लागि उहाँले सत्तापक्ष र प्रतिपक्ष दुवै एक भएर राष्ट्रियताका लागि जानुपर्छ भन्ने महान उदेश्य लिएर नेपाल आएको बताउनुभयो।

परराष्ट्रविद् तथा शिक्षाविद् डा. जयराज आर्चायले बीपीले अघि सार्नुभएको मेलमिलाप नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने कांग्रेसभित्र अहिले एकताको आवश्यकता भएको बताउनुभयो।

उहाँले मैले २०६० साल पुस १६ गते प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस र एमाले मिल्ने हो भने राजालाई दबाव पर्ने र मुलुकमा लोकतन्त्र आउने बताएको थिए।

दुभाग्र्य भनौ दुई शक्ति त मिले तर २०६२ मंसिर ७ गते १२ बुँदे दिल्ली सम्झौता भएको स्मरण गर्नुभएको थियो। एमसीसीको बारेमा हामी इमोसनल भएर बोलिरहेका छांै तर विदेशीहरूले एससीसीको बारेमा रिजनेबल कुरा गरिरहेको बताउँदै राष्ट्रिय मेलमिलापका सन्दर्भमा हाम्रो अध्ययन गहिरो, विस्तृत, विश्लेषणात्मक र भविष्यमुखी बनाउनुपर्ने उहाँले बताउनुभयो।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामबहादुर गुरुङले नेपालको राजनीति मेची महाकाली भित्रमात्रै सीमित छ कि छैन भन्ने अहम् प्रश्न हामी अगाडि उठेको बताउनुभयो।

बुद्धिजीवी प्रा.गणेशदत्त भट्टले यो विषय अत्यन्त गम्भीर विषय हो। बीपीको राष्ट्रिय मेलमिलापको नीति बीपीको जीवनको टर्निङ प्वाइन्ट र सबैभन्दा ठूलो निर्णय भएको बताउनुभयो।