जताततै हिमपात

४ फिटसम्म पर्यो हिउँ

0
Shares

पाँचथर, (नेस)।

शुक्रबार दिउँसोदेखि पाँचथरका उच्च भागमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ।पाँचथरको फालेलुङ गाउँपालिकाको तीन सिमाना चारराते भैसे फालौट बुढीथाम क्षेत्रमा भारी हिमपात भएको स्थानीयहरूले बताएका छन्।

फिदिम नगरपालिकाको भूषपाते छिन्तापु लोहकिल सुकेपोखरी पौवाभञ्ज्याङ सिलौटी क्षेत्रमा हिउँ परेपछि शनिबार पौवाभञ्ज्याङमा हिउँ खेल्नेहरू ठूलो संख्यामा जम्मा भएका थिए।

हिउँ खेल्न सदरमुकाम फिदिममा इलाम, झापालगायतका गाउँबाट आएका सवारी साधनको व्यवस्थापन गर्न निकै गाह्रो भएको पौवाभञ्ज्याङ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक बद्री दाहालले बताउनुभयो।

‘बजार क्षेत्र भएको हुनाले सवारी साधन व्यवस्थापन गर्न गाह्रो थियो। हिउँ खेल्न आउने र झापादेखि ताप्लेजुङ फिदिम तेह्रथुमलगायतका स्थानमा जाने सवारी साधन रोकिँदा सडक व्यवस्थापन गर्न निकै गाह्रो भयो।’ –उहाँले बताउनुभयो।

शुक्रबार रातीबाट हिउँ परेको थाहा पाएपछि इलाम नगरपालिका ५ बिप्लाटेबाट हिउँ खेल्न गाडी रिर्जभ गरेर आएको माया तुम्बापोले बताउनुभयो। ‘धेरै वर्षअघि पौवामा हिउँ खेल्न आएको थिएँ। यसपटक फेरि मौका मिल्यो।

हामी हिउँ खेल्नकै लागि इलामबाट आएको छौं, रमाइलो लाग्यो।’ –तुम्बापोले भन्नुभयो।हिउँ खेल्नकै लागि साढे ५ घण्टा खर्चेर पौवाभञ्ज्याङमा आइपुगेका झापा बिर्तामोडमा अरुण केसीले जीवनमा पहिलोपटक हिउँमा रमाउन पाउँदा औधी रमाइलो लागेको बताउनुभयो।

शनिबारको दिन भएको हुँदा बिदाको सदुपयोग गर्न फिदिम बजारका व्यापारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो। ‘शनिबार सरकारी तथा अन्य कार्यालयको बिदा अनि शनिबार फिदिम बजार बन्द हुने हुनाले पर्यटकीय क्षेत्र पौवाभञ्ज्याङमा कुनै महोत्सवको झझल्को आउँथ्यो।’ –स्थानीय व्यवसायी विनोद राईले भन्नुभयो।

शुक्रबार दिउँसोदेखि उत्तरी पाँचथरको चारराते सुर्केथाम क्षेत्रमा ४ फिटसम्म हिउँपरेको चौंरी गोठपालक राजेन्द्र राईले बताउनुभयो।
‘हिउँ परेकाले जाडो असाध्य बढ्यो। अब बालबालिका कसरी विद्यालय आउने? अब केही दिन विद्यालय नै बन्द गर्नुपर्ला।’ –छिरुवा आधारभूत विद्यालय फालेलुङ–६ का प्रअ प्रदीप राईले सुनाउनुभयो।
सीमभञ्ज्याङमा फुस्फुसायो हिउँ

हेटौंडा, (नेस)।

मकवानपुरको उत्तरी क्षेत्र सीमभञ्ज्याङमा हिउँ परेर रोकिएको छ। यहाँ त शुक्रबार बिहानैदेखि वर्षासँगै हिउँ फुस्फुसाएको थियो। हिउँ फुस्फुसाएसँगै स्थानीय होटल व्यवसायी र कृषक खुसी भएका थिए।

हिउँ फुस्फुसाएपछि स्थानीयले फोटो खिचे, फेसबुकमा पोस्ट्याए। भिडियो पनि अपलोड गरे। लाइक र कमेन्टको ओइरो नै लाग्यो। आफ्ना र चिनजानकालाई फोन आउन थाल्यो– ‘हिउँ परेको हो?’ उनीहरूले तत्काल ‘हो, हो’ भन्ने जवाफ पाए।

त्रिभुवन राजपथ हुँदै हिउँ परेको २/३ घण्टासम्म यात्रा गर्ने यात्रुले फुस्फुसाएको हिउँ हेर्न र छुन पनि पाए। तर, हाल सीमभञ्ज्याङमा हिउँ छैन, दामनमा परेन।
उक्त क्षेत्रमा प्रायः हरेक वर्ष हिउँ पर्ने गरेको छ। वर्षा र हिमपातले उक्त क्षेत्रमा चिसो अधिक बढेर जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। दामन तथा सीमभन्ज्याङ क्षेत्रमा हिमपात भएको स्थानीयले जानकारी दिएका हुन्।

खेल्न मिल्ने गरी सीमभन्ज्याङ, दामनमा हिउँ परे पनि हाल रोकिएको स्थानीय विनोद लामाले जानकारी दिनुभयो।हिउँ फुस्फुसाउने बित्तिकै प्रचारमा लाग्नु पर्यटकका लागि घातक भएको दामनका व्यबसायी सुरत अधिकारीले बताउनुभयो।

‘अलि राम्रो हिउँ जमेपछि पो प्रचार गर्नु राम्रो,’ अधिकारीको भनाइ छ। दामनमा जस्तै सीमभन्ज्याङमा पनि चिसो बढेको छ। यस्तै मौसम रहे हिउँ पर्ने सम्भावना रहेको स्थानीय होटल व्यबसायी च्याङ श्रेष्ठले बताउनुभयो। ‘हिउँ पर्यो’ भन्दै स्टाट्स लेखेर र केही स्थानीय स्रोतलाई उद्धृत गर्दै फेसबुकका भित्ता भरिएका छन्। फेसबुकमा लेखिएका छन्– ‘सेताम्मे, पानीसँगै हिउँ पर्यो’।

ती स्टाट्स पढेर मकवानपुरको सीमभन्ज्याङमा परेको ‘हिउँ हेर्न र खेल्न’ एकैछिनमा पुगेका पारखीलाई न स्थानीयले देखाउन सके, न त पुग्नेले हिउँको अनुभव गर्न नै पाए। सीमभञ्ज्याङको यो समस्या पुरानै हो। फुस्फुसाउन थालेपछि ‘हिउँ पर्यो’ भन्ने। तर, पुग्दा नभेटिने।

थाहानगर, चितवन र हेटौंडाबाट पुग्न धेरै टाढा पनि छैन। हिउँ खेल्न जाने पर्यटकको संख्या बढ्न थालेको छ। पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बदली रही अधिकांश भूभागमा वर्षा तथा उच्चपहाडी र हिमाली भागमा हिमपात भएको छ।
तस्वीर : गणेश साङपाङ