मंगोलियाका प्रथम राष्ट्रपति धार्मिक पर्यटन गर्दै नेपालमा

0
Shares

टीका बन्धन, काठमाडौं।

मंगोलियाका प्रथम राष्ट्रपति पुन्सालमागिन धार्मिक भ्रमणका लागि नेपालमा हुनुहुन्छ। लुम्बिनी र काठमाडौं उपत्यकाका बौद्ध तथा पुरातात्विक क्षेत्रको भ्रमणका लागि आफ्ना धार्मिक गुरुसहित उहाँ नेपाल आउनुभएको हो। पुन्सालमागिन र उहाँका चिनियाँ धार्मिक गुरु काइजिमु दुई दिनसम्म लुम्बिनी बसेर आइतबार अपराह्न काठमाडौं फर्किनुभएको छ।

शनिबार र आइतबार मायादेवी मन्दिरमा विशेष पूजा गर्नुभएका उहाँले लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयसँग भेटवार्ता गर्नुभएको छ।नेपालमा मंगोलियाका धार्मिक पर्यटकको आवागमन बढाउन, लुम्बिनीमा मंगोलियन विहार निर्माण गर्ने, नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारमा सघाउनेजस्ता विषयमा वार्ता केन्द्रित भएको कोषले जनाएको छ।

‘भेटवार्ता पर्यटन विकासका विषयमा केन्द्रित रह्यो। नेपालमा मंगोलियाका धार्मिक पर्यटक भित्याउने विभिन्न क्रियाकलापमा सघाउन पुन्सालमागिन निकै उत्साहित हुनुभएको छ।’ –कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले भन्नुभयो।

पुन्सालमागिनपछि सो मुलुकका राष्ट्रपति बन्नुभएका नाट्ससागिन बागाबन्दीले सन् २००१ मा गर्नुभएको नेपाल भ्रमणका क्रममा लुम्बिनीमा मंगोलियन विहारको शिल्यान्यास भएको थियो।

तत्कालीन राजा वीरेन्द्रसमेतको उपस्थितिमा राष्ट्रपतिबाट शिल्यान्यास भएको विहारको निर्माण अघि बढ्न नसकेका बारे उपाध्यक्ष मेतेयले जानकारी गराउँदा यो विषयमा आफू अनविज्ञ रहेको पुन्सालमागिनले बताउनुभयो।

‘नेपालले यस्तो महत्वपूर्ण कामका लागि हाम्रो देशलाई जग्गा प्रदान गरेको रहेछ, यहाँको अवरुद्ध कामबारे स्वदेश फर्किएलगत्तै सरकारलाई अवगत गराउने छु, यसमा मेरो व्यक्तिगत पहल पनि रहनेछ।’ –पुन्सालमागिनको भनाइ उद्धृत गर्दै राईले भन्नुभयो। पुन्सालमागिनले शनिबार कोष परिसरमा ‘अशोका’को विरुवासमेत रोप्नुभएको छ।

साइनो नेपाल कल्चर एन्ड टुरिजम प्रमोसन सोसाइटीको पहलमा पुन्सालमागिनको नेतृत्वमा करिब ४० सदस्यीय मंगोलियाली टोली गत शुक्रबार नेपाल आएको हो।

पुन्सालमागिनको यो पहिलो नेपाल भ्रमण हो। दुई दिनको लुम्बिनी बसाइको धित अझै नमरेको र आफू फेरि लुम्बिनीको भ्रमणमा आउने प्रतिबद्धता जनाउँदै उहाँ आइतबार साँझ काठमाडौं आउनुभएको छ।

यसअघि मिक्षु मेतेयले पुन्सालमागिन र उहाँका धार्मिक गुरुलाई मायादेवी मन्दिर घुमाउँदै सो क्षेत्रको धार्मिक र ऐतिहासिक पक्षबारे अवगत गराउनुभएको थियो।

नेपाल–मंगोलियाबीच सन् १९६१मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सो मुलुकसँगको पुरातात्विक साइनो त्यसअगावै जोडिएको थियो।तत्कालीन तिब्बती शासक कुब्ला खाँका हजुरबा चङ्गेज खाँले नेपाली कालिगढलाई तिब्बत झिकाएर नेपाली शैलीका चैत्य र विहार निर्माण गर्न लगाएपछि त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव मंगोलियासम्म विस्तार भएको इतिहासकारहरू बताउँछन्।

यस्तै ऐतिहासिक चर्चा पुन्सालमागिनको लुम्बिनी भ्रमणमा समेत भयो। तिब्बतबाट मंगोलिया घुम्न गएका छैठौं दलाई लामालाई पुन्सालमागिनका जिजुबाले पथ प्रर्दशकका रूपमा सहयोग गरेपछि प्रभावित बनेका लामाले ‘नेपाली खुकुरी’ उपहार दिएको प्रसंग उहाँले कोष पदाधिकारीलाई अवगत गराउनुभयो।

‘मेरा अभिभावकले पाउनु भएको सो उपहार अझै सुरक्षित छ, सो खुकुरी मैले आफ्नै घरमा राख्न पाउँदा मलाई ज्यादै खुशी लागेको छ’–कोष पदाधिकारीसँगको भेटमा पुन्सालमागिनले भन्नुभयो।

मंगोलियाली टोलीले आज सोमबार बौद्ध र पाटन दरवार स्क्वायर क्षेत्र भ्रमण गर्दैछ। बौद्ध धर्म बाहुल्य नेपाल–मंगोलियाबीच सीधा हवाई सेवा नहुँदा सो मुलुकबाट लुम्बिनी पुग्ने धार्मिक पर्यटकको संख्या न्यून छ।

सन् २०१७ मा दुई सय ५७, २०१८ मा ३० र सन् २०१९मा ७५ मंगोलियाली नागरिक लुम्बिनी भ्रमणमा आएका कोषले जनाएको छ। मंगोलियाली पर्यटक चीन हुँदै नेपाल भ्रमणमा आउने गर्छन्।