सेक्युरिटी प्रेस खरिद अनियमितताको आशंका

0
Shares

काठमाडौं, (नेस) ।

सरकारले खरिद गर्न लागेको सुरक्षित मुद्रण (सेक्युरिटी प्र्रेस) खरिदमा अनियमितताको आशंका गर्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अध्ययन र अनुसन्धान गर्ने निर्णय गरेको छ। लेखा समितिले सरकार–सरकारबीचको सहमतिमा हुन लागेका सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमिताको आशंका गरेको हो।

सरकारले पारदर्शी विधि ग्लोबल टेण्डरलाई पन्छाएर ल्याउन लागिएको सेक्युरिटी प्रेस खरिदका लागि अपनाइएको विधि तथा प्रक्रियाबाट ठूलो आर्थिक चलखेलका आशंका रहेको निष्कर्ष निकालेको छ।

समितिले सोमवार सेक्युरिटी प्रेस खरिद प्रक्रियाको बारेमा छलफल गर्दै अनियमितता हुनसक्ने आशंका गर्दै अनुसन्धान अघि बढाउन बैठकबाट सहमति प्राप्त भएको समितिका सदस्य राजन केसीले बताउनुभयो।

समितिको बैठकमा विज्ञका रुपमा आउनुभएका विजयबाबु मिश्रले मुलुकको सार्वभौम र राष्ट्रिय संवेदनशिलतासँग जोडिएको सेक्युरिटी प्रेस सरकारले धेरै मूल्य तिरेर कम गुणस्तरको ल्याउन लागेको दावी गर्नुभयो।

करिव ३५ अर्ब रुपैयाँ तिरेर सरकारले फ्रान्स र जर्मन सरकारसंँग ‘जीटुजी’का माध्यमद्वारासेक्युरिटी प्रेस खरिद गर्न लागेको छ। मिश्रले प्रेस खरिदमा सातदेखि नौ अर्ब घोटाला हुनसक्ने भएकाले संसदीय समितिले चनाखो भएर अनुसन्धान गर्नुपर्ने सुझाव दिनुभयो।

सरकारले खरिद प्रक्रिया अघि बढाउन स्वीकृती प्रदान गरेको सेक्युरिटी प्रेसबाट पैसाबाहेक राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सवारी अनुमतिपत्र मुलुकको अहिलेको आवश्यकता धान्नेगरी छपाई हुनसक्ने गरी खरिद गर्न लागेको छ।

समितिका सदस्यहरूले राजश्वमा हुनसक्ने चुहावट, अनियमितता र भ्रष्टाचार रोक्न समितिलाई छानवीन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए। सबैभन्दा उत्तम बाटो खुला प्रतिस्पर्धा छाडेर सरकार किन जीटुजीका माध्यमबाट प्रेस खरिद गर्ने मार्गमा अघि बढ्यो भनी उनीहरूले प्रश्न गरेका थिए।

समितिका सदस्य केसीले भन्नुभयो,‘देशलाई आवश्यक सेक्युरिटी प्रेस खरिद गर्नुपर्छ, तर खरिद प्रक्रिया विधि र प्रक्रिया अनुसार हुनुपर्छ, ग्लोबल टेन्टरबाट हुनु पर्नेमा सरकारले किन जीटुजीको माध्यम रोज्यो आशंका छ।’

उहाँले नोटसमेत छाप्न मिल्ने प्रेस ल्याउनु पर्ने बताउदै प्रेस उत्पादन गर्ने कम्पनीले अन्य देशमा निर्यात गरेको मुल्यको पनि अध्ययन गरिने बताउनुभयो। अध्ययन र अनुसन्धानपछि यस विषयमा सरकारसँग पनि छलफल हुने बताउदै केसीले प्रेस उत्पादित देशसँग जीटुजी गर्नुले पनि आशका जन्माएको बताउनुभयो।