मासिँदै सुन्तला बगैंचा

0
Shares

शिक्षा पन्त, लमजुङ।

कुनै बेला बेसीशहर नगरपालिका ११ चितीको स्याउत सुन्तलाको पकेट क्षेत्रको रूपमा चिनिन्थ्यो अहिले यो गाउँमा सुन्तलाका बुटा ठुटामात्र रहेका छन्। चितीका गणेशबाबु पन्तले पाँच वर्षअघि सुन्तला खेतीबाट मनग्य आम्दानी गर्नुभएको थियो।

शुरूमा ४० वटा बोटले ४०/४५ हजार आम्दानी दिएपछि जोसिएर २०५६ सालमा १२ रोपनी जग्गामा तीन सय बोट सुन्तला, २० बोट मौसम र १० बोट कागती रोपेर हराभरा बनाएर लाखौँ आम्दानी गर्ने सपना देख्नुभएका उहाँले ६ लाख ऋण बोक्नुभयो।

उहाँको त्यो जग्गा अहिले धानखेतमा परिणत भएको छ। एक खेपको पनि आम्दानी लिन नपाई सुन्तलाको बोट मरेको सुनाउँदै उहाँले भन्नुभयो ‘आफूले कमाएको त सकियो नै उल्टो सुन्तला खेतीले ऋण बोकायो।’

प्रत्येक वर्ष यही समयमा सुन्तला बगैँचाको डिलमा बसेर सुन्तला छोडाउँदै किसानहरू भन्थे– ‘यो साल त यति लाखमा सुन्तला बेच्नुपर्ला, त्यो पैसाले यस्तो काम गर्नुपर्ला।’ तर यो साल अवस्था फेरिएको छ। सुन्तला घारीले हराभरा गाउँ अहिले उराठलाग्दो छ।

कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले हस रोगका कारण सुन्तला मासिँदै गएको बताउँदै भन्नुभयो– ‘जिल्लाका पकेट क्षेत्रमा नै सुन्तला फल्न छाडे, यही रोगले गर्दा बोटहरू सुके।’

साविकको जिल्ला कृषि विकास कार्यालयबाट पकेट क्षेत्रमा सूचीकृत गरेको साविक चितिको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदीपुरको धिमिरे, गाउँशहर र भोटेओडारलगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएका हुन्।

उक्त ज्ञान केन्द्रका अनुसार पतेरो, कत्लेलगायतका किराले विरुवा तथा बोटमा रोग सार्दा सिट्रेस डिक्लाइन (ह्रास) र ग्रिनिङ भाइरसजस्ता रोग लाग्दछ। किसानले गोडमेल, स्याहार, सिंचाई, विरुवा छनौटजस्ता कार्यमा ध्यान नदिएकाले सुन्तलाको बगैंचा मासिँदै गएको हो।