बेच्न ल्याइएका धान वर्षाले कुहिने सम्भावना


सुभेन्द्र दास, लहान ।

लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खरीद विक्रीका लागि किसानले ल्याएको धान वर्षाबाट जोगाउन कम्पनिले उचित व्यवस्थापन नगर्दा कुहिने सम्भावना बढ्दै गएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले किसानबाट सोझै धान खरीदगर्ने प्रक्रिया जारी गरेलगत्तै लहानस्थित कम्पनिको सगरमाथा अञ्चल कार्यालयमा किसानले टाढा टाढाबाट धान गोरुगाडा तथा ट्रयाक्टरबाट ल्याएका छन् तर कार्यालय परिसरमा ल्याइएका धानको खरीद प्रक्रिया झञ्झटिलो भएपछि किसानलाई मर्का परिरहेको छ ।
‘यहाँबाट २० किलोमिटर पश्चिम दक्षिण कुनाको कजरा जिझौल गाउँबाट प्रतिदिन तीनहजारको दरले ट्रयाक्टरभरी १३६ बोरा धान ढुवानी गरेर विहीवारको दिन कम्पनिको कार्यालयमा ल्याएको थिए’, बरियारपट्टी—५ स्थित जिझौलका राजेश्वर यादवले भन्नुभयो, तर कम्पनिले ल्याउने बित्तिकै धान खरीद नगरेको कारण आइतबारसम्म धान बाहिरै राख्नुपर्ने बाध्यताले धान भिजेर कुहिने सम्भावना बढेको छ ।
राजेश्वरको जस्तै समस्याले बरियारपट्टी—५ स्थित हरिपुरका किसान प्रेमकुमार यादवलाई पनि पिरोलेको छ । उहाँले पनि बिहीबार नै ट्रयाक्टरबाटै ढुवानी गरी ल्याउनुभएको ५९ वटा ठूलो तथा १८ वटा सानो बोरा धानलाई दुई दिनको वर्षाले भिजाउने डर छ । वर्षाबाट जोगाउन कम्पनीकै परिसरमा खुला आकाशमुनि रहेका ट्रयाक्टरका ट्रलीमाथि बाक्लो प्लाष्टिकले छोप्ने प्रयास त गरिएको छ तर त्यसले लगातारको वर्षाको पानीबाट जोगाउँछ वाजोगाउँदैन भन्ने प्रश्न उहाँहरुको लागि पिरलो बनेको छ । शनिवार पनि कम्पनिको परिसरमा दुई दर्जनभन्दा बढी ट्रयाक्टरहरु धान तौलने पालो कुरेर पर्खेर बसेका छन् ।
‘हामीले ल्याएका धान वर्षाको पानीले भिज्न सक्छ, तौलको पर्खाई नसकुञ्जेल शुक्रबार र शनिवारको लागि कम्पनिको गोदामकै कुनै भाग उपलब्ध गराइ दिनुस् भन्यौ तर कम्पनिका हाकिमले सुन्नुभएन’, प्रेमकुमारले भन्नुभयो—एक त विहीवार नै ल्याइएको धान पालो नआएकोले आइतबारसम्म पर्खिनुपर्ने र त्यसबेलासम्म दैनिक तीनहजारको दरले ट्रयाक्टरको भाडा १२ हजारसम्म भुक्तान गर्नुपर्ने अवस्था छ, अर्को्तिर ल्याएको धानको उचित व्यवस्थापन नगरि दिंदा वर्षाको पानीले भिजेर कुहिने सम्भावना बढेर गएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले यसपालि बजार भाउभन्दा दुई हजार चार सय रुपियाँप्रति क्विन्टल बढी मूल्य दिएर किसानबाट सोझै धान खरीदगर्न थालेपछि सिरहा र सप्तरीका किसानहरुले सोझै आफ्नो धान विक्रीगर्न लहान स्थित कम्पनिको अञ्चल कार्यालयमा ल्याउने गरेका छन् । यही कारण किसानहरुले ल्याएको धानको मात्रा बढेपछि किसानले धानविक्री गर्न दुई÷तिनदिनको पालो कुर्नुपरेको छ ।
कम्पनिले यसपालि सोना धानको खरीदमूल्यप्रति क्विन्टल दुई हजार ६७३ रुपियाँ १६ पैसा तथा जिरा धानको प्रति क्विन्टल तीनहजार २२५ रुपियाँ निर्धारण गरेको छ । ४० हजार क्विन्टल धान खरीदगर्ने लक्ष्य पाएको लहानस्थित कम्पनिको कार्यालयले अहिलेसम्म पाँचहजार क्विन्टल धान खरीद गरिसकेको छ ।
किसानलाई भएको मार्काप्रति हामीलाई पनि दुख लागेको छ तर विना तौल र माथिको स्वीकृति रुले ल्याएको धान त्यतिकै राख्ने हामीसँग अधिकार छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड लहानका प्रमुख गङ्गाप्रसाद साहले भन्नुभयो—हामीसँग टुलुटुलु हेर्नुबाहेक अन्य विकल्प छैन ।