राष्ट्रिय सभा चुनावमा चार प्रकारका मतपत्र

0
Shares

सुनील महर्जन, काठमाडौं।

माघ ९ गते हुने राष्ट्रिय सभाको लागि हुने निर्वाचनमा चार प्रकारको मतपत्र प्रयोग हुनेभएको छ।राष्ट्रिय सभा निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुने छ। समूहगत रुपमा मतदान गर्नुपर्ने चार प्रकारको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ।

चारप्रकारको मतपत्रमा महिला, दलित, अल्पसंख्यक र अन्य समूहको छुट्टाछुट्टै रहने छ। समूहगत उम्मेदवारलाई मतदान गर्नका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका स्थानीय तह तर्पmका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको अलग मतपत्रको व्यवस्था गरिनेछ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख अध्यक्ष र उपाध्यक्षको मतभार फरक फरक रहने भएकाले मतपत्र अलग हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता सातवटा प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष रहने छन्।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ। यसले गर्दा समूहगत रुपमा पनि अलग अलग मतपत्र प्रयोग हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो।

प्रदेशसभा सदस्यतर्फका ५५० र ७५३ स्थानीय तहतर्फका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेका छन्। उनीहरूको मतभार भने फरकफरक हुन्छ।

यसमा महिला सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, महिला सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने रहेका छन्।

यसैगरी दलित सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, दलित सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र रहेका छन्।

यस्तै अपांगता भएका वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने, अपांगता भएका वा अल्पसंख्यक समुदायका सदस्य निर्वाचित गर्न प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र रहेका छन्।

अन्य सदस्य निर्वाचित गर्न स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र छ। आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि मतपत्र छाप्ने प्रक्रिया अघि बढाउने छ।

आयोगको कार्यतालिकाअनुसार पुस २५ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ। ५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ। एक सदस्य मनोनित हुनेछ।

आइतबार मनोनयन भएका उम्मेदवारहरूविरुद्ध कुनै उजुरी नपरेको आयोगले जनाएको छ। आइतबार १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको थियो।