मै खाऊँ, मै लाऊँ भन्ने मान्यता त्याग्नुपर्छ



कल्पना त रामराज्यकै गरिन्छ। रामराज्य अपराधमुक्त थियो भनिन्छ। तर, बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मक रूपले शान्त थिएन। त्यसैले त एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिह्न लगाउ र्छ, सीताको चरित्रमा शंका गर्छ।

त्यही शंकाले सीता परित्यक्त हुन्छिन्। नारीवादी दृष्टिले रामबाट भएको सीता त्याग्ने घोषणाले रामलाई सर्वसाधारण व्यक्तिमा दर्ज गराउँछ।यो घटनासँग वर्तमान समयको साइनो छैन तर अपराधको बहुआयामिक पाटाहरू अध्ययनका लागि यो प्रतिनिधि विषय बन्न सक्छ, बन्नुपर्छ।

कास्की प्रहरीले बितेका एक वर्षमा भएका अपराधहरूको फेहरिस्त प्रस्तुत गरेको छ।तथ्यांक केलाउँदा अपराधका शैलीहरू बदलिएका छन्। अपराधहरू बढेका छन्। कर्तव्य ज्यान मुद्दाका १७, ज्यान मार्ने उद्योग १४, जबर्जस्ती करणी ५७ सँगै लागूऔषध दुव्र्यसन, चोरी, बहुविवाहलगायतका घटनाहरूले समाजमा अपराध बढ्दै गएको प्रष्ट गर्छ।

अपराध हिजो पनि हुन्थ्यो, शायद भविष्यमा पनि निर्मूल नहोला। तर, समाजमा अपराधका शैलीहरू बदलिनुलाई भने गम्भीर रूपमा लिनैपर्छ। हिजो मान्छेलाई ईश्वरको डर थियो, समाजको डर थियो अनि कानुनप्रति बढी विश्वास थियो। तर, पछिल्लो समय हाम्रा सामाजिक संरचनाहरू बदलिएका छन्।

मानिसहरू एकांकी बन्न पुगेका छन्। मै खाऊँ, मै लाऊँ भन्ने मान्यताले आफ्नो जरा झन् बलियो बनाएको छ। सानो निहुँलाई लिएर जघन्य अपराध हुन थालेका छन्। बालबालिकाहरू अपराधमा बढी संलग्न हुन थालेका छन्। बहुविवाह, सम्बन्ध विच्छेद तथा लागूऔषकको दुव्र्यसनले समाजलाई गाँजेको छ।

त्यति मात्रै नभएर आत्महत्या बढ्दो छ। कानुनले दण्डित नगरेर हैन, हाम्रा मूल्य र मान्यताहरू बदलिएर यो अवस्था आएको हो।
अपराधीलाई कानुनले दण्ड दिन्छ। दण्ड दिँदैमा मात्रै अपराध घट्ने होइन। आपराधिक मानसिकतामा कसरी वृद्धि भयो भन्ने महत्वपूर्ण कुरा हो।

आपराधिक मानसिकता बढ्नुमा समाज दोषी छ, बदलिँदो सामाजिक संरचना दोषी छ। अहिले समाजमा एक–अर्काप्रतिको निर्भरता घटेको छ। मानिस आफूले गरेको काम मात्रै राम्रो हो भन्ने मान्यतामा पुग्न थालेको छ।

दैनिक १ हजारभन्दा बढी युवाहरू विदेसिँदा र रेमिट्यान्सले देशको अर्थतन्त्र धानिँदा त्यसले नकारात्मक परिणाम पनि दिएको छ। पत्नी–पतिबीचको आत्मीयता हराएको छ। यो राम्रो संकेत हैन।

हेर्दा अपराध र सम्बन्ध विच्छेदसँग रेमिट्यान्स र बदलिँदो सामाजिक अवस्थाको कुनै साइनो नभए जस्तो लागे पनि अपराधको मनोवृत्तिलाई व्यक्ति बाँचेको परिवेशबाट अलग्याउन सकिँदैन, मिल्दैन।

उदाहरणका लागि अहिले युवाहरूमा सामाजिक सञ्जालको प्रयोग, आफ्ना अन्तरंग सम्बन्धको भिडियो रेकर्ड र सम्बन्धमा दरार आउनासाथ त्यो सम्बन्ध छताछुल्ल हुने जुन प्रवृत्ति छ, त्यो डर लाग्दो मात्रै छैन, बदलिँदो मनोवृत्तिसँग पनि जोडिएको छ।

समाज डण्डा चलाएर मात्रै सुध्रन्न। समाज सुधार्न सामाजिक मूल्य र मान्यताहरू पनि सुधार्नुपर्छ। कास्की प्रहरीले यी र यस्तै विषयलाई ध्यान दिँदै केही मनोसामाजिक गतिविधि सञ्चालनको थालनी गरेको छ। वास्तवमा यो अभियान सकारात्मक छ।

समस्याको जड के हो भन्ने बुझेपछि अपराध न्यूनीकरणमा सघाउँछ। प्रहरीले थालेको यो अभियानमा समाजको साथ चाहिएको छ। बदलिँदो समाजका विकृतिलाई रोक्न मनोसामाजिक परामर्श र परिवर्तित समाजको गहिरो अध्ययन पनि आवश्यक देखिएको छ।

अभिमन्यु, न्यौपाने, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्