मौसममा क्रमिक सुधार

0
Shares

काठमाडौं, (नेस)।

पश्चिमी वायुको प्रभाव शनिबार साँझदेखि कमजोर भएपछि मौसममा क्रमिक सुधार आउने भएको छ। आज आइतबारदेखि मुलुकका अधिकांश भेगको मौसम खुला हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गत बुधबार भित्रिएको वायुको असर कमजोर भएको बताउँदै महाशाखाका मौसमविद् वरुण पौडेलले शनिबार साँझ भन्नुभयो– ‘गत साताको वायुले लगभग बिदा मागिसक्यो, आइतबार र सोमबार धेरै ठाउँको मौसम खुला हुनेछ।’

उच्च पहाडी र हिमाली भेगको मौसम आंशिक प्रभावित हुने भए पनि अन्यत्रको मौसम सुधार हुने उहाँले बताउनुभयो।शनिबार मध्यपश्चिम र सुदूरपश्चिमको तुलनामा काठमाडौं उपत्यकासहित मध्य र मुलुकको पूर्वीभेगको मौसम प्रभावित बनेको थियो।

मौसम सुधार भए पनि वर्षा र हिमपातको असरले तापक्रम घट्ने भएकाले बिहान बेलुका अधिकांश भेगमा चिसो भने यथावत् रहने पौडेलले प्रस्ट्याउनुभयो।