हात्ती थप्दै निकुञ्ज

0
Shares

कुमार श्रेष्ठ, बाँके।

नेपाल भ्रमण वर्षको शुरुआतमै बाँके राष्ट्रिय निकुञ्जले दुईवटा हात्ती थप्ने भएको छ।अहिले निकुञ्जमा चारवटा हात्ती छन्। थप दुईवटा हात्ती ल्याउन विभागसँग लेखापढी भइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो।

बाघको बासस्थान रहेको बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीयस्थलका रूपमा विकास गर्दै लगिएको र हात्ती सफारीको शुरुआत गरिएकाले थप हात्ती मगाइएको हो।५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुरुआत बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गरेर गर्नुभएको थियो।

प्रदेश सरकारले पर्यटन गन्तव्यका रूपमा बाँके राष्ट्रिय निकुञ्जलाई पनि अघि सारेको छ। यद्यपि संघ र प्रदेशबाट अहिलेसम्म कुनै कार्यक्रम आएको छैन।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले भ्रमण वर्षको शुरुआतमै निकुञ्जमा पर्यटकको चहलपहल बढेको बताउनुभयो। बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौका देख्न सकिन्छ।

प्रचार प्रसारको कमीले ओझेलमा परेको निकुञ्जमा बिस्तारै चहलपहल बढेको छ।निकुञ्जले गाभरदेखि अगैयासम्मको ६५ किलोमिटरलाई जंगल सफारीको रुट बनाएको छ। यो पार गर्न साढे तीन घण्टा लाग्छ।

‘गाभरबाट प्रवेश गरेको पर्यटक मज्जाले जंगली जनावर, चराचुरुंगी हेर्दै साढे तीन घण्टा बिताएर अगैया निस्किने रुट बनाएको छौं’, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो– ‘एकपटक आएको पर्यटकलाई फेरि आउन मन लाग्ने घुमाइ हुन्छ।’

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन्। दुईवटा बढी चौका छन्। तीन सय बढी प्रजातिका चराचुरुंगी रहेका छन्। बाघ आहारा प्रजातिका बँदेल, मृग, जरायोको संख्या पर्याप्त रहेको निकुञ्जको दाबी छ।

आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परिसकेको छैन। मुख्यमन्त्रीले गएर जंगल सफारीको उद्घाटन गरिदिएपछि प्रचार प्रसार भएको छ। निकुञ्जले नेपालीलाई सय रुपियाँ प्रवेश शुल्क लिएर पाँच सय रुपियाँमा दुई घण्टाभन्दा बढी समय हात्ती सफारी गराउने तालिका बनाएको छ।

निकुञ्जले सार्कका पर्यटकका लागि ७ सय ५० प्रवेश शुल्क र अन्य मुलुकका पर्यटकका लागि एक हजार पाँच सय प्रवेश शुल्क कायम गरेको छ।विसं २०६७ सालमा स्थापना गरिएको यो निकुञ्जले बर्दिया, सुर्खेत, सल्यान र दाङ जिल्लालाई छोएको छ।

बाघको बासस्थान राम्रो रहेकाले निकुञ्ज स्थापना गरिएको हो। सरकारले भ्रमण वर्षको शुरुआत गरेको र बाँके आउने पर्यटकलाई घुमाउने ठाउँ यही निकुञ्ज र बागेश्वरी मन्दिरलाई अगाडि सारिएको छ।

नेपालगन्ज मानसरोवरसम्म जाने पर्यटकको प्रवेशद्वार मानिन्छ। नेपालगन्जमा ठूल्ठूला होटलहरू सञ्चालनमा रहेकाले यहाँ आउने पर्यटकलाई दुई/चार दिन घुमाउन निकुञ्ज उत्तम ठाउँ हुने सबैको बुझाइ रहेको छ।