एकै भवनमा तीन अफिस भत्केपछि बढ्यो सकस

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

कथा ललितपुरस्थित हरिहर भवनको हो। यहाँ नेपालकै ठूलो राष्ट्रिय पुस्तकालय, राष्ट्रिय मानव अधिकार आयोग र निजामती किताबखाना गरी तीन कार्यालय छन्। २०७२ सालको भूकम्पले क्षतिग्रस्त यस भवनमा टेका–टालो गरेर बस्न पनि अब नमिल्ने भयो।

राष्ट्रिय मानव अधिकार आयोग र निजामती किताबखानाले त सर्ने ठाउँ पाए, तर पुस्तकालय भने प्राथमिकतामा परेन।राणाकालीन हरिहर भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइदिने भएपछि तीनै कार्यालयलाई खुसी हुनुपर्ने हो, तर पुस्तकालयलाई भने त्यो प्राप्त भएन।

राष्ट्रिय मानव अधिकार आयोग त्रिपुरेश्वर र निजामती किताबखाना साविकको कृषि विभागमा सर्ने भएका छन्।पुस्तकालय स्थायीरूपमा काठमाडौंको जमल सार्ने भनिए पनि भवन नबनाई सर्ने कुरो भएन।

सरकारले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको करिब ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयको नाममा ल्याएपछि नक्सा निर्माण प्रक्रिया भने शुरू भइसकेको छ। पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले पुस्तकालय सार्ने विषयमा तत्काल पहल गर्नुपर्ने बताउनुभयो।

पुस्तकालयले करिब एक साताअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरी तत्काल स्थान खोज्न आग्रह गरेको छ।
करिब एक लाख ५० हजार पुस्तक संग्रहमा रहेको राष्ट्रिय पुस्तकालयलाई ती पुस्तक कहाँ राख्ने भन्ने विषय टाउको दुखाइ बनेको छ।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राधिकरणले पुस्तकालयललाई हटाउन निर्देशन दिइसकेको बताउँदै भन्नुभयो– ‘अस्थायीरूपमै भए पनि पुस्तक देखाउन मिल्ने गरी स्थान खोजी भइरहेको छ।’ उहाँका अनुसार सम्भवतः सानोठिमीस्थित शिक्षा कार्यालयहरू रहेको क्षेत्रमा व्यवस्थित गरिनेछ।

हाल महेन्द्र भवनमा ८९ हजार, शैक्षिक जनशक्ति विकास केन्द्रमा २६ हजार र हरिहर भवनस्थित नेपाल राष्ट्रिय पुस्तकालयको बाल शाखामा करिब १४ हजार पुस्तक छन्।

पुस्तकालयसंँग करिब ४ सय ऐतिहासिक पुस्तकको डिजिटलाइड् कपी छन्। उहाँका अनुसार २०७२ सालमा भूकम्पपछि पुस्तकालयले बालशाखाबाट सेवा दिँदै आएको छ।

त्यसबेलादेखि हालसम्म करिब ९ सय पुस्तक उपहारबाट प्राप्त भएका र केही खरिद गरिएको मैनालीको भनाइ छ।तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल पुस १९ गते भारतीय पुस्तकालयबाट पुस्तकहरू ल्याएर स्थापन गर्नुभएको थियो।